बुटवल। लुम्बिनी प्रदेशमा प्रतिनिधि सभा सदस्य निर्वाचनमा १ लाख भन्दा बढी मत बदर भएको छ।
प्रदेश निर्वाचन कार्यालय दाङको तथ्यांक अनुसार १२ जिल्लाका २६ निर्वाचन क्षेत्रमा खसेको १९ लाख ५२ हजार ८ सय ६४ मतमध्ये १ लाख २ हजार ९ सय ५६ मत बदर भएको छ।
प्रदेश निर्वाचन कार्यालयका सूचनाका अधिकारी गेहेन्द्र कुँवरका अनुसार प्रदेशभरमा करिब ५.२७ प्रतिशत मत बदर भएको पाइएको छ । एउटै मत पत्रमा दुई वटा वा दुई भन्दा बढी मत सङ्केत गरेको पाइएको छ ।
आयोगको स्वीकृत कार्य तालिकाअनुसार फागुन ३ गतेदेखि प्रदेशका १२ जिल्लाअन्तर्गत रहेका सबै स्थानीय तहका वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको थियो ।
देशभरका ६ हजार ७४३ वटै वडामा एकैसाथ सञ्चालन गरिएको अभियान अन्तर्गत लुम्बिनी प्रदेशका सबै वडामा मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएका थिए ।
लुम्बिनी प्रदेशमा झन्डै ३४ लाख मतदाता छन् । १७ लाख १५ हजार १६३ जना पुरुष, १६ लाख ७१ हजार ४७९ जना महिला र अन्य मतदाता ३८ जना गरी कुल ३३ लाख ८६ हजार ६८० जना रहेका छन्।