प्रतिनिधिसभा निर्वाचन
यसपालि जित्ने मिश्रको चाहनालाई विवेकशील-साझामा छँदाकी सहयात्री रञ्जुले पारिन् निस्तेज
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर १ मा लगातार तेस्रो पटक पराजय भोगेका छन्।
काठमाडौँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रञ्जु न्यौपाने १५ हजार ४५५ मतसहित विजयी हुँदा मिश्रले हारमा ह्याट्रिक बनाए। उनी प्रतिस्पर्धामा रञ्जुको निकटतम प्रतिद्वन्द्वी समेत देखिएनन्। दोस्रो स्थानमा नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत ल्याए भने मिश्र तीन हजार ९७२ मतसहित तेस्रो स्थानमा खुम्चिए।
मिश्रले २०७४ सालमा बीबीसी नेपाली सेवाको जागिर छाडेर वैकल्पिक राजनीतिक धार स्थापित गर्ने भन्दै ‘साझा पार्टी’ गठन गरेर राजनीतिक मैदानमा आएका थिए। पछि विवेकशील पार्टीसँग एकीकरण गरेर विवेकशील–साझा पार्टीको संयोजक भएका मिश्र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ १ मा उम्मेदवार भएका थिए। त्यसबेला मिश्रलाई कांग्रेसका प्रकाशमान सिंहले ८१९ मतान्तरले पराजित गरेका थिए। सिंहले १० हजार ९३७ मत पाएका थिए भने मिश्रले १० हजार ११८ मत ल्याएका थिए।
उक्त निर्वाचनमा हारेपछि मिश्रले आगामी दिनमा पार्टी र संगठनको सुदृढीकरण गरी अर्को चुनावमा पार्टीलाई जित दिलाउन लागिपर्ने बताएका थिए।
तर, विवेकशील-साझामा मिश्रले संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्र पुनर्स्थापनाको प्रस्ताव अघि सारेपछि पार्टीभित्र विवाद चुलियो र पार्टी विभाजन भयो। विचारभन्दा माथि देश पुस्तक प्रकाशन गरेर देशमा राजतन्त्र अपरिहार्य रहेको भन्दै उनी असोज २०७९ मा आफ्नो विचार मिल्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरे।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा राप्रपाबाट काठमाडौँ १ मा दोस्रो पटक उम्मेदवार भएका मिश्रले त्यसबेला पनि संसदीय यात्रा तय गर्न सकेनन्। उनलाई फेरि पनि कांग्रेसका प्रकाशमान सिंहले पराजित गरे। त्यसबेला भने उनी १२५ मतान्तरले पराजित भएका थिए। सिंहले सात हजार १४३ मत ल्याउँदा मिश्रले सात हजार १८ मत प्राप्त गरेका थिए।
यसपालि तेस्रो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएर पहिलो जित निकाल्ने मिश्रको प्रयासलाई विवेकशील-साझा पार्टीमा छँदा सहयात्री रहेकी रञ्जुले निस्तेज पारेकी छन्।
१५ चैत २०८१ मा राजावादीहरूले काठमाडौँमा गरेको प्रदर्शनमा राप्रपाले पनि कार्यक्रम गरेको थियो। प्रदर्शनका क्रममा आगजनी हुँदा र प्रहरीले गोली चलाउँदा दुई जनाले ज्यान गुमाएका थिए। त्यसबेला, मिश्रको अभिव्यक्तिले हिंसा भड्काएको भन्दै उनी पक्राउ परेका थिए। प्रहरीले मिश्रमाथि संगठित अपराध, राज्यद्रोह र आपराधिक उपद्रव गरी तीन वटा कसुरमा अनुसन्धान गर्न आठ पटक म्याद थपेको थियो। त्यसपछि मिश्रले सर्वोच्च अदालतमा दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ भएपछि उनी तीन लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए।