झापा । झापामा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कुल ६४.२४ प्रतिशत मतदान भएको जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार जिल्लाभरबाट ४ लाख ५८ हजार ३६२ मत खसेको छ।
जसमध्ये २ लाख ४२ हजार ५७५ महिला र २ लाख १५ हजार ७८५ पुरुष मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन्। झापामा कुल ७ लाख १३ हजार ५३७ मतदाता रहेका थिए।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार क्षेत्र नम्बर १ मा ६३.९५ प्रतिशत, क्षेत्र नम्बर २ मा ६५.२५ प्रतिशत, क्षेत्र नम्बर ३ मा ६२.७९ प्रतिशत, क्षेत्र नम्बर ४ मा ६३.८५ प्रतिशत र क्षेत्र नम्बर ५ मा ६५.११ प्रतिशत मतदान भएको छ।
हाल जिल्लाभरका मतदान केन्द्रबाट मतपेटिका संकलन गर्ने काम भइरहेको छ। सबै मतपेटिका संकलन भएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने विषयमा निर्णय गरिने निर्वाचन कार्यालयले जनाएको छ।