प्रतिनिधिसभा निर्वाचन
रास्वपाबाट उम्मेदवार बनेका थप नौ महिला उम्मेदवारको अग्रता
काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा घोषणा भएको प्रत्यक्षतर्फको मतपरिणाम अनुसार पाँच महिलाले जित हासिल गरेका छन्।
निर्वाचन आयोगबाट घोषणा भएकामध्ये चारजना राष्ट्रिय स्वतन्त्र पार्टीबाट छन् भने एकजना नेपाली कांग्रेसबाट विजयी भएकी छन्।
हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीबाट मोरङ १ बाट रुबिना आचार्य, काठमाडौँ १ बाट रञ्जु न्यौपाने, कास्की ३ बाट विना गुरुङ, कैलाली १ बाट कोमल ज्ञवाली निर्वाचित भएको निर्वाचन आयोगले घोषणा गरेको छ।
त्यसैगरी नेपाली कांग्रेसकी उम्मेदवार दैलेख १ बाट बासना थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। सम्भवतः कांग्रेसबाट प्रत्यक्षतर्फ निर्वाचित हुने उनी एक्ली महिला हुनेछिन्।
रास्वपाबाट उम्मेदवार बनेका नौ महिलाले अग्रता लिइरहेका छन्। झापा १ मा निशा डाँगी, झापा २ मा इन्दिरा राना मगर, मोरङ ५ मा आशा झा, सप्तरी १ मा पुष्पाकुमारी चौधरी, महोत्तरी ४ मा गौरी कुमारी, सर्लाही १ मा नितिमा भण्डारी, धादिङ १ मा आसिका तामाङ, ललितपुर ३ मा तोसीमा कार्की, चितवन ३ मा सोविता गौतम हालसम्म अग्रता लिइरहेका छन्।