प्रतिनिधिसभा निर्वाचन
काठमाडौँ। प्रतिनिधिसभाको निर्वाचनमा अहिलेसम्म १५६ क्षेत्रको मतपरिणाम आइसकेको छ। अहिलेसम्म जित हासिल गर्ने ३० वर्षसम्मको उमेरसमूहबाट १२ जना विजयी भएका छन्।
जसमा सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट तीन महिलासहित ११ जना र श्रम संस्कृति पार्टीबाट एक जना छन्। २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित हुनेमा रास्वपातर्फबाट चितवन ३ बाट सोविता गौतम (३०), रुपन्देही २ बाट सुलभ खरेल (२८), झापा १ बाट निशा डाँगी (२९), नवलपुर २ बाट मनीष खनाल (२६), सिरहा १ बाट बब्लु गुप्ता (२८), सिरहा २ बाट शिवशंकर यादव (३०), काठमाडौँ ५ बाट सस्मित पोखरेल (२९), मकवानपुर २ बाट प्रशान्त उप्रेती (२५), सप्तरी २ बाट रामजी यादव (३०), कैलाली २ बाट केपी खनाल (२६) र काठमाडौँ १ बाट रञ्जु न्यौपाने (३०) छन्।
श्रम संस्कृति पार्टीका खोटाङ १ बाट आरेन राई (२९) छन्। हालसम्म रास्वपाले १२०, कांग्रेसले १७, एमालेले १०, नेपाली कम्युनिस्ट पार्टीले आठ, श्रम संस्कृति पार्टीले तीन, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक निर्वाचन क्षेत्रमा जित हात पारेका छन्। स्वतन्त्रबाट एक जना विजयी भएका छन्। अब नौ निर्वाचन क्षेत्रको मतपरिणाम आउन बाँकी छ।