काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

प्रत्यक्षतर्फको मत गनिसकिएको क्षेत्रमा लगत्तै समानुपातिकको गणना हुने

२२ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। प्रतिनिधिसभा निर्वाचनअन्तर्गत देशका अधिकांश क्षेत्रमा प्रत्यक्षतर्फको मतगणना जारी छ। प्रत्यक्षतर्फ मतपरिणाम आएपछि समानुपातिकतर्फ मतगणना गर्ने निर्वाचन आयोगको तयारी छ। जसअनुसार मतगणना सकिएका काठमाडौँ क्षेत्र नम्बर १ र मुस्ताङमा समानुपातिक मतको गणना सुरु भइसकेको छ।

पहिलो हुने निर्वाचित हुने प्रत्यक्ष प्रणालीबाट १६५ सदस्य निर्वाचित हुन्छन् भने सिंगो देशलाई एक निर्वाचन क्षेत्र मानिएको समानुपातिक प्रणालीबाट ११० जना प्रतिनिधिसभाका लागि चुनिन्छन्।

पहिले प्रत्यक्षतर्फको मत गनिसकेपछि समानुपातिकतर्फको गणना सम्बन्धित क्षेत्रमै गरिने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए। “हरेक जिल्लामा प्रत्यक्षतर्फको गणना सकेपछि समानुपातिकको गनिनेछ। अन्तिम विवरण एकैपटकमा आउँछ,” उनले भने।

प्रत्यक्षतर्फ हालसम्म काठमाडौँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रञ्जु न्यौपाने र मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचन थकाली विजयी भइसकेका छन्। यी दुवै स्थानमा समानुपातिक गणना जारी रहेको आयोगले जनाएको छ।

बिहीबार भएको मतदानमा देशभर ५८.७ प्रतिशत मत खसेको छ। समानुपातिकमा पनि प्रत्यक्षमा जति नै मत खसेको आयोगका प्रवक्ता भट्टराईले बताए। “प्रत्यक्ष र समानुपातिक दुवैतर्फ बराबर संख्यामा मत खसेको हाम्रो अनुमान छ। विस्तृतमा तथ्यांक निकालेका छैनौँ,” उनले भने।

उनका अनुसार समानुपातिकको परिणाम आउन करिब एक साता लाग्ने अनुमान छ। “प्रत्यक्षतर्फको सबै परिणाम तीन दिनभित्रमा आइसक्छ। समानुपातिकको परिणाम आउन एक साता लाग्न सक्छ,” उनले भने।

बिहीबार प्रत्यक्षतर्फ मत दिएका व्यक्तिले त्योसँगै समानुपातिकमा पनि मत दिएका थिए। तर, देशभरका अस्थायी मतदाताले समानुपातिकमा मात्रै मत दिएका थिए। आयोगले १७ मंसिरमा अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि, २०८२ जारी गरेर संघ, प्रदेश, स्थानीय तहका कर्मचारी, ब्यारेकमा रहेका सेना, प्रहरी, सशस्त्र प्रहरी, निर्वाचनमा खटिएका कर्मचारी, वृद्धाश्रममा रहेका व्यक्ति, संवैधानिक निकायका प्रमुख र पदाधिकारीले आफू रहेकै क्षेत्रमा मतदान गर्न पाउने व्यवस्था गरेको थियो। जसअनुसार देशभरबाट नामावली संकलन भएका एक लाख ८६ हजार कर्मचारीले समानुपातिकमा मत हालेका थिए।

निर्वाचन आयोगका अनुसार यसपालि मतदान गर्न उमेर पुगेका कुल मतदाता एक करोड ८९ लाख तीन हजार ६८९ जना थिए। तीमध्ये एक करोड नौ लाख ७७ हजार ७११ जनाले मत हालेका थिए।

समानुपातिक निर्वाचन प्रणालीतर्फ ५७ वटा चुनावचिह्नमा ६३ वटा राजनीतिक दलले तीन हजार १३५ जना उम्मेदवारको बन्दसूची आयोगमा बुझाएका छन्। तीमध्ये खसेको सदर मतको कम्तीमा तीन प्रतिशत थ्रेसहोल्ड मत पार गर्ने दलका उम्मेदवार समानुपातिक समावेशी विधिबाट विजयी हुनेछन्। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ ले छुट्याएको ६ वटा समावेशी समूहबाट उम्मेदवारहरू चुनिनेछन्।