काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

२३ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। प्रतिनिधिसभाको चुनावको परिणाम आइरहेका बेला गत २३ र २४ भदौको जेन-जी आन्दोलनको मानवीय, भौतिक क्षतिको छानबिन गर्न बनेको जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाउने भएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार आइतबार ११ बजे प्रतिवेदन बुझाउने समय लिएको बताए। प्रधानमन्त्री सुशीला कार्कीलाई जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले प्रतिवेदन बुझाउँदै छन्।

गत ५ असोजमा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगलाई सुरुमा तीन महिनाको कार्यादेश दिइएको थियो। आयोगले काम पूरा गर्न नसकेपछि सरकारले तीनपटक म्याद थपिसकेको छ। पहिलोपटक ८ पुसमा एक महिना र दोस्रोपटक ८ माघमा २० दिन थपिएको आयोगको म्याद २५ फागुनमा सकिँदै छ।

पूर्वन्यायाधीश कार्कीको अध्यक्ष बनेसँगै आयोगको निष्पक्षतामा प्रश्न उठाइँदा विवादित बनेको थियो। कार्कीले जेन-जी आन्दोलनबारे सामाजिक सञ्जालमा आफ्नो धारणा राखिसकेका कारण उनी नेतृत्वको आयोगप्रति अविश्वास मात्र प्रकट भएन, उनीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो।

घटनाबारे आफ्नो दृष्टिकोण अगाडि नै राखिसकेका व्यक्तिले जाँचबुझ आयोगको अध्यक्षको नियुक्ति स्वीकार गर्ने या नगर्ने भन्ने कुरा सम्बन्धित व्यक्तिकै नैतिक मूल्य र विवेकभित्र पर्ने सर्वोच्चले व्याख्यासहितको फैसला गरिसकेको छ।