प्रतिनिधिसभा निर्वाचन
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उल्लेखनीय सफलता हासिल गरेको छ। हालसम्म सार्वजनिक परिणामअनुसार रास्वपाका १०४ उम्मेदवार विजयी भएका छन्।
आज बिहान १०:५० बजेसम्मको विवरणअनुसार रास्वपा २१ निर्वाचन क्षेत्रमा अग्रस्थानमा छ। निर्वाचन आयोगका अनुसार हालसम्म १३२ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ।
यसैबीच, नेपाली कांग्रेसले १४ क्षेत्रमा जित हासिल गरेको छ भने थप तीन स्थानमा अग्रता कायम गरेको छ। नेकपा (एमाले)ले सात क्षेत्रमा जित निकाल्दा तीन स्थानमा अगाडि छ।
त्यसैगरी, नेपाली कम्युनिस्ट पार्टीका चार उम्मेदवार विजयी भएका छन् भने तीन क्षेत्रमा अग्रता लिएका छन्। श्रम संस्कृति पार्टीका एक उम्मेदवार विजयी भएका छन् भने दुई क्षेत्रमा अग्रस्थानमा छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी र एक स्वतन्त्र उम्मेदवारले पनि एक एक स्थानमा जित हासिल गरेका छन्।
समानुपातिकतर्फ मतगणना
२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचनतर्फ हालसम्म २७ लाख ६१ हजार ४२१ मतगणना सम्पन्न भएको छ।
निर्वाचन आयोगका अनुसार १३ लाख ८८ हजार ४२१ मत प्राप्त गर्दै रास्वपा अग्रस्थानमा छ। नेपाली कांग्रेसले चार लाख ७१ हजार ३५५ मत पाएको छ भने नेकपा (एमाले)ले तीन लाख ८० हजार ९३२ मत प्राप्त गरेको छ। नेपाली कम्युनिस्ट पार्टीले एक लाख ८२ हजार ८३४ मत हासिल गरेको आयोगले जनाएको छ।