काठमाडौँ। चालु आर्थिक वर्ष ०८२/८३ को माघ मसान्तसम्ममा बाह्य क्षेत्र सकारात्मक अवस्थामा देखिएको छ। यो अवधिसम्ममा मुलुकको चालु खाता र शोधनान्तर उच्च बचतमा छ भने १८ महिनाको आयात धान्ने विदेशी मुद्रा सञ्चिति देखिएको छ।
नेपाल राष्ट्र बैंकले आज (बुधबार) सार्वजनिक गरेको चालु आव ०८२/८३ को माघ मसान्तसम्मको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु खाता चार खर्ब ९३ अर्ब ७८ करोड रुपैयाँले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ८४ अर्ब १४ करोड रुपैयाँले बचतमा थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ३७ करोडले बचतमा रहेको चालु खाता यस वर्ष तीन अर्ब ४७ करोडले बचतमा छ।
त्यस्तै गत माघ मसान्तसम्ममा खुद पुँजीगत ट्रान्सफर ११ अर्ब ४३ करोड रुपैयाँ छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर पाँच अर्ब ८३ करोड थियो। यसैगरी समीक्षा अवधिमा १० अर्ब २२ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी सात अर्ब ४३ करोड रुपैयाँ थियो। राष्ट्र बैंकका अनुसार यो अवधिमा शोधनान्तर स्थिति पाँच खर्ब ७२ अर्ब ७३ करोड रुपैयाँले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ८४ अर्ब ४१ करोडले बचतमा थियो।
गत असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति पछिल्लो सात महिनामा २३.३ प्रतिशतले वृद्धि भई ३३ खर्ब दुई अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकामा २०८२ माघ मसान्तमा १६.७ प्रतिशतले वृद्धि भई २२ अर्ब ७६ करोड पुगेको छ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकामा २०८२ माघ मसान्तमा २१.२ प्रतिशतले वृद्धि भई २९ खर्ब २६ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ। बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा दुई खर्ब ६३ अर्ब चार करोड रुपैयाँ रहेकामा २०८२ माघ मसान्तमा ४२.८ प्रतिशतले वद्धि भई तीन खर्ब ७५ अर्ब ६७ करोड रुपैयाँ कायम छ। गत माघ मसान्तसम्मको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.५ प्रतिशत छ।