व्यवस्थापिका-संसद्
१७ वर्षपछि देशको संघीय संसद् भवन पुनः सिंहदरबार फर्किने तयारी
सिंहदरबारको ग्यालरी हलबाट सुरु भएको नेपालको संसदीय अभ्यास १७ वर्षपछि पुनः सिंहदरबारबाटै सञ्चालन हुँदै छ। २०६५ सालदेखि वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट सञ्चालन हुँदै आएको संघीय संसद् एकपल्ट फेरि सिंहदरबार सर्न लागेको हो।

वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र।
संविधानसभाको पहिलो निर्वाचनबाट चुनिएका ६०१ प्रतिनिधिलाई बस्ने ठाउँको अभाव भएपछि १७ वर्षअघि संघीय संसद् भवन नयाँ बानेश्वर सारिएको थियो। तर, जेन-जी आन्दोलनका कारण यहाँको अवस्था तहसनहस बनेको छ भने सिंहदरबारभित्र आधुनिक संघीय संसद् भवनको निर्माण भइरहेको छ। यसै सन्दर्भमा २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएर बैठक बस्ने तयारी भइरहँदा सबैको जिज्ञासा सिंहदरबारभित्र बन्दै गरेको अत्याधुनिक संसद् भवनतर्फ हुनु स्वाभाविक हो।
नेपालको संसदीय इतिहासको कुरा गर्दा सर्वप्रथम २०१६ सालमा सिंहदरबारभित्रै रहेको ग्यालरी बैठक हलमा प्रतिनिधिसभाको पहिलो अधिवेशन बसेको थियो। १६ असार २०१६ मा राति १२ बजेभन्दा अगाडिदेखि बिहान २ बजेसम्म बसेको बैठकको समुद्घाटन तत्कालीन राजा महेन्द्रले गरेका थिए। त्यतिबेला बैठकमा १०६ मध्ये १०५ सदस्य उपस्थित थिए।

सिंहदरबारस्थित ग्यालरी बैठक।
२०१७ सालमा राजा महेन्द्रले प्रजातान्त्रिक व्यवस्था ‘कु’ गरेपछि सिंहदरबारभित्र रहेको यही भवनबाट ३० वर्षे पञ्चायती व्यवस्था सञ्चालन भयो। २०४६ सालमा प्रजातन्त्र पुन:स्थापना भएपछि प्रतिनिधिसभाको निर्वाचन २०४८ सालमा भएको थियो। त्यसयता २०६५ सालसम्म सिंहदरबारको त्यही ग्यालरी बैठकबाट संसद्को कामकारबाही अगाडि बढ्यो।
२०६२/६३ मा नेकपा (माओवादी)ले हिंसात्मक राजनीति परित्याग गर्दा पनि यही ग्यालरी बैठकबाट मूलधारको राजनीतिमा प्रवेश गरेको थियो। त्यतिबेला संख्याको हिसाबले बैठक हल निकै सानो देखिएको थियो। अझ, संविधानसभाको पहिलो निर्वाचनबाट ६०१ जना प्रतिनिधि चुनिएर आएपछि अस्थायी रूपमा भए पनि संघीय संसद् भवन नयाँ बानेश्वर सार्नुपरेको थियो।
२०७२ सालको महाभूकम्पमा सिंहदरबारभित्र रहेको ग्यालरी बैठकमा ठूलो क्षति पुगेको थियो। त्यसपछि यहीँभित्र रहेको पुतली बगैँचा क्षेत्रमा अत्याधुनिक भवन निर्माण हुन लागेको हो।
