काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

प्रतिनिधिसभा निर्वाचन

भौगोलिक विकटताका कारण संखुवासभाका केही स्थानबाट मतपेटिका संकलन हुनै बाँकी

२२ फाल्गुन २०८२
तस्बिर : युवराज विष्ट/रासस
अ+
अ-

विराटनगर। कोसी प्रदेशको चुनावी नतिजाले यसपटक परम्परागत राजनीतिक शक्तिलाई ठुलो धक्का दिने संकेत गरेको छ।

प्रदेशका २८ मध्ये २७ निर्वाचन क्षेत्रमा भइरहेको मतगणनाको प्रारम्भिक रुझानअनुसार तराईका जिल्लाहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को र पहाडी तथा हिमाली क्षेत्रमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको ‘माटो’ (चुनाव चिह्न) बीच स्पष्ट विभाजन देखिएको छ।

तराईका तीन प्रमुख जिल्ला- झापा‚ मोरङ र सुनसरीका १५ निर्वाचन क्षेत्रमा रास्वपाले एकलौटी अग्रता बनाएको छ। पहाडी भेगका ६ जिल्लामा श्रम संस्कृति पार्टीका उम्मेदवार हाबी देखिएका छन्।

तराईमा रास्वपाको ‘क्लिन स्विप’ उन्मुख
सम्बन्धित निर्वाचन कार्यालयहरूका अनुसार झापाका ५, मोरङका ६ र सुनसरीका ४ वटै क्षेत्रमा रास्वपाका उम्मेदवार अगाडि छन्।

झापा १ मा निशा डाँगी, २ मा इन्दिरा राना मगर, ३ मा प्रकाश पाठक र ४ मा शम्भु ढकालले अग्रता कायम राखेका छन्। यस्तै, झापा ५ मा बालेन्द्र शाहको अग्रता देखिएको छ।

मोरङमा पनि रास्वपाको पकड बलियो देखिएको छ। मोरङ १ मा यज्ञमणि न्यौपाने, २ मा कृष्णकुमार कार्की, ३ मा गणेश कार्की, ४ मा सन्तोष राजवंशी, ५ मा उषा झा र ६ मा रुविना आचार्यले आफ्ना निकटतम प्रतिस्पर्धीलाई पछि पारेका छन्।

यो पनि…

नयाँ जनादेशको सन्देश

सुनसरीका चारवटै क्षेत्रमा पनि रास्वपाकै अग्रता छ। सुनसरी १ मा गोमा तामाङ, २ मा लालविक्रम थापा, ३ मा अशोक चौधरी र ४ मा दीपककुमार शाह अगाडि छन्।

पहाडमा ‘माटो’ को अग्रता
तराईमा रास्वपाको लहर चलिरहँदा कोसीका पहाडी र हिमाली जिल्लामा भने धरानका पूर्वमेयर हर्क साम्पाङको ‘श्रम संस्कृति पार्टी’ ले अप्रत्याशित अग्रता लिएको छ।

पाँचथरमा ६५६ मतसहित हस्तराज शेर्मा (राई) अगाडि छन् भने इलाम २ मा सुदीप राईले १,५०४ मतका साथ अग्रता बनाएका छन्। भोजपुरमा ध्रुवराज राईले अग्रता लिँदा खोटाङमा एरेन राई ३९५ मतले अगाडि छन्।

मतगणनास्थल बाहिर कार्यकर्ताको भिड। तस्बिर : अनिल श्रेष्ठ

यस्तै धनकुटामा सनबहादुर राई ३,२३७ मतका साथ बलियो स्थितिमा देखिएका छन् भने उदयपुर २ मा बलराज राई ४९८ मतसहित अगाडि छन्।

दुई क्षेत्रमा गणना बाँकी
प्रदेशका अधिकांश क्षेत्रमा गणना भइरहँदा सोलुखुम्बुमा भने अझै मतगणना सुरु हुन सकेको छैन। संखुवासभामा भौगोलिक विकटताका कारण केही स्थानबाट मतपेटिका संकलन हुन बाँकी छ। शनिबारसम्म सबै मतपेटिका संकलन गरिसकेपछि मात्रै त्यहाँ गणना सुरु गर्ने तयारी निर्वाचन कार्यालयले गरेको छ।

यो प्रारम्भिक नतिजाले कोसी प्रदेशको राजनीतिमा अब स्थापित दलहरूलाई विस्थापित गर्दै नयाँ र वैकल्पिक शक्तिहरू निर्णायक हुने संकेत देखिएको छ। तराईको ‘घण्टी’ र पहाडको ‘माटो’ को यो रोचक प्रतिस्पर्धाले प्रदेशको आगामी राजनीति कता जान्छ भन्ने उत्सुकता जगाएको छ।