काठमाडौँ। परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा पाँच हजार नेपाली असुरक्षित रहेको जनाएको छ।
मन्त्रालयले बुधबार प्रेस ब्रिफिङको आयोजना गर्दै यसबारे जानकारी गराएको हो। ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले पश्चिम एसियामा नेपालीहरूको अवस्था अद्यावधिक विवरण संकलनका लागि कन्सुलर सेवा विभागले सञ्चालनमा ल्याएको अनलाइन दर्ता प्रणालीमा पाँच हजारभन्दा बढी नागरिकले आफ्नो अवस्था असुरक्षित रहेको जानकारी गराएको उल्लेख गरे।
यद्यपि पछिल्लो समयमा विवरण अद्यावधिक गर्दै केहीले आफू सुरक्षित रहेको जानकारीसमेत गराइसकेको उनको भनाइ छ।

परराष्ट्र मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङ। तस्बिर : नेपाल फोटो लाइब्रेरी
असुरक्षित रहेका नागरिकको सुरक्षाका लागि विदेशस्थित नियोगहरूसँग आवश्यक समन्वय भइरहेको उनको भनाइ छ। “पाँच हजारजनाले आफू असुरक्षित रहेको जानकारी गराउनुभएको छ। पछिल्लो समयमा भने असुरक्षित रहनेको संख्या कम हुँदै गएको छ‚” उनले भने‚ “अहिले उहाँहरूले नै अपडेट गरेर सुरक्षित रहेको बताउनुभएको छ। ट्रान्जिटमा रहेका नेपाली नागरिकहरुले अझ बढी असुरक्षित रहेको जानकारी गराउनुभएको हो। उहाँहरुको सुरक्षा तथा उद्धारका लागि सरकार लागि परेको छ।”
मध्यवपूर्वमा बढ्दो तनावको विषयमा अध्ययन गरी सरकारलाई सिफारिस गर्न गठित इमरजेन्सी रिस्पोन्स टिमले कार्यसम्पादन गरिरहेको पनि उनले जानकारी दिए।