काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा धेरै क्षेत्रमा प्रत्यक्षतर्फ जित हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिक मततर्फ पनि अग्रस्थानमा देखिएको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो अद्यावधिक मतपरिणामअनुसार हालसम्म ११ लाख ३ हजार २७५ मत गणना भइसकेको छ। प्राप्त मतपरिणामअनुसार रास्वपाले आधाभन्दा बढी मत प्राप्त गर्दै ५ लाख ६५ हजार ८४० मत हासिल गरेको छ।
समानुपातिकतर्फ दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ। कांग्रेसले हालसम्म १ लाख ९० हजार १० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।
यसैगरी तेस्रो स्थानमा नेकपा एमाले रहेको छ। एमालेले १ लाख ४९ हजार ८९४ मत ल्याएको छ। नेपाली कम्युनिष्ट पार्टीले ७५ हजार २४५ मत प्राप्त गरेको छ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ४० हजार ९१८ मत पाएको छ भने हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले हालसम्म १९ हजार ८२९ मत प्राप्त गरेको छ।
निर्वाचन आयोगका अनुसार मतगणना प्रक्रिया अझै जारी रहेकाले अन्तिम परिणाममा केही परिवर्तन हुन सक्ने सम्भावना रहेको छ।