काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

प्रतिनिधिसभा निर्वाचन

न उम्मेदवार अनुशासित, न प्रभावकारी अनुगमन

२० फाल्गुन २०८२
भोजपुरको दिङ्ला बजारमा सुरक्षाकर्मी र स्थानीय। स्रोत : मिसन खबर मिडियाको फेसबुक पेज
अ+
अ-

‘म मधेस जाँदै छु, किनभने म देश जोड्न चाहन्छु, मधेसबाट होलीको शुभकामना!’ निर्वाचनको अघिल्लो दिन आज बुधबार दिउँसो अञ्जना केसी थापाले आफ्नो फेसबुकमा पति गगन थापासँग होली मनाउँदै गरेको तस्बिर पोस्ट गर्दै लेखिन्। नेपाली कांग्रेसका सभापति गगन सर्लाही ४ मा उम्मेदवार छन्।

बुधबार नै फेसबुकमा मनबहादुर कुलुङले ‘देश र आफ्नो भविष्यका लागि हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई चुनावचिह्न माटोमा भोट दिऔँ,’ लेखेका छन्।

आज दिउँसो भोजपुरको उत्तरी दिङ्ला बजारमा पैसा बाँडेर मतदाता प्रभावित पार्ने प्रयास भएको भन्दै स्थानीयले विरोध गरेका थिए। दावा शेर्पाको फेसबुक आइडीबाट सेयर भएको लाइभ भिडिओमा स्थानीयले एमालेको निर्वाचन परिचालन कमिटीको कार्यालय घेराउ गरेर विरोध जनाएको देखिन्छ।

मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्दै भोजपुरको दिङ्लाबजारस्थित नेकपा (एमाले)को निर्वाचन परिचालन कमिटी सम्पर्क कार्यालय घेराउ गर्दै स्थानीय। स्रोत : मिसन खबर मिडियाको फेसबुक पेज

बुधबार नै साँझ हरि भण्डारी नामको फेसबुक आईडीबाट नेकपाका संयोजक एवम् रुकुम पूर्वका उम्मेदवार पुष्पकमल दाहालको तस्बिर पोस्ट गर्दै अग्रिम शुभकामना दिएका छन्।

यी त निर्वाचन आयोगद्वारा घोषित ‘मौन अवधि’ उल्लंघनका प्रतिनिधि घटना मात्र हुन्।

सामान्यतया मतदान हुने दिनको अघिल्लो ४८ घण्टा मौन अवधि तोकिन्छ। निर्वाचन आयोगले मौन अवधिभर कसैको पक्ष वा विपक्षमा निर्वाचन प्रचारप्रसारका लागि छलफल, अन्तरक्रिया, सभा-सम्मेलन, कार्यशाला गोष्ठी नगर्न तथा कुनै विधि र प्रक्रिया/माध्यमबाट भोट नमाग्न भनेर सूचना जारी गरेको थियो।

आयोगले मौन अवधि सुरु हुनुभन्दा पहिले राजनीतिक दल तथा उम्मेदवार, दलका भ्रातृसंगठनले सामाजिक सञ्जालमार्फत गरेका विज्ञापन तथा निर्वाचन प्रचारप्रसार सामग्री हटाउन भने पनि कसैले हटाएका छैनन्।

यस अवधिमा एआईको प्रयोग गरी, एसएमएस, सामाजिक सञ्जाल वा कुनै पनि तरिकाबाट भोट माग्न वा प्रचारप्रसारका सामग्री पोस्ट वा सेयर गर्न/गराउन पाइँदैन। मतदानस्थलको ३०० मिटर वरपर राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसार सामग्रीसमेत हटाउनुपर्छ। तर, यसको पालना कतैबाट भएको छैन। खासमा सामाजिक सञ्जालमार्फत मौन अवधि उल्लंघनका घटना छ्यापछ्याप्ती छन्।

आयोगले मौन अवधि सुरु हुनुभन्दा पहिले राजनीतिक दल तथा उम्मेदवार, दलका भ्रातृसंगठनले सामाजिक सञ्जालमार्फत गरेका विज्ञापन तथा निर्वाचन प्रचारप्रसार सामग्री हटाउन भने पनि कसैले हटाएका छैनन्। बरु उल्टै उम्मेदवारका परिवारका सदस्य, आफन्त, नातेदार र शुभचिन्तकले सामाजिक सञ्जालमा सामग्री पोस्ट गरेर प्रचारप्रसार गरिरहेका छन्।

निर्वाचन पर्यवेक्षक शेखर पराजुली यस पटकको निर्वाचनमा मौन अवधि उल्लंघनको स्वरूप फेरिएको बताउँछन्। “पहिले पैसा बाँड्ने, भोजभतेर गर्ने व्यापक देखिन्थ्यो, यसपालि छिटपुटबाहेक त्यस्ता गतिविधि खासै देखिएको छैन,” उनी भन्छन्, “बरु सामाजिक सञ्जालमार्फत उल्लंघनको बाढी देखिएको छ।” सामाजिक सञ्जाल नियमन गर्ने सरकारी संयन्त्र पर्याप्त नभएकै कारण पनि यसखाले मौन अवधि पालना हुन नसकेको उनको ठम्याइ छ।

निर्वाचन आयोगले पनि मौन अवधि पूर्ण रूपमा पालना गराउन नसकेको स्विकारेको छ। “मौन अवधि पालनाको अनुगमनमा हामी अहोरात्र खटिरहेका छौँ, निर्वाचन आचारसंहिता पालनाका लागि आवश्यक नियमन गर्छौं,” बुधबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले भनेका छन्। टिकटक र मेटासँग सहकार्य गरेर सामाजिक सञ्जालमा आचारसंहिता पालना भए/नभएको अनुगमन भइरहेको आयोगले जनाएको छ।

प्रहरीले पनि केही उल्लंघनकर्तालाई सोधपुछ र नियमन थालेको छ। मौन अवधिमा विभिन्न उम्मेदवारको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा बुधबार प्रहरीले टिकटकर रतन कार्कीलाई सोधपुध गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रवीन्द्र खनालका अनुसार कार्कीलाई सामाजिक सञ्जालबाट उम्मेदवारका तस्बिरहरू हटाउन लगाएर छोडिएको थियो।