काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल भारतको तीनदिने भ्रमण सकेर स्वदेश फर्किएका छन्।
स्वदेश फर्कने क्रममा सञ्चारकर्मीहरूसँग उनले भारत भ्रमणका क्रममा व्यापार तथा आर्थिक सहकार्य, कनेक्टिभिटी, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन तथा जनस्तरको सम्बन्ध विस्तारका विषयमा व्यापक छलफल भएको जानकारी दिए।
भ्रमणका क्रममा नेपाल-भारतबीच अन्तरदेशीय डिजिटल भुक्तानी प्रणाली सञ्चालन गर्ने सहमति भएको पनि उनले बताए। खनालले भारतको सहयोगमा भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत निर्माण गरिएका ८४ परियोजनाको भर्चुअल हस्तान्तरण गरिएको जानकारी दिए।
भाषा अनुवाद प्लेटफर्मसम्बन्धी डिजिटल पूर्वाधार विकासका लागि समेत समझदारीपत्रमा हस्ताक्षर भएको उनले बताए। झन्डै दुई वर्षदेखि रोकिएको उच्चस्तरीय भ्रमण अब पुनः सक्रिय हुने र आगामी केही महिनाभित्र दुवै देशबाट उच्चस्तरीय भ्रमण हुनसक्ने अपेक्षा रहेको खनालको भनाइ छ।
पत्रकारहरूको जिज्ञासाको जवाफ दिँदै मन्त्री खनालले लिपुलेक, कालापानीलगायत सीमासम्बन्धी विषयमा नेपालले कूटनीतिक माध्यमबाट आफ्नो धारणा राखिरहेको जानकारी दिए। उनले सीमा समस्याको समाधान तथ्य, प्रमाण र आपसी संवादका आधारमा खोजिने पनि बताए।
दुवै देशबीच भएका छलफल र सहमतिले नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै व्यापार, लगानी, ऊर्जा, पर्यटन र कनेक्टिभिटीका क्षेत्रमा परिणाममुखी सहकार्यका लागि आधार तयार भएको सरकारको विश्वास छ ।