काठमाडौँ। सर्वोच्च अदालतले किशोरी साह कमलको मुद्दामा निर्वाचन आयोगले निर्णय गरेको सक्कल फाइल मगाउने आदेश गरेको छ। न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आयोगले उम्मेदवारी खारेज गर्ने सम्बन्धी निर्णयको फाइल मगाउने सोमबार आदेश गरेको हो।
धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रत्यक्षतर्फबाट उम्मेदवारी दिएका साहको कम्पनी कालोसूचीमा रहेको देखिएपछि निर्वाचन आयोगले उम्मेदवारी रद्द गरिदिएको थियो।
आयोगको निर्णयविरुद्ध उम्मेदवारी कायम हुनुपर्ने माग गर्दै साहले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए। सर्वोच्चले २९ फागुनमा पेसी तोक्ने गरी दुवै पक्षलाई छलफलमा बोलाएको छ।
उम्मेदवारी खारेजी भए पनि मतगणना गर्दा साह नै अगाडि देखिएका थिए। हाल त्यस क्षेत्रको मतगणना रोकिएको छ। आयोगले १८ फागुनमा उम्मेदवारी उद्द गर्ने निर्णय गरेको थियो।
