काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

चुनाव पर्यवेक्षण

२१ फाल्गुन २०८२
निर्वाचन पर्यवेक्षणमा खटिएका जियोकका पर्यवेक्षक।
अ+
अ-

काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचन छिटपुट घटनाबाहेक शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको छ।

केही ठाउँबाहेक मतदान प्रक्रियालाई बिथोल्ने घटना नभएको र मतदान केन्द्रमा दलहरूबीच विवाद पनि नदेखिएको आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले जनाएको छ। निर्वाचनको काममा खटिएका कर्मचारी र दलका प्रतिनिधिबीच सौहाद्रपूर्ण व्यवहार देखिएको जियोकले जनाएको छ।

यसरी निर्वाचन व्यवस्थापन र मतदान प्रक्रियामा सुधार हुँदै जानु लोकतन्त्रका निम्ति शुभ संकेतका रूपमा लिन सकिने जियोकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

जियोकले ३६ जिल्लाका २५० पालिकामा खटाएका चार सय पर्यवेक्षकले संकलन गरेको प्रारम्भिक प्रतिवेदनका अनुसार मतदानमा अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायत सबै वर्ग, समुदाय, लिंग र अवस्थाका मतदाताको उत्साहजनक सहभागिता छ। विगतको तुलनामा दल, उम्मेदवार र मतदाताको व्यवहार संयमित, सहयोगात्मक र शान्त देखिएको विज्ञप्तिमा उल्लेख छ।

यो पनि…

ती आठ आमचुनाव

जियोकका अनुसार देशभरिका अधिकांश मतदान केन्द्र बिहान ७ बजे खुलेका थिए। केहीमा ७.१५ देखि ७.४५ भित्र मतदान सुरु भए। कर्मचारी र राजनीतिक दलका प्रतिनिधि तोकिएको समयमा मतदान केन्द्रमा नपुगेकाले केही स्थानमा सामान्य विवादसमेत भएको थियो।

यसपालि मतपत्रमा उम्मेदवार भएको चुनाव चिह्न मात्रै समावेश भएकाले विगतमा भन्दा मतबदर कम हुने पनि जियोकको अनुमान छ।