काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

प्रतिनिधिसभा निर्वाचन

उपत्यकाका तीन वटै जिल्लामा शान्तिपूर्ण मतदान

२१ फाल्गुन २०८२
काठमाडौँ महानगर वडा १३ को अरुणोदय मावि मतदान केन्द्र 'ख' मा भोट खसाल्दै ह्वील चेयर प्रयोगकर्ता। सबै तस्बिर : बिक्रम राई
अ+
अ-

काठमाडौँको वसन्तपुर दरबार क्षेत्रनजिकैको मरु गणेश टोलमा बस्छिन्, ८६ वर्षीया सावित्री प्रधान। पेटसम्बन्धी समस्याले सताए पनि उनी मतदान गर्न बिहीबार दिउँसो वसन्तपुर डबलीको मतदान केन्द्रमा पुगिन्। देशलाई सही बाटोमा डोर्‍याउने नेतृत्व चयनका लागि मत हाल्न आएको उनले बताइन्। “भोट हाल्न जरुरी भएकै कारण सन्चो नभए पनि २० ठाउँजति बस्दै बस्दै आएँ,” उनले भनिन्।

उनका अनुसार हालसम्मका कुनै पनि चुनावमा भोट हाल्न छुटाएकी छैनन्। उनकी छिमेकी ८५ वर्षीया चञ्चलाराज उपाध्याय पनि खुट्टा दुख्ने समस्याका बावजुद मताधिकार प्रयोग गर्न आएकी थिइन्। उनले भनिन्, “केही भएन भनेर घरैमा बसेर त भएन नि, भोट हाल्नुपर्‍यो। काम गर्ने मान्छेलाई चुन्नुपर्‍यो।”

मौसमी रुघाखोकी र ज्वरोले गाँजे पनि ओमबहाल निवासी सावित्री कपाली पनि वसन्तपुर डबलीको मतदान केन्द्रमा मत हाल्न आएकी थिइन्। गत २३ र २४ भदौमा भएको जेन-जी आन्दोलनमा ज्यान गुमाएका नागरिकको न्यायका लागि देशलाई सही बाटोमा हिँडाउने नेतृत्व चयन गर्न मत हाल्न आएको उनले बताइन्।

उपत्यकाभित्रका मतदान केन्द्रहरूमा शान्तिपूर्ण रूपमा मतदान भएको छ।

उपत्यकाका तीन जिल्लामा कुल ११ लाख ८५ हजार ३७४ मतदाता छन्। जसमध्ये काठमाडौँ जिल्लामा सात लाख १० हजार ७०८, ललितपुरमा दुई लाख ६९ हजार २५६ र भक्तपुरमा दुई लाख पाँच हजार १० जना मतदाता छन्। उपत्यकाका मतदातामध्ये महिला ६ लाख तीन हजार ३२१ जना छन् भने पुरुष मतदाता पाँच लाख ८२ हजार ४१ र अन्य १२ जना छन्।

हेर्नुस् तस्बिरमा :