बाँके २ मा मोहम्मद इस्तियाक राईले एमालेका तर्फबाट लुम्बिनी प्रदेशका २६ निर्वाचन क्षेत्र र देशमै पहिलो विजयी दर्ता गराए
रुपन्देही । बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार मोहम्मद इश्तियाक राई फराकिलो मतान्तरसहित विजयी भएका छन्। उनले एमालेका तर्फबाट लुम्बिनी प्रदेशका २६ निर्वाचन क्षेत्र र देशमै पहिलो विजयी दर्ता गरेका छन्।
निर्वाचनकै मुखमा एमाले प्रवेश गरेका राई रास्वपा र नेपाली कांग्रेसका उम्मेदवारलाई पछाडि पार्दै जित दर्ता गराएका हुन्। राईले २४ हजार ६२६ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेका रास्वपाका उम्मेदवार विवेककुमार श्रेष्ठले १८ हजार ५८१ मत ल्याएका थिए।
यहाँ नेपाली कांग्रेस तेस्रो स्थानमा छ । कांग्रेसका उम्मेदवार सुधांशु कोइरालाले १७ हजार ५९० मत प्राप्त गरेका छन्।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ऋषिराज देवकोटाले एक हजार २८६ मत हासिल गरे। त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार दीपेन्द्र विष्टले जम्मा एक हजार १५ मतसहित पाँचौँ स्थानमा चित्त बुझाए।
इस्तियाकको जितसँगै एमालेले पहिलो खाता खोलेको हो। यो क्षेत्र एमालेको कमजोर क्षेत्र मानिएको थियो। यहाँ यसअघि एमालेले राप्रपालाई सघाएर धवलशमशेर राणाले जितेका थिए।