काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

प्रतिनिधिसभा निर्वाचन

खाडी मुलुक र ती देशका विमानस्थललाई ट्रान्जिट बनाएर आउन लागेका नेपालीहरूको यात्रा प्रभावित

२० फाल्गुन २०८२
कतारको दोहा हमाद विमानस्थलमा अलपत्र यात्रु। तस्बिर : गेट्टी इमेजेज्
अ+
अ-

जर्मनीमा बस्दै आएका व्यवसायी एवं गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछाने प्रतिनिधिसभा निर्वाचनमा मतदानकै लागि नेपाल आउँदै छन्। उनी खाडी मुलुकको विमानस्थललाई ट्रान्जिट बनाएर नेपाल आउन लागेका थिए। तर, त्यहाँका विमानस्थल बन्द भएका कारण उनको रुट फेरियो। उनी फ्र्यांकफर्टबाट चीनको छेन्दु हुँदै काठमाडौँ आउँदै छन्।

रुट फेरिएको जानकारी दिँदै उनले फेसबुकमा लेखेका छन्, ‘मार्ग बदलियो। यात्रा केही लामो भयो, तर मेरो मताधिकार छुट्नेछैन। दूरी र अवरोधले नागरिकको आवाजलाई मौन बनाउन सक्दैन। मत हाल्न घरतर्फ जाँदै छु, किनकि प्रत्येक मत महत्त्वपूर्ण हुन्छ।’

लामिछानेजस्तै मतदानकै लागि विदेशबाट नेपाल आउन लागेको कतिपय नेपालीहरू युद्धपछि खाडी मुलुकहरूमा सिर्जित तनावका कारण उतै रोकिएका छन्।

अमेरिका र इजरायलले संयुक्त रूपमा १६ फागुनमा गरेको सैन्य आक्रमणको प्रतिवाद गर्दै इरानले मध्यपूर्व अर्थात् खाडी क्षेत्रका देशमा रहेका अमेरिकी र अन्य देशका सैन्य एयरबेसमा ड्रोन र मिसाइल आक्रमण गरेको थियो। त्यसयता खाडी क्षेत्रका देशहरूले हवाई सेवा बन्द गरेका थिए।

खाडी मुलुकका विमानस्थल बन्द हुँदा कतार, संयुक्त अरब इमिरेट्स (यूएई), बहराइन, साउदी अरब, ओमानलगायत देशबाट मतदानकै लागि नेपाल आउन लागेकाहरू रोकिनुपरेको छ।

खाडी मुलुकका विमानस्थल बन्द हुँदा कतार, संयुक्त अरब इमिरेट्स (यूएई), बहराइन, साउदी अरब, ओमानलगायत देशबाट मतदानकै लागि नेपाल आउन लागेकाहरू रोकिनुपरेको छ। त्यति मात्रै होइन, कतार, यूएईलगायत देशका विमानस्थललाई ट्रान्जिट बनाएर युरोप, अमेरिका, क्यानडालगायत देशबाट काठमाडौँ आउन लागेका यात्रुहरू पनि प्रभावित छन्।

खाडी मुलुकहरूमा विश्वकै सबैभन्दा व्यस्तमध्येका विमानस्थलहरू छन्। युरोप, एसिया र अफ्रिकालाई जोड्ने विश्वव्यापी हवाई ट्रान्जिट हबका रूपमा खाडी मुलुकहरू विकसित भइरहेका छन्। यूएईको मुख्य सहरको दुबई अन्तर्राष्ट्रिय विमानस्थल, राजधानी अबुधाबीको जायद अन्तर्राष्ट्रिय विमानस्थल र कतारको राजधानी दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थल ट्रान्जिटका हिसाबले सबैभन्दा व्यस्त विमानस्थलमध्ये पर्छन्। युरोप, अमेरिका, बेलायतलगायत देशमा रहेका नेपालीहरू पनि दुबई, अबुधाबी, हमादजस्ता विमानस्थलहरूलाई ट्रान्जिट बनाएर यात्रा गर्छन्।

यूएईमा इरानको आक्रमणपछि १७ फागुनमा बन्द गरिएको दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड जहाज। तस्बिर: एसोसिएटेड प्रेस

लामो दूरीको हवाई यात्रा गर्ने यात्रुलाई खाडी मुलुकका विमानस्थललाई ट्रान्जिट बनाउँदा लागत सस्तो पर्छ। सोही कारण पनि खाडी मुलुकका विमानस्थलहरूमा यात्रुको चाप बढी हुन्छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तथ्यांकअनुसार पुस महिनाभर ८७ हजार ८५२ जना यात्रु आएका थिए। उक्त तथ्यांकअनुसार दैनिक औसतमा दुई हजार ९२८ जना यात्रु त्रिभुवन विमानस्थल हुँदै भित्रिने गरेका छन्।

निर्वाचनको सम्मुखमा यिनै विमान कम्पनीको सेवा लिएर काठमाडौँ आउने तयारीमा रहेका यात्रुहरू ती देशका विमानस्थल बन्द हुँदा रोकिएका छन्। कति यात्रु रोकिए भन्ने यकिन तथ्यांक नभएको विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेत बताउँछन्।

यसपालिको प्रतिनिधिसभा निर्वाचन विशेष परिस्थितिमा हुन लागेका कारण देशभित्रका मतदातासँगै विदेशमा रहेका नेपालीहरूमा निकै उत्साह छ। कतिपय पहिलो पटक मतदान गर्न लागेका युवाहरू पनि छन्। यसैले यो चुनावमा विदेशबाट मतदानकै लागि खाडी क्षेत्रसहितका मुलुकहरूबाट आउने नेपालीहरू धेरै हुने अनुमान गरिएको थियो। तर, युद्ध र यसको सन्त्रासका कारण खाडी मुलुकहरूका विमानस्थलमा अवरोध हुँदा नेपालीहरूको आगमन प्रभावित भएको छ।

खाडी मुलुकका विमानस्थल बन्द हुँदा २५० जनाजति नेपालीहरू ट्रान्जिटमा रोकिएको परराष्ट्र मन्त्रालयका सहसचिव रामजी खड्का बताउँछन्। यो संख्या हजारसम्म पुग्ने अनुमान गरिएको उनको भनाइ छ।

नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दक्षिण एसियाका आठ, खाडी क्षेत्रका सात, दक्षिण-पूर्वी एसियाका चार, पूर्वी एसियाका आठ र युरोपको एउटा गन्तव्यमा उडान हुँदै आएको छ। कतार एयरवेजले दोहा-काठमाडौँ-दोहा रुटमा दैनिक चार वटा उडान गर्दै आएको छ। एयर अरेबियाले सारजाह-काठमाडौँ-सारजाह, एयर अरेबिया अबुधाबीले अबुधाबी-काठमाडौँ-अबुधाबी र फ्लाई दुबईले दुबई-काठमाडौँ-दुबईमा उडान गरिरहेका छन्।

एयर अरेबिया अबुधाबीले हप्ताको सातै दिन दैनिक दुई वटा जहाज अबुधाबी-काठमाडौँ-अबुधाबीमा उडाइरहेको छ। एयर अरेबियाले पनि दुई वटा जहाजबाट हप्तामा सात वटा उडान सारजाह-काठमाडौँ-सारजाह रुटमा उडान गरिरहेको छ।

फ्लाइटराडार २४ का अनुसार २८ फेब्रुअरीदेखि ३ मार्चसम्म मध्यपूर्वका प्रमुख विमानस्थलहरूमा २१ हजारभन्दा बढी उडान रद्द भएका छन्।

निर्वाचनको सम्मुखमा यिनै विमान कम्पनीको सेवा लिएर काठमाडौँ आउने तयारीमा रहेका यात्रुहरू ती देशका विमानस्थल बन्द हुँदा रोकिएका छन्। कति यात्रु रोकिए भन्ने यकिन तथ्यांक नभएको विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेत बताउँछन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले बुधबार (२० फागुन)का लागि जम्मा ५९ वटा उडान तालिका सार्वजनिक गरेको छ। विमानस्थलका अनुसार काठमाडौँबाट हुने उडान ३० र अवतरण २९ वटाको मात्रै तालिका सार्वजनिक गरिएको छ। सामान्य अवस्थामा यस्तो उडान कम्तीमा ८० वटा हुने गरेको विमानस्थलका प्रवक्ता बस्नेत बताउँछन्। विमानस्थल कार्यालयका अनुसार शनिबारदेखि बढेको मध्यपूर्वको तनावका कारण दैनिक औसतमा ३० वटा उडान रद्द भइरहेका छन्।

फ्लाइटराडार २४ का अनुसार २८ फेब्रुअरीदेखि ३ मार्चसम्म मध्यपूर्वका प्रमुख विमानस्थलहरूमा २१ हजारभन्दा बढी उडान रद्द भएका छन्। इरान युद्धका कारण खाडी क्षेत्रमा सिर्जित तनावले यूएईका दुबई र अल मक्तुम अन्तर्राष्ट्रिय विमानस्थल सबैभन्दा बढी प्रभावित छन्। दुबई विमानस्थलले १९ फागुनबाट सीमित उडान सुरु गरेको छ। इरानको आक्रमणबाट यूएई, कुवेत, बहराइन र इराकका पाँच वटा विमानस्थल प्रत्यक्ष प्रभावित छन्।

खाडी क्षेत्रमा रहेका देशका एयरलाइन्सहरू इमिरेट्स, इतिहाद एयरवेज, फ्लाइदुबई, कतार एयरवेज, गल्फ एयर, साउदिया, कुवेत एयरवेज र जजिरा एयरवेजले आफ्ना सबैजसो उडान रद्द गरेका छन्। ब्रिटिस म्यागेजिन सीएन ट्राभलरले उल्लेख गरेअनुसार खाडी मुलुकमा मात्रै दैनिक करिब नौ लाख सिट क्षमताका उडान सञ्चालन हुने गरेका छन्।