नुवाकोट । नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा. विक्रम तिमिल्सिना विजयी भएका छन्।
तिमिल्सिनाले कुल २२ हजार ६०९ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले १८ हजार ५९७ मत प्राप्त गरे।
यो परिणामसँगै नुवाकोट–१ मा लामो समयदेखि प्रभाव कायम राख्दै आएको महत परिवारको राजनीतिक पकड कमजोर बनेको छ। यसअघि यस क्षेत्रलाई डा. रामशरण महत र उनका भाइ डा. प्रकाशशरण महतको बलियो आधार क्षेत्र मानिँदै आएको थियो।
निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीका हितबहादुर तामाङले १३ हजार ३७७ मत प्राप्त गरे भने नेकपा (एमाले)का उम्मेदवार बद्री मैनालीले ८ हजार ९३२ मत ल्याए। उज्यालो नेपाल पार्टीका उम्मेदवार अमित तामाङले २ हजार ६३ मत पाए।
यस निर्वाचन क्षेत्रमा कुल १८ जना उम्मेदवार प्रतिस्पर्धामा थिए। तीमध्ये अन्य सबै उम्मेदवारले एक हजारभन्दा कम मत प्राप्त गरेका छन्। राप्रपाकी बिमला थापाले ७५६ मत ल्याउँदा श्रम संस्कृति पार्टीका दावा फेन्जु लामाले २८८ मत पाए।
त्यसैगरी मङ्गोल नेशनल अर्गनाइजेशनका कुमार राना मगरले १५९, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महेन्द्र तामाङले १५६ र प्रगतिशील लोकतान्त्रिक पार्टीका राजन गौतमले ८८ मत प्राप्त गरे।
नेपाल मजदुर किसान पार्टीका रबिन्द्र डङ्गोलले ५०, जनता समाजवादी पार्टीका होमबहादुर राईले २४ तथा मितेरी पार्टी नेपालका बिवेक सिलवालले ६ मत प्राप्त गरेका सहायक निर्वाचन अधिकृत प्रमोद रिजालले जानकारी दिए।
स्वतन्त्र उम्मेदवारहरू संजिव गुरुङले ६३, राजु थापाले ४९ र चेपे तामाङले १४ मत प्राप्त गरेका छन्।