सुर्खेत। जाजरकोटमा प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम आउँदा नेपाली कांग्रेसका खड्कबहादुर बुढा विजयी भएका छन्। उनी २० हजार १४२ मतले विजयी हुँदा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार शक्तिबहादुर बस्नेत १७ हजार ४०७ मत ल्याएर दोस्रो भएका छन्।
उनीहरूबीच दुई हजार ७३५ को मतान्तर छ। नेकपा (एमाले)का उम्मेदवार डम्बरबहादुर सिंहले १६ हजार ८८३ मत प्राप्त गरेका छन्। जाजरकोटमा रास्वपाका उम्मेदवार राघव कार्कीले दुई हजार ४७१ मत ल्याएका छन्।
२०८२ सालको प्रतिनिधिसभाबाट शक्तिबहादुर बस्नतेले संसदीय प्रतिस्पर्धामा बेहोरेको यो नै पहिलो हार हो। गठबन्धन र नेतृत्वको आडमा निरन्तर संसद् छिर्ने र मन्त्रीका रूपमा अवसर लिने गरेका शक्तिबहादुर अन्ततः १२ वर्षपछि संसदीय यात्रामा पछि परेका छन्। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनबाट संसदीय प्रतिस्पर्धामा उत्रिन थालेका बस्नेत २०७४ र २०७९ सालमा पनि निरन्तर निर्वाचित भएका थिए।
२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा एकल जितेका उनी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन माओवादी केन्द्र र एमालेबीचको गठबन्धनका कारण निर्वाचित भएका थिए। २०७९ सालको निर्वाचनमा भने तत्कालीन माओवादी केन्द्र र तत्कालीन नेकपा (एकीकृत समाजवादी)बीच भएको गठबन्धनका कारण निर्वाचित भएका थिए।
तत्कालीन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष हालका नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डका नजिकका पात्र उनी सांसद हुँदा पनि बारम्बार मन्त्रीको अवसर पाउनेमध्येका एक हुन्। उनी संसद् प्रवेश गर्न थालेदेखि गृह, वन तथा वातावरण, ऊर्जालगायत मन्त्रालयमा मन्त्रीका रूपमा रहेर काम गर्ने अवसर पाएका थिए। त्यसअघि सांसद नहुँदै २०६८ सालमा उनी स्वास्थ्य तथा जनसंख्यामन्त्री भएका थिए। २०६८ सालअघि उनले प्रचण्डको सचिवालयमा बसेर पनि काम गरेका थिए।
२०५६ पछि पश्चिम क्षेत्रबाट प्रतिनिधि
जाजरकोटको पश्चिम भेगले २०५६ सालपछि पहिलो पटक संसद्मा आफ्नै क्षेत्रको प्रतिनिधि पाएको छ। संविधान जारी हुनुअघि जाजरकोटमा दुई वटा निर्वाचन क्षेत्र थिए। जाजरकोटको पश्चिम भेग क्षेत्र नम्बर २ मा पर्थ्यो। २०५६ सालसम्म यस क्षेत्रमा पश्चिमकै मायाप्रसाद शर्मा सांसद थिए। त्यसअघिको संसद्मा क्षेत्र नम्बर १ अन्तर्गत सदरमुकामका दीपकजंग शाहले सांसदका रूपमा प्रतिनिधित्व गरेका थिए। २०५६ सालपछि पश्चिम भेगलाई सोही क्षेत्रका व्यक्तिले संसद्मा प्रतिनिधित्व गरेका थिएनन्। २०६४ सालमा पूर्वी क्षेत्रका भक्तबहादुर शाह सांसद बने। २०७० सालमा सदरमुकामका राजीवविक्रम शाह सांसद भएका थिए। जो तत्कालीन क्षेत्र नं. १ का बासिन्दा हुन्।
२०७४ सालपछि एकल निर्वाचन क्षेत्र हुँदा पूर्वी क्षेत्रकै बासिन्दा शक्ति बस्नेतले लगातार प्रतिनिधित्व गरेका थिए। यो पटक भने शक्तिलाई पराजित गर्दै बुढाले संसद्मा पश्चिम भेगबाट प्रतिनिधित्व गरेका छन्।