प्रतिनिधिसभा निर्वाचन
झापा। २१ फागुन, बिहीबार दिउँसोको चर्को घाम। झापा क्षेत्र नम्बर ५ अन्तर्गत दमक नगरपालिका-६ स्थित सडक डिभिजन कार्यालयको मतदानस्थलको एउटा दृश्यले सबैको ध्यान खिचिरहेको थियो। ५० वर्षीय मोविन थेबे ७८ वर्षीया अशक्त आमा मोहनकुमारी थेबेलाई ह्विलचेयरमा राखेर मतदान गराइरहेका थिए।
शारीरिक रूपमा हिँडडुल गर्न नसक्ने भए पनि मोहनकुमारीको तीव्र इच्छा थियो– आफ्नै हातले मत खसाल्ने। छोराले आमाको इच्छा पूरा गरिदिए।
“आमा हिँडडुल गर्न सक्नुहुन्न, तर उहाँको चाहनाअनुसार नै यहाँसम्म ल्याएको हुँ,” मोविनले भने, “देशमा जेन-जी आन्दोलनपछि समयअघि नै निर्वाचन भएको छ। अब त भ्रष्टाचार अन्त्य भएर सुशासन कायम होला कि भन्ने आशा छ।’’
झापा ५ यतिबेला देशकै राजनीतिक ‘इपिसेन्टर’ बनेको छ। एकातिर नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तीन दशक लामो बिरासत छ भने अर्कातिर युवाका आदर्श मानिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाहको ‘क्रेज’। यी दुई शक्तिबीचको प्रतिस्पर्धाले यस क्षेत्रलाई प्रतिष्ठाको लडाइँ बनाएको छ। तर, मतदान केन्द्रमा भेटिने सर्वसाधारण मतदाताका लागि भने हार-जितभन्दा पनि आफ्ना आधारभूत आवश्यकता र देशको भविष्य महत्त्वपूर्ण देखिएको छ।

गौरीगन्जका मतदाता।
दमक-६ का निर्मल तिवारी पनि मतदान केन्द्रबाहिर भेटिए। उनले पनि सुशासनकै मुद्दा दोहोर्याए। उता, गौरीगन्ज-६ की ६६ वर्षीया झुमादेवी यादव खजुरगाछी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट भोट हालेर निस्किँदा अलि हतारिएकी थिइन्। “एक भोटले देशको सरकार छान्न कति ठूलो भूमिका खेल्छ भन्ने थाहा पाएपछि अलि नर्भस थिएँ,’’ उनले भनिन्। जेन-जी आन्दोलनको प्रभावमा रहेकी झुमादेवीले भ्रष्टाचार नियन्त्रण र कूटनीतिमा सरकार गम्भीर हुनुपर्ने सुझाव दिइन्।
उनीसँगै रहेकी ३२ वर्षीया सुनीतादेवी यादवको मनमा भने अस्ति भर्खरै भएको प्रदर्शनको त्रास बाँकी नै थियो। “केही होला कि भन्ने डर थियो, तर मतदान गर्न पाउँदा खुसी लागेको छ,’’ उनले भनिन्, “अबको सरकारले युवालाई बिदेसिनुनपर्ने वातावरण बनाओस्, शिक्षा र रोजगारी देओस्।’’
हरेक मतदाताका आफ्नै पीडा र अपेक्षा थिए। ६८ वर्षीय परशुराम राजवंशी सुकुम्बासी हुन्। वर्षौंदेखि जोतभोग गर्दै आएको जमिनको धनीपुर्जा नपाएकामा उनको चित्तदुखाइ छ। “हामीले कहिले पाउने धनीपुर्जा? जसले जिते पनि हाम्रो समस्या समाधान गरिदिए हुन्थ्यो,’’ उनले भने।

८३ वर्षीय झरीलाल यादवका छोराहरू रोजगारीका लागि परदेशमा छन्। उनलाई बुढेसकालमा छोराहरूको साथ चाहिएको छ, जुन स्वदेशमै रोजगारी भए मात्र सम्भव छ। गौरीगन्जकै डिल्ली ढुंगाना र तेजबहादुर कटुवालको चाहना पनि फरक छैन। उनीहरू चाहन्छन्, ‘‘अब बन्ने सरकारले कसैलाई निराश नबनाओस् र सबै जनताले सुख र शान्तिको श्वास फेर्न पाऊन्।’’
झापा ५ मा दमक, गौरादह, कमल र गौरीगन्जका गरी एक लाख ६३ हजार ३७९ मतदाता छन्, जसमध्ये ६५ .१० प्रतिशत (एक लाख ६ हजार ३७२) मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ।
२०४८ सालदेखि सात पटक चुनाव लडेका ओलीले २०६४ बाहेक सबै निर्वाचन जितेका छन्। तर, यस पटकको चुनावी माहोल र मतदाताको बदलिएको चेतनाले झापा ५ को नतिजा कसको पक्षमा जान्छ भन्ने कौतूहल बढेको छ।