बुटवल। रुपन्देही -३ मा स्वतन्त्र उम्मेदवारी दिएका महेन्द्र यादव बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक कृष्ण कुमार चन्दले सिद्धार्थनगर नगर पालिका वडा नम्बर ७ बस्ने ४८ वर्षिय यादव पक्राउ परेको बताए।
बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका यादवलाई बिहीबार सिद्धार्थनगर–६ स्थित गल्लामण्डीबाट प्रहरी टोलीले नियन्त्रणमा लिएको चन्दले बताए।
चितवन जिल्ला अदालतले २०८१ फागुन २५ गते यादवलाई बैंकिङ कसुर मुद्दामा दोषी ठहर गरेको थियो। अदालतले निजलाई ३० लाख रुपैयाँ साँवा र सोही बमोजिमको जरिवाना तिर्नुपर्ने फैसला सुनाएको थियो।
अदालतको फैसलापछि विगो, जरिवाना र कैद भुक्तान नगरी फरार रहेका यादवलाई उपस्थित गराउन चितवन जिल्ला अदालतले आदेश दिएको थियो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दका अनुसार पक्राउ परेका यादवलाई आवश्यक कारबाही र फैसला कार्यान्वयनका लागि सम्बन्धित अदालतमा उपस्थित गराउन पठाइएको छ।
यादव रुपन्देही-३ बाट आँप चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका थिए।