म्याग्दी। म्याग्दी क्षेत्र नं. १ मा स्वतन्त्र उम्मेदवार महावीर पुनले फराकिलो मतान्तरमा विजयी हासिल गरे। पुनले निकटतम प्रतिद्धन्द्धी एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठलाई १४ हजार ९३१ भोटले पछि पार्दै जित सुनिश्चित गरेका हुन्। पुनले २२ हजार ८५० मत र श्रेष्ठले ७ हजार ९१९ मत प्राप्त गरे।
विज्ञान र प्रविधिको क्षेत्रमा काम गर्दै आएका पुन जेनजी आन्दोलनपश्चात बनेको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री भए। तर भनेजसरी काम गर्न नपाएको भन्दै अचानक पदबाट राजीनामा दिएर प्रतिनिधि सभा सदस्यको चुनाव लड्न गृहजिल्ला म्याग्दी पुगेर उम्मेदवारी दिएका थिए।
उनले हराएका एमालेका उम्मेदवार श्रेष्ठ राजनीतिक पृष्ठभुमीका हुन्। उनी २०३६ सालमा अनेरास्ववियु पाचौमा आबद्ध भएर विद्यार्थी राजनीति हुदै राजनीतिक यात्रा सुरु गरेका थिए।
एमालेको म्याग्दी जिल्ला अध्यक्षको नेतृत्व सम्हालेका उनी २०८ मा सम्पन्न एघारौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका थिए।
यसअघि २०७९ को निर्वाचनमा भने म्याग्दी १ बाट नेपाली कांग्रेसका खमबहादुर गर्बुजा निर्वाचित भएका थिए।
यसैगरी जारी मतगणनाको पछिल्लो अपडेट अनुसार कपिलवस्तु क्षेत्र नं. १ मा स्वतन्त्र उम्मेदवार आशिष शर्माले १२ हजार ११६ मत ल्याएर अगाडि छन्।
उनले यसअघि संविधानसभा सदस्य र प्रतिनिधि सभा सदस्य भैसकेका नेपाली कांग्रेसका उम्मेदवार अतहर कमाल मुसलमानलाई १ हजार २१५ मतले पछि पारेका हुन्। अतहरले १० हजार ९०२ मत ल्याएका छन्।
देशभर १ हजार १८८ जना स्वतन्त्र उम्मेदवारले प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन गरेका थिए।