काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

प्रतिनिधिसभा निर्वाचन

ओली–बालेन : सञ्जालदेखि चुनावी मैदानसम्मको कटुता

२३ फाल्गुन २०८२
बालेन्द्र शाह (बालेन)।
अ+
अ-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री उम्मेदवारको रूपमा अघि सारेका बालेन्द्र शाह (बालेन) अत्यधिक मतसहित प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्। उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई झापा ५ बाट फराकिलो मतान्तरमा पराजित गरेका छन्। बालेनले ६८ हजार ३४८ मत पाउँदा ओलीले १८ हजार ७३४ मत मात्र ल्याएका छन्। करिब ४९ हजार ६१४ मतान्तरले बालेन विजयी भएका हुन्।

एमाले अध्यक्षसमेत रहेका ओलीसँग चुनाव लड्न बालेन झापा झरेका थिए। र्‍यापर हुँदादेखि नै युवा पुस्तामाझ लोकप्रिय बालेन २०७९ सालमा स्वतन्त्र रूपमा काठमाडौँ महानगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए। पुराना नेता र दलबाट आजित नयाँ पुस्ताको प्रतिनिधिका रूपमा उनी चुनावी मैदानमा उत्रिएका हुन्।

बालेनप्रतिको मतदाताको आशाले हुन सक्छ, आलोपालो प्रधानमन्त्री बन्ने, सत्ताका लागि दलीय भागबन्डा र गठबन्धन गरिरहने पुराना दल र नेतालाई यसपालि मतदाताले पराजित गरिदिएका छन्। कांग्रेस, एमाले र नेकपा अर्थात् तत्कालीन माओवादीले विगतका दुई वटा चुनावमा एकल बहुमत नपुगे पनि अरू दलसँग सत्ताको लेनदेन गरेर संसदीय राजनीतिलाई विकृत बनाएका थिए। त्यसैले यस चुनावमा उनीहरू मतदाताबाट किनाराकृत भएका छन् भने बालेन युग उदय भएको विश्लेषण हुन थालेको छ। राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेल देशभरि बालेनप्रति देखिएको क्रेज मतमा बदलिएको बताउँछन्। उनको कथन छ, “बालेनप्रतिको क्रेजलाई मतदाताले मतमा परिणत गरेका छन्।”

झापाबाट ६ पटक संसदीय चुनाव जितेका, चार पटक प्रधानमन्त्री भएका र तीन पटक पार्टी अध्यक्ष भएका ओलीलाई उनकै गढमा पराजित गरेर बालेनले पहिलो पटक संसदीय यात्राको थालनी गरेका छन्।

मतगणना सकिएलगत्तै रास्वपाका तर्फबाट ३६ वर्षीय बालेन देशको नयाँ प्रधानमन्त्री नियुक्त हुनेछन्। उनी अहिलेसम्मकै कम उमेरका नेपाली प्रधानमन्त्री हुनेछन्। यसअघि सबैभन्दा कम उमेरमा प्रधानमन्त्री हुनेमा बीपी कोइराला थिए। २०१५ सालको आमचुनावमा नेपाली कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि उनी ४४ वर्षको उमेरमा प्रधानमन्त्री भएका थिए।

झापाबाट ६ पटक संसदीय चुनाव जितेका, चार पटक प्रधानमन्त्री भएका र तीन पटक पार्टी अध्यक्ष भएका ओलीलाई उनकै गढमा पराजित गरेर बालेनले पहिलो पटक संसदीय यात्राको थालनी गरेका छन्। यो नेपाली राजनीतिको दुर्लभ रेकर्ड बनेको छ। ओली २०४८ सालयताका आठ निर्वाचनमध्ये ६ वटामा झापा ५ बाटै निर्वाचित भएका थिए। उनलाई २०६४ सालको संविधानसभा चुनावमा तत्कालीन नेकपा (माओवादी)का विश्वदीप लिङ्देन लिम्बूले पराजित गरेका थिए।

पहिलो पटक सांसद बनेका बालेनसँग स्थानीय सरकार चलाएको अनुभव भने छ। २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा बालेन ६१ हजार ७६७ मत पाएर काठमाडौँ महानगरपालिकाको प्रमुख चुनिए। त्यसपछि उनले सुशासन र सांस्कृतिक जगेर्ना तथा सार्वजनिक शिक्षा सुधारका क्षेत्रमा कैयौँ राम्रा काम गरेका छन्। विश्वप्रसिद्ध टाइम म्यागेजिनले तीन वर्षअघि ‘टप १०० इमर्जिङ लिडर’ मा उनलाई समेत सूचीकृत गरेको थियो।

२३ र २४ भदौको जेन-जी आन्दोलनमा ओली-बालेनबीचको द्वन्द्व उत्कर्षमा पुग्यो। जेन-जी आन्दोलनकै कारण ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिए भने त्यसपछि शक्तिको केन्द्रमा बालेन देखा परे।

ओलीसँग बालेनले यसपालि चुनावी प्रतिस्पर्धा गरे पनि उनीहरूबीचको द्वन्द्वको शृंखला लामो छ। बालेन महानगर प्रमुख बनेदेखि नै ओलीसँग उनको विवाद सुरु भएको हो। २३ र २४ भदौको जेन-जी आन्दोलनमा ओली-बालेनबीचको द्वन्द्व उत्कर्षमा पुग्यो। जेन-जी आन्दोलनकै कारण ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिए भने त्यसपछि शक्तिको केन्द्रमा बालेन देखा परे। जेन-जी आन्दोलनको बलमा बालेनकै प्रस्तावअनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भयो। त्यस सरकारले ६ महिनाभित्र चुनाव गराउने जिम्मेवारी पायो। २१ फागुनमा चुनाव लड्नकै लागि बालेनले ४ माघमा काठमाडौँको महानगर प्रमुखबाट राजीनामा दिए। त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका बालेन अन्तत: एमाले अध्यक्ष ओलीसँगै प्रतिस्पर्धा गर्न झापा ५ पुगेका थिए।

स्ट्रक्चरल इन्जिनियरिङमा एमटेक र सिभिल इन्जिनियरिङमा बीई गरेका उनी पीएचडी स्कलर हुन्। र्‍यापर, इन्जिनियर हुँदै राजनीतिमा प्रवेश गरेका बालेन युवा पुस्ताबीच लोकप्रिय र चर्चित छन्।

तबला उपहारदेखि चुनावी प्रतिस्पर्धासम्म

काठमाडौँ महानगरपालिका प्रमुखमा निर्वाचित भएपछि बालेन्द्र शाह (बालेन)लाई एमाले अध्यक्ष केपी शर्मा ओलीले तबला उपहार दिएका थिए। ओलीले त्यतिबेला एउटा अन्तर्वार्तामा भनेका थिए, ‘राम्रो काम गरेर राम्रो राजनीतिज्ञ बनून् भनेर तबला उपहार दिएको हुँ।’ तर, त्यसपछिका दिनमा ओली र बालेनबीचको सम्बन्ध तिक्ततापूर्ण रह्यो।

महानगरमा निर्वाचित भएको केही महिनामै बालेनले नयाँ बानेश्वर क्षेत्रमा सडकको मापदण्ड मिचेर बनाइएका संरचना भत्काउने अभियान सुरु गरे। त्यसैबेलादेखि एमालेका नेता-कार्यकर्तासँग उनको विवाद सुरु भयो। महानगरले बानेश्वरस्थित अल्फाबिटा भवनमा डोजर चलाएपछि एमाले सचिव महेश बस्नेतले ‘भवनको नक्सा पास नभएर भत्काएको कि भवनका मालिक एमालेसँग नजिक भएकाले?’ भन्दै विरोध गरेका थिए। भौतिक संरचना भत्काउने बालेनको कदमको विरोध गरेपछि बालेन समर्थकहरू बस्नेतसँग विवादमा उत्रिएका थिए।

त्यसपछि बालेनले न्युरोडको सडकपेटी फराकिलो बनाउन सुरु गरेपछि सडक विभागले अवरोध गर्‍यो। त्यसपछि बालेनले विभाग र काठमाडौँ सडक डिभिजनअगाडि महानगरको फोहोर थुपारिदिए। महानगर र सडक विभागबीच विवाद उत्पन्न भएपछि ओली बालेनविरुद्ध उत्रिए। फोहोर थुपारिएको विषयमा टिप्पणी गर्दै ओलीले लेखे, ‘छिमेकीसँग रिस उठ्यो भने उसको ढोकामा फोहोर फ्याँकिदिने? यो कुनै सभ्यता हो?’ ओलीको यस्तो टिप्पणीपछि एमाले कार्यकर्ता फेरि बालेनविरुद्ध खनिए। ओली र बालेनका समर्थक सामाजिक सञ्जालमा गालीगलौजमा उत्रिए।

महानगर बैठकमै बालेनको योजनामा एमालेका नेता-कार्यकर्ताले अवरोध गर्ने गरेका थिए। ओली-बालेनको सञ्जालयुद्ध बालेनका समर्थकले ओलीको फेसबुक पेज ‘अनफलो’ गर्ने हदसम्म विस्तार भएको थियो।

ओली र उनको टोली आफूविरुद्ध खनिएपछि बालेनले झापाको गिरिबन्धु चिया बयानको जग्गा जोडिएको नीतिगत भ्रष्टाचारमा ओलीको संलग्नता रहेको आरोप लगाए। काठमाडौँ महानगरमा उपप्रमुख सुनीता डंगोलबाहेक ३२ वडाध्यक्षमध्ये १२ जना त एमालेबाट निर्वाचित जनप्रतिनिधि छन्। महानगरका प्रायः बैठकमा उनीहरूसँग पनि बालेनको विवाद हुन्थ्यो। महानगर बैठकमै बालेनको योजनामा एमालेका नेता-कार्यकर्ताले अवरोध गर्ने गरेका थिए। ओली-बालेनको सञ्जालयुद्ध बालेनका समर्थकले ओलीको फेसबुक पेज ‘अनफलो’ गर्ने हदसम्म विस्तार भएको थियो।

युवा पुस्ताको विश्वास जितेका बालेनसँग जति जति विवाद पर्‍यो, ओलीको विरोध त्यति नै चुलियो। कुनै बेला ‘आई लभ यु केपी बा’ भन्दै ओलीको पक्षमा उत्रिने युवाहरूले बिस्तारै बालेनमा सम्भावना देख्ने थाले। तिनै युवापछि ‘केपी… देश छोड्’ भन्दै ओलीविरुद्ध खनिए। यो लहर सामाजिक सञ्जालमा मात्र सीमित रहेन, यस पटकको चुनावमा बालेनप्रतिको जनलहर मतपत्रमै पोखिएको छ।

२३ र २४ भदौको जेन-जी आन्दोलनको पर्दापछाडिका योजनाकार मानिएका बालेनलाई जेन-जी आन्दोलनलगत्तै प्रधानमन्त्री बन्न प्रस्ताव गरिएको थियो। तर, उनले स्वीकार गरेनन्। अहिले प्रधानमन्त्रीका प्रतिस्पर्धी ओलीलाई उनकै क्षेत्रमा पराजित गरेर बालेनले निर्वाचित प्रधानमन्त्री हुने बाटो सुरक्षित गरेका छन्।

आसन्न चुनौती

राजनीतिक पृष्ठभूमि नभएका बालेनलाई यो प्रतिस्पर्धा जित्नु जति कठिन थियो, प्रधानमन्त्रीका रूपमा आगामी दिन थप चुनौतीपूर्ण बन्न सक्छन्। बालेनसँग महानगरपालिकाको प्रमुख भएर काम गरेको अनुभव त छ, तर त्यतिले मात्र सरकार चलाउन सजिलो चाहिँ छैन। राजनीतिक विश्लेषक श्याम श्रेष्ठ भन्छन्, “यस चुनावमा बालेनको पक्षमा अपार ‘वेभ’ देखियो। जनताले दिएको मतको सम्मान गर्नुपर्छ। चुनौती धेरै छन्। तर, पनि हामी सबैले राम्रो गर्नुहोला भन्ने कामना गर्नुपर्छ।”

प्रधानमन्त्री भएपछि बालेनलाई विगतमा अवरोध गर्नेहरूभन्दा गम्भीर चुनौती देशको कर्मचारीतन्त्र बन्नेछ। किनभने, कर्मचारीतन्त्र पुराना दल र तिनका नेताको इसारामा नाच्न अभ्यस्त छ।

महानगरमा त राजनीतिक दलनिकट कार्यपालिका सदस्य र कर्मचारीले बालेनका कदममा अवरोध गर्ने गरेका थिए। प्रधानमन्त्री भएपछि बालेनलाई विगतमा अवरोध गर्नेहरूभन्दा गम्भीर चुनौती देशको कर्मचारीतन्त्र बन्नेछ। किनभने, कर्मचारीतन्त्र पुराना दल र तिनका नेताको इसारामा नाच्न अभ्यस्त छ। त्यसले परिवर्तनमा अवरोध सिर्जना गर्न सक्ने जोखिम छ। त्यसैले बालेनका लागि पेचिलो चुनौती कर्मचारीतन्त्र नै हुनेछ। कर्मचारीले काम हुन नदिने, अड्काउने र झमेला सिर्जना गर्ने प्रवृत्तिको सिकार कुनै न कुनै रूपमा अघिल्ला प्रधानमन्त्री र मन्त्रीहरू पनि भइसकेका छन्। यसबाट बालेन मुक्त भइहाल्ने सम्भावना कम छ।

नयाँ दलको नयाँ सांसद भएका कारण संसदीय राजनीतिका जटिलता अनि पुराना दल र नेताका दाउपेच पनि बालेनका लागि केही हदसम्म चुनौती बन्न सक्छन्। महानगर प्रमुखका रूपमा उनले मतदान नै नगरेको राष्ट्रिय सभा रास्वपाविहीन छ। तल्लो सदनले अघि बढाएका विधेयकमा माथिल्लो सदनले अवरोध गर्न सक्छ। त्यो पनि बालेनका लागि थप चुनौती बन्न सक्छ।

प्रदेश र स्थानीय तह अझै पनि बालेनको दल रास्वपाविहीन छ। त्यसैले स्थानीय र प्रादेशिक सरकारलाई विश्वासमा लिएर काम गर्न सजिलो छैन। २०७९ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बालेनले काठमाडौँ-९ को गैरीगाउँस्थित अन्नपूर्ण मतदान केन्द्रमा पुगेर प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकमा मात्र मतदान गरेका थिए। त्यसपछि प्रदेशसभाका लागि मतदान नगरी उनी बाहिर निस्किएका थिए। त्यतिखेर उनी ‘संघीयताविरोधी’ रहेको आरोप पनि लागेको थियो। तर, रास्वपा प्रवेश गरेलगत्तै जनकपुर पुगेर उनले संघीयतालाई अझ बलियो बनाउने भाषण गरेर आफूलाई लागेको आरोप चिर्ने प्रयास गरे। त्यसो त संविधानवाद मान्ने उद्घोष गरेको रास्वपाले चुनावअघि संघीयतालगायत विषय मान्ने जनाइसकेको छ। यद्यपि, बालेनलाई ‘संघीयताविरोधी’ छवि मेटाउन भाषण मात्र होइन, काम गरेर देखाउनुपर्ने चुनौती छ।