काठमाडौँ
००:००:००
२४ जेष्ठ २०८३, आईतवार

२७ फाल्गुन २०८२
अ+
अ-

बुटवल। लुम्बिनी प्रदेशमा प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचित हुने महिलाको संख्या शुन्य रहेको छ।

लुम्बिनी प्रदेशका १२ जिल्लाका २६ निर्वाचन क्षेत्रबाट कोही पनि महिला निर्वाचित भएनन्। अघिल्ला निर्वाचनको मतपरिणामअनुसार ठूला मानिएका दल एमाले र कांग्रेस र नेकपाले १-१ निर्वाचन क्षेत्रमा महिला उम्मेदवार उठाएका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ महिलालाई टिकट दिएको थिएन।

कांग्रेसले रुकुम पूर्वमा केन्द्रीय सदस्य कुसुमदेवी थापालाई र एमालेले बर्दिया २ मा विमला विक र नेकपाले नवलपरासी बर्दघाट सुस्ता पश्चिम १ मा सिन्धु जलेसा बुढाथोकीलाई उम्मेदवार बनाएका थिए।

प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार लुम्बिनीका २६ निर्वाचन क्षेत्रमा ५९९ जनाले प्रत्यक्षतर्फ उम्मेदवारी दिएकामा ५६ जना मात्र महिला थिए।

यी ५६ मध्ये पनि केहीले पार्टीको निर्देशनबमोजिम त केहीले आफैँ उम्मेदवारी फिर्ता लिएका थिए। सबैभन्दा धेरै रुपन्देहीमा २१ जना महिलाले उम्मेदवारी दिएका थिए। तीमध्ये एक जनाको उम्मेदवारी खारेज भएको थियो भने एक जनाले फिर्ता लिएकी थिइन्।

पार्टीले टिकट नदिएपछि बाँके ३ मा भगवती शाहले एमाले त्यागेर स्वतन्त्र उम्मेदवारी दिएकी थिइन्। यस्तै, लुम्बिनी प्रदेशसभा सदस्यसमेत रहिसकेकी कृष्णा केसीले नेपाली कम्युनिस्ट पार्टी त्यागेर बाँके १ मा प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी दिएकी थिइन्। अर्घाखाँचीमा पम्फा श्रेष्ठले पनि स्वतन्त्र उम्मेदवारी दिएकी थिइन्। उनीहरु कोही पनि मुख्य प्रतिस्पर्धीका रुपमा अगाडि आउन सकेनन्।

महिला उम्मेदवारको संख्या कम देखिए पनि लुम्बिनी प्रदेशमा महिला मतदाताको संख्या भने कम छैन, पुरुष हाराहारी नै छ। प्रदेश निर्वाचन कार्यालयका अनुसार ३३ लाख ८६ हजार ६८० मतदातामध्ये १६ लाख ७१ हजार ४७९ जना महिला र १७ लाख १५ हजार १६३ जना पुरुष छन्।