टी-२० विश्वकप
अन्तर्राष्ट्रिय क्रिकेटका दुई ‘अभागी’ टिम दक्षिण अफ्रिका र न्युजिल्यान्डबीच बुधबार सेमिफाइनलको भिडन्त
दक्षिण अफ्रिकाले टी-२० विश्वकपको सेमिफाइनलसम्मको यात्रामा कुनै गल्ती गरेको छैन। तर, इडेन गार्डेन्समा बुधबार न्युजिल्यान्डविरुद्ध अन्तिम चारको भिडन्तमा यस टोलीलाई अति आत्मविश्वास महँगो पर्न सक्छ। पहिलेदेखि न्युजिल्यान्ड ठूला टोलीलाई चुनौती दिने क्षमताका कारण परिचित छ।
सन् २०२४ को विश्वकपमा फाइनल पुगेर भारतसँग सात रनले पराजित अफ्रिका अन्तर्राष्ट्रिय क्रिकेटमा अभागी टिमका रूपमा परिचित छ। तर, यसपालि एडेन मार्करमको कप्तानीमा रहेको यो टोली धेरै सन्तुलित देखिन्छ। उसले समूह चरणको खेलमा किवी टोलीलाई पराजित गरिसकेको छ। त्यसैले यसपालि पनि साबिक विजेता भारतसँगै फाइनलका लागि दाबेदार टोलीका रूपमा उसलाई हेरिएको छ।
यही बिहीबार अर्को सेमिफाइनलमा भारत पनि इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ। दक्षिण अफ्रिकाका मुख्य प्रशिक्षक सुक्री कोनराडले आफूहरूलाई दाबेदार टोलीका रूपमा हेरिनु सकारात्मक भएको बताएका छन्।

न्युजिल्यान्डका खेलाडी फिन एलन र मिचेल स्यान्टेनर। तस्बिर : आईसीसी
“प्रतियोगितामा हामी अपराजित एक मात्र टोली भएका कारण पनि दाबेदारका रूपमा प्रस्तुत गरिएको होला। दाबेदार भएर खेल्न सक्नु राम्रो कुरा हो,” उनी भन्छन्।
सुपर ८ को अन्तिम खेलमा जिम्बाबेलाई पाँच विकेटले हराउँदै दक्षिण अफ्रिका प्रतियोगितामा एक मात्र अपराजित टोली बन्यो। सधैँ अभागी भनेर चिनिने दक्षिण अफ्रिकाले यस संस्करणमा अफगानिस्तानसँग दुई सुपर ओभर खेलेर जित निकालेको थियो।
दक्षिण अफ्रिकाको टी-२० विश्वकप यात्रा उतारचढावले भरिएको छ। प्रतिभाले सम्पन्न यो टोली उपाधिबाट सधैँ वञ्चित रहँदै आएको छ।
अफ्रिकासँग अर्को भिडन्तको तयारी गरिरहेको न्युजिल्यान्ड भने पाकिस्तानभन्दा राम्रो नेट रन-रेटका कारण सेमिफाइनल प्रवेश गरेको हो। बुधबार हुने पहिलो सेमिफाइनलमा किवी टोलीलाई ‘अन्डरडग’ मानिएको छ।
“सधैँ दबाब हुन्छ। तर, मुख्य कुरा भनेको दबाबलाई स्वीकार गर्नु हो। हामीले केही फरक ढंगले तयारी गरेका छौँ। न्युजिल्यान्डको सामना गर्दा पनि तयारी उस्तै गर्नेछौँ। तर, अन्डरडग हुँदा अपेक्षा कम हुन्छ,” उनी भन्छन्।
पहिलो उपाधिको पर्खाइमा अफ्रिका
दक्षिण अफ्रिकाको टी-२० विश्वकप यात्रा उतारचढावले भरिएको छ। प्रतिभाले सम्पन्न यो टोली उपाधिबाट सधैँ वञ्चित रहँदै आएको छ।
सन् २००७ बाट सुरु भएको टी-२० विश्वकपमा दक्षिण अफ्रिका आयोजक थियो भने जितको अपेक्षा पनि उत्तिकै उच्च। त्यतिबेला समूह चरणमा वेस्ट इन्डिजलाई आठ र बाङ्लादेशलाई सात विकेटले पराजित गर्दै सानदार लयसहित दक्षिण अफ्रिका सुपर ८ मा प्रवेश गरेको थियो। तर, सुपर ८ मा इङ्ल्यान्डलाई १९ रन र न्युजिल्यान्डलाई ६ विकेटले पराजित गरेको अफ्रिका अन्तिममा भारतसँग ३७ रनले पराजित भयो। त्यस खेलपछि टी-२० मा अफ्रिकाको विषयमा एउटा कथन स्थापित भयो– ठूला प्रतियोगितामा उत्कृष्ट खेल्ने तर निर्णायक क्षणमा चिप्लिने। उसले ‘चोकर’ को संज्ञा पायो।

इङ्ल्यान्डलाई हराएपछि दक्षिण अफ्रिकी टोली। तस्बिर : आईसीसी
अफ्रिका टी-२० ढाँचामा दुईपल्ट सेमिफाइनल र दुईपल्ट सुपर ८ बाट बाहिरिएको छ। दुई वर्षअघि वेस्ट इन्डिज र अमेरिकाले संयुक्त आयोजना गरेको विश्वकपमा यस टोलीले ‘चोकर’ को दाग हटाउन फाइनलसम्मको यात्रा तय गर्यो।
नेपालजस्तो एसोसिएट राष्ट्रसँग समूह चरणमा मुस्किलले एक रनले जितेको दक्षिण अफ्रिकाले सुपर ८ मा स्थान बनाउन इङ्ल्यान्डलाई सात रनले पराजित गरेको थियो। उसले सेमिफाइनलमा अफगानिस्तानलाई नौ विकेटले पराजित गरेको थियो भने भारतसँग उपाधिको निर्णायक खेलमा सात रनले पराजित भयो।

न्युजिल्यान्डका ग्लेन फिलिप्स। तस्बिर : आईसीसी
मुख्य प्रशिक्षक कोनराड भारतसँग क्यारेबियन आइल्यान्ड बार्बाडोसमा फाइनल हार्दा प्राप्त अनुभव अमूल्य रहेको बताउँछन्। “पछिल्लो विश्वकपको अनुभव हाम्रा लागि महत्त्वपूर्ण बन्नेछ। लगातार सेमिफाइनल र फाइनलको यात्राले अन्ततः उपाधि जित्ने अवसर प्राप्त हुनेछ,” उनी भन्छन्।
दक्षिण अफ्रिकाको पहिलो मुख्य उपाधि विश्व टेस्ट च्याम्पियनसिप हो। सन् २०२५ को जुनमा उसले फाइनलमा अस्ट्रेलियालाई हराउँदै आईसीसीको पहिलो प्रमुख उपाधि जितेको थियो। तर, सेतो बलको विश्वकप उपाधि भने अफ्रिकाले अझैसम्म जितेको छैन।
स्थिर टोली न्युजिल्यान्ड
टी-२० विश्वकपमा न्युजिल्यान्ड सधैँ स्थिर र प्रतिस्पर्धी टोली मानिन्छ। २००७ देखि सुरु भएको विश्वकपयता उसले कुनै संस्करण खेल्न गुमाएको छैन। तर, उपाधि सधैँ हातबाहिर रहँदै आएको छ। न्युजिल्यान्डले सन् २००७, २०१६ र २०२२ मा सेमिफाइनल र सन् २०२१ मा फाइनलसम्मको यात्रा तय गरेको थियो।

वेस्ट इन्डिजविरुद्धको खेलमा दक्षिण अफ्रिकी टोली। तस्बिर : आईसीसी
गत विश्वकपमा सेमिफाइनलको यात्रा तय गर्दा ‘ब्ल्याक क्याप्स’ को खेलमा स्थिरता प्रस्ट देखिन्थ्यो। न्युजिल्यान्डले टी-२० विश्वकपमा हालसम्म ४७ खेल खेलेको छ। त्यसमध्ये २५ जित र १९ हार बेहोरेको छ। दुई खेल टाई भएका छन्।
प्रदर्शनको हिसाबले न्युजिल्यान्डको प्रदर्शन प्रत्येक संस्करणमा राम्रो देखिएको छ। प्रतिभावान् खेलाडी, योजनाबद्ध क्रिकेट खेल्न सक्ने खुबी न्युजिल्यान्डको बलियो पक्ष हो।
जारी विश्वकपमा न्युजिल्यान्डको यही छवि उजागर भएको छ। समूह चरणमा यूएईविरुद्ध १० विकेटको जितले न्युजिल्यान्डको आक्रामकता र आत्मविश्वास दुवै झल्काएको थियो।
खेलमा १७४ रनको लक्ष्य सहजै पछ्याउँदै ऐतिहासिक ओपनिङ साझेदारी गर्नु ‘ब्ल्याक क्याप्स’ को तयारीको बयान गर्छ। सुपर ८ मा श्रीलंकाविरुद्ध ६१ रनको जितले न्युजिल्यान्डलाई नकआउट चरणतर्फ मजबुत बनाएको थियो। समूह चरणमा उसले दक्षिण अफ्रिका र सुपर ८ मा इङ्ल्यान्डसँग हार बेहोरिसकेको छ। यस अवस्थामा अफ्रिकासँगको अर्को भिडन्त झन् रोचक बन्ने पक्का छ।