काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२२ फाल्गुन २०८२
धनपालथान गाउँपालिका ७ का ५६ वर्षीया जमला मिया । राती २ बजेसम्म पनि मतपरिणाम सुन्न मोरङ क्षेत्र ५ को मतगणना स्थल बाहिर ।
अ+
अ-

विराटनगर । विराटनगर–१३ स्थित सुनसरी मोरङ सिँचाइ आयोजनाको कार्यालय बाहिर शुक्रबार झिसमिसे बिहानको दुई बज्दा पनि चहलपहल कुनै मेलाको भन्दा कम थिएन ।

बाहिर सडकको सुनसान चिर्दै भित्रबाट माइकिङ भइरहेको थियो । बाहिर भने सयौँ मानिसहरू कान ठाडा पारेर बसेका थिए । कसैको हात मोबाइलको स्क्रिनमा, त कोही भने चिसो भुइँमै म्याट ओछ्याएर सुत्ने तरखरमा थिए । तर, कसैको आँखामा पनि निद्राको नामोनिसान थिएन ।

यो दृश्य थियो मोरङ क्षेत्र नम्बर ५ को मतगणना स्थलको । जहाँ आफ्नो अमूल्य मत दिएका मतदाताहरू परिणाम सुन्नका लागि भोक, तिर्खा र निद्रा बिर्सेर रातभरि जाग्राम बसिरहेका थिए ।

त्यही भीडको एउटा कुनामा भेटिए, मोरङको धनपालथान गाउँपालिका–७ का ५६ वर्षीय जमला मिया । भुइँमा ओछ्याइएको सामान्य म्याटमा बसेका उनी एक हातले शरीरमा बसिरहेका लामखुट्टे धपाउँदै थिए भने अर्को हातले कान नजिकै मोबाइल सोझ्याइरहेका थिए । उनी एक्लै थिएनन्, उनीसँगै धनपालथानबाट आएको २० जनाको टोली थियो ।

“आफूले भोट दिएको उम्मेदवारले जित्छ कि हार्छ भन्ने पिरलो छ, घरमा कसरी निद्रा लाग्नु र ?,’ जमलाले भने, “घर ३० किलोमिटर टाढा छ । यति राति आउन जान सम्भव भएन, त्यसैले म्याट बोकेरै आयो । अब परिणाम नसुनी त घर फर्किन्नौँ ।’’

जमलाको टोलीसँगै रहेका ३१ वर्षीय सुजी विश्वासको सकस अलि फरक थियो । विराटनगरको गर्मी र त्यसमाथि लामखुट्टेको ताँती । सुजीले जिस्कँदै भने, “हेर्नु न सर, एउटा झुल मात्रै भए पनि कति आनन्द हुन्थ्यो । यहाँ त लामखुट्टेले टोक्यो भनेर घर जान पनि सकिन्न, सुत्न पनि सकिन्न ।’’

उनीहरूकै छेउमा रहेका जहदा गाउँपालिका–१ का पप्पू मण्डल हाँस्दै बीचैमा बोले, “यति राति कहाँबाट झुल ल्याउनु पप्पू भाइ ? बजार त बन्द भइसक्यो । अब हातैले लामखुट्टे धपाउँदै बसौँ । पहिलो चरणको नतिजा आएपछि मात्रै केहीबेर आँखा चिम्लौँला ।’’

हुन पनि, मतदाताहरूमा देखिएको यो उत्साह लोकतन्त्रको सुन्दर पक्ष हो । दिनभरि काम गरेर थाकेका ज्यानहरू भए पनि राजनीतिक भविष्यप्रति उनीहरूको चासो लोभलाग्दो थियो । सर्वदलीय बैठकले निर्णय गर्न ढिलाइ गर्दा गणना राति साढे १ बजे मात्रै सुरु भएको थियो । जहदाका ईश्वर सर्वरिया त अझ बेलुका ८ बजे नै मतगणना स्थल आइपुगेका थिए ।

“८ बजे गणना सुरु हुन्छ भनेर आएको, सुरु हुँदा रातिको डेढ बजिसकेछ,’’ ईश्वरले भने, “अब पहिलो चरणको नतिजा सुनेर मात्रै शुक्रबार दिउँसो घर फर्किने हो ।’’

निर्वाचन कार्यालयले हरेक दुई घण्टाको अन्तरालमा परिणाम सार्वजनिक गर्ने सहमति गरेपछि मतदाताहरू थप उत्साहित देखिन्थे । बिहान ८ बजेसम्म आइपुग्दा मोरङ ५ को चुनावी दौड निकै रोचक मोडमा पुगेको छ । प्रारम्भिक ३ हजार २४६ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की आशा झाले १ हजार १२८ मतका साथ अग्रता लिएकी छिन् । उनलाई पछ्याउँदै कांग्रेसका फूलकुमार लालवानीले ५१० मत पाएका छन् भने नेकपाका शिवकुमार मण्डल ५०४ मतका साथ तेस्रो स्थानमा छन् । एमालेका मनोज अग्रवाल र जसपाका राजकुमार यादव पनि क्रमशः २८४ र २३१ मतका साथ प्रतिस्पर्धामा छन् ।
मोरङ ५ मा कुल १ लाख १० हजार १७७ मतदातामध्ये ७८ हजार ५२९ मत खसेको छ, जुन कुल मतदाताको ७१.२८ प्रतिशत हो । २२ जना उम्मेदवारहरूको भविष्य अहिले बाकसभित्रबाट निस्कने कागजका टुक्राहरूमा कैद छ । जहदा र धनपालथान गाउँपालिका, रंगेलीका केही वडा र विराटनगरका ६ वटा वडाहरू समेटिएको यस क्षेत्रमा कसले बाजी मार्ला भन्ने कौतुहलताले नै मतदातालाई रातभरि सडकपेटीमा सुत्न बाध्य बनाएको छ । ‘‘उज्यालो हुँदै गर्दा मतगणना स्थल बाहिरको भीड झन् बढ्दो छ,’’ स्थानीय प्रेम दवानले भने ।

तस्बिर सबै अनिल श्रेष्ठ

विराटनगर १३ स्थित मोरङ क्षेत्र नम्बर ५ को मत गणनास्थल बाहिर मत परिणाम सुन्न बसेकाहरु ।

मोरङ क्षेत्र नम्बर ५ को मतगणनास्थल बाहिर मत परिणाम सुन्न बसेका सर्वसाधरणहरु ।

मोरङ क्षेत्र नम्बर ५ को मत गणना गर्न मतपेटिकाबाट मत पत्र भुइमा खनाउँदै ।