काठमाडौँ। राजीव गुरुङ उर्फ दीपक मनाङे कारागारबाट रिहा भएका छन्। ज्यान मार्ने उद्योगमा जेल परेका मनाङे सजाय भुक्तान गरेर छुटेका हुन्।
काठमाडौँस्थित डिल्लीबजार कारागार प्रशासनका अनुसार मनाङे बुधबार दिउँसो ३ बजे आवश्यक प्रक्रिया पूरा गरी छुटेका हुन्।
३१ वैशाख २०६१ मा महाराजगन्जमा मिलन गुरुङ (चक्रे मिलन) माथि खुकुरी प्रहार गरेको अभियोग उनीमाथि लागेको थियो। सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले उनलाई पाँच वर्षको जेल सजाय सुनाएको थियो। उनी एक वर्ष सजायछुट पाएर जेलमुक्त भएका हुन्।
फैसला भएको ६० दिनभित्रै फैसला कार्यान्वयन भएको भन्दै काठमाडौँ जिल्ला अदालतले मनाङेलाई २० प्रतिशत कैद छुट दिएकाले उनी चाँडै जेलमुक्त भएका हुन्।