आवरण
व्यावसायिक क्षेत्रबाट सांसदको प्रतिनिधित्वले कानुन निर्माणमा व्यावहारिक दृष्टिकोण आउने, अर्कातिर स्वार्थको द्वन्द्वको जोखिम
२१ फागुनमा भएको निर्वाचनबाट चुनिएका प्रत्यक्षतर्फका १६५ सांसदमध्ये व्यावसायिक पृष्ठभूमिबाट आएका ४० जना छन्। प्रत्यक्षतर्फ १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मात्रै ३५ जना सांसद व्यावसायिक पृष्ठभूमिका छन्। यस्तै, कांग्रेसबाट निर्वाचित १८ जनामध्ये चार जना व्यवसायमा जोडिएका छन्। यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट एक जना व्यावसायिक पृष्ठभूमिका छन्। नेकपा (एमाले) सहितका अन्य दलबाट जितेकाहरू व्यावसायिक पृष्ठभूमिका छैनन्।
यस पटकको संसदीय निर्वाचनले केवल राजनीतिक शक्ति सन्तुलन परिवर्तन गरेको छैन, संसद्मा भएको प्रतिनिधित्वले व्यवस्थापिकामा सामाजिक र पेसागत संरचनामा समेत उल्लेखनीय फेरबदल ल्याएको छ।
चुनावी नतिजामा रास्वपाको उभारसँगै संसद्मा प्रवेश गरेकाहरूको पृष्ठभूमि हेर्दा परम्परागत राजनीतिक दलहरूबाट आउनेजस्तो पूर्णकालीन राजनीतिक कार्यकर्ताभन्दा फरक सामाजिक संरचना देखिन्छ। यस पटक चुनाव जितेका सांसदहरू व्यवसायी, प्राविधिक, सामाजिक अभियन्ता, सञ्चारकर्मी र विभिन्न पेसागत क्षेत्रका छन्।
ठूला व्यवसायी हारे, मझौला व्यवसायी उदाए
विगतमा राजनीतिक दलका नेताहरूलाई प्रभावित गरेर उद्योगी-व्यवसायीहरूले चुनावमा टिकट लिएको र उनीहरूले ठूलो खर्च गरेर चुनाव जितेर आएको भनेर आलोचना हुने गरेको थियो। त्यसरी टिकट लिनेमा प्रतिष्ठित उद्योगी-व्यवसायीहरू हुन्थे। यस पटक पनि पुराना भनिएका दलहरूबाट ठूला व्यवसायीहरूले टिकट पाएका थिए। तर, उनीहरूले चुनाव जित्न सकेनन्।
उम्मेदवार बनेका ठूला व्यवसायीहरू लामो समयदेखि परम्परागत दलमा पकड जमाएर बसेका थिए। राजनीतिक गतिविधिमा उनीहरूको लगानी हुने गरेको थियो। चौधरी ग्रुपका प्रमुख तथा नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरी कहिले एमाले र कहिले कांग्रेसबाट सांसद भएका थिए। २०६४ सालको पहिलो संविधानसभा चुनावमा एमालेबाट समानुपातिक सभासद् बनेका उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट टिकट लिएर नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ मा निर्वाचित भएका थिए। यस पटक सोही क्षेत्रमा कांग्रेस उम्मेदवार बनेका उनी रास्वपाका विक्रम खनालबाट पराजित भए।
जगदम्बा इन्टरप्राइजेजका निर्देशक अनिलकुमार रूङ्गटा पर्सा १ मा कांग्रेसका उम्मेदवार थिए। उनले पनि जित्न सकेनन्। रुपन्देही २ मा कांग्रेसबाट उम्मेदवार भएका यशोदा फुड्स, सोना प्याकेजिङ तथा होटल स्याफ्रोनका अध्यक्ष चुन्नप्रसाद शर्मा पौडेलको पनि संसद् यात्रा रोकियो।
धादिङ २ मा कांग्रेसबाटै उम्मेदवार बनेका पर्यटन व्यवसायी एवं ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का पूर्वअध्यक्ष रमेशप्रसाद धमला, धनुषा २ मा व्यवसायी उमाशंकर अरगरिया, मोरङ २ मा उद्योगपति दिलीप अग्रवाल पराजित भए। २०७९ सालको चुनावमा मोरङ ३ मा जितेका मेडिकल व्यवसायी सुनिलकुमार शर्माले जित दोहोर्याउन सकेनन्।
कपिलवस्तु ३ मा उम्मेदवार भएका लुम्बिनी सुगर मिल्सका अध्यक्ष वीरेन्द्रप्रसाद कनौडियाको सांसद हुने धोको अधुरै रह्यो। उनी कांग्रेस छाडेर एमालेबाट उम्मेदवार भएका थिए। झापा ४ मा म्यानपावर व्यवसायी एलपी साँवा लिम्बू, स्याङ्जा १ मा पूर्वबैंकर मिनबहादुर गुरुङ, मनाङमा व्यवसायी छोपाङ गुरुङ र मोरङ ५ मा व्यवसायी मनोज अग्रवालले पनि पराजय भोगे।
बारा ४ मा उद्योगी किसान श्रेष्ठ, सिरहा ४ मा व्यवसायी वीरेन्द्रप्रसाद महतो, दोलखामा ऊर्जा व्यवसायी पार्वत गुरुङ, कैलाली ५ मा काठ व्यवसायी एवं पूर्वमन्त्री प्रेमबहादुर आले पनि यस पटक संसद् पुग्न पाएनन्। कैलाली २ मा कांग्रेसले उम्मेदवार बनाएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँर, राइड सेयरिङ एप पठाओका सञ्चालक असिममानसिंह बस्न्यात काठमाडौँ क्षेत्र नम्बर १ मा पराजित भए।
यस पटकको चुनावमा रास्वपाले पनि प्रत्यक्षतर्फ व्यावसायिक पृष्ठभूमिका धेरैलाई टिकट दिएको थियो। उनीहरूमध्ये सबैजसो उम्मेदवारले जितेका छन्। तर, उनीहरू राष्ट्रियस्तरमा छाएका प्रतिष्ठित व्यवसायीहरू होइनन्। रास्वपाबाट उम्मेदवार बनेर जित्नेहरू मझौला तहका उद्योगी-व्यवसायी हुन्।
यी हुन् रास्वपाका व्यावसायिक पृष्ठभूमिका सांसद
काठमाडौँ ९ मा निर्वाचित पूर्वमन्त्री एवम् रास्वपाका उपसभापति डोलप्रसाद अर्याल व्यावसायिक पृष्ठभूमिका हुन्। लामो समय जापान बसेर फर्किएपछि उनले पर्यटन, शिक्षा, वैदेशिक अध्ययन कन्सल्टेन्सी, सहकारी र रेमिटेन्स क्षेत्रमा लगानी गरेका थिए। उनले सुमेरु टुर्स एन्ड ट्राभल्स, योकोहामा जापानिज ल्याङ्ग्वेज एकेडेमी, हेम्स स्कुल, जनसागर बचत तथा ऋण सहकारी संस्था तथा इजिलिंक रेमिटेन्स कम्पनीमा लगानी गरेर नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी समानुपातिकबाट सांसद बनेका थिए।
चितवन १ बाट दोस्रो पटक चुनाव जितेका हरि ढकाल सेयर बजारका लगानीकर्ता हुन्। रुपन्देही १ बाट चुनाव जितेका सुनिल लम्सालले क्राउन डिजाइन एन्ड रिसर्च सेन्टर प्रालि सञ्चालन गरेका छन्।

चुनावी अभियानका क्रममा हरि ढकाल। तस्बिर : ढकालको फेसबुक पेज
अर्घाखाँची १ बाट विजयी हरिप्रसाद भुसाल अर्घाखाँची चेम्बर अफ कमर्सका महासचिव हुन्। मिडिया सञ्चालकसमेत रहेका उनले सन्धिखर्कमा आर्टस् व्यवसाय सञ्चालन गरेका छन्।
काभ्रे २ बाट निर्वाचित बदनकुमार भण्डारी इ–कमर्स व्यवसायी हुन्। उनले एबीजेड अनलाइन सपिङ सञ्चालन गरिरहेका छन्। उनले विगतमा नारी र गोपीकृष्ण टेलिभिजनमा स्टेसन म्यानेजर भएर काम गरेका थिए। उनी नेपाल राष्ट्रिय व्यवसायी महासंघको उपमहासचिव भएका थिए। एमालेबाट नेकपा (एकीकृत समाजवादी) हुँदै उनी रास्वपा प्रवेश गरेका हुन्।
काठमाडौँ क्षेत्र नम्बर २ बाट सांसद निर्वाचित सुनिल केसीको पनि व्यावसायिक पृष्ठभूमि छ। उनी केसी इन्टरप्राइजेजका सञ्चालक हुन्। २०७९ सालको प्रदेशसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट बागमतीका सांसद बनेका उनी प्रदेशसभा छोडेर यसपालि रास्वपाबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका थिए। यस्तै, भक्तपुर १ मा नेपाल मजदुर किसान पार्टीको गढ भत्काएर चुनाव जितेका रूकेश रन्जित भक्तपुर उद्योग वाणिज्य संघका महासचिव हुन्।
दोलखाबाट चुनाव जितेका जगदीश खरेल ऊर्जा व्यवसायी हुन्। भक्तपुरमा उनको माँ शक्ति इन्जिनियरिङ एन्ड हाइड्रोपावर प्रालि छ। यस कम्पनीले जलविद्युत् कम्पनीका लागि आवश्यक मेसिनरी निर्माण र मर्मतको काम गर्छ। सोलुखुम्बुमा निर्माण हुने क्रममा रहेको २४.८८ मेगावाटको लुजा खोला जलविद्युत् आयोजनाको प्रवर्द्धक सिल्क पावर प्रालिमा खरेलको संलग्नता छ।
उदयपुर १ बाट निर्वाचित पारशमणि गेलाल अटोमोबाइल्स व्यवसायी हुन्। रास्वपाको केन्द्रीय उद्योग तथा वाणिज्य विभागको सचिव रहेका उनले इटहरीलगायत विभिन्न ठाउँमा कार, जिपको खरिद-बिक्री व्यवसाय गर्दै आएका छन्।
सुर्खेत २ बाट विजयी रमेशकुमार सापकोटा यातायात मजदुर हुँदै व्यवसायी बनेका हुन्। अहिले उनी काँक्रेबिहार यातायात प्रालिका अध्यक्ष तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कर्णाली प्रदेशका संयोजक छन्।

चुनावी अभियानका क्रममा सुर्खेत २ मा रमेशकुमार सापकोटा। तस्बिर : सापकोटाको फेसबुक
मकवानपुर २ बाट सांसद बनेका प्रशान्त उप्रेती पर्यटन व्यवसायी हुन्। पर्यटन विषय नै अध्ययन गरेका उनले काठमाडौँमा ट्राभल एन्ड टुर्स कम्पनी चलाउँछन्। उनका बुवा रामचन्द्र उप्रेतीले मकवानपुरको मनहरीमा युनाइटेड सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुल चलाउँछन् भने उद्योग वाणिज्य संघ पश्चिम क्षेत्रीय समितिका उपाध्यक्ष पनि छन्।
स्याङ्जा १ बाट निर्वाचित धनञ्जय रेग्मी पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत हुन्। महाराजगन्जमा उनको मण्डला नोर्लिङ लर्डस् होटल छ। उनले माइक्रो हाइड्रोमा लगानी गरेका छन् भने टोयोटा ब्रान्डको गाडीका विक्रेता पनि हुन्। यस्तै, उनी हिमालयन रिसर्च सेन्टरमार्फत अनुसन्धान र ट्राभल एन्ड टुर्सको काम गर्छन्। पर्यटन बोर्डको सीईओ हुँदा कात्तिक २०७८ मा लन्डनबाट फर्कने क्रममा मदिरा पिएर मातेका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कर्मचारीलाई हातपात गरेका थिए। उनलाई पर्यटन मन्त्रालयले स्पष्टीकरण सोधेर कारबाहीस्वरूप पाँच हजार रुपैयाँ जरिवाना गराएको थियो।
स्याङ्जा २ बाट चुनाव जितेका झविलाल डुम्रे इन्टरनेट सेवाप्रदायक हुन्। उनले कास्की, पर्वत, स्याङ्जा, तनहुँ, दाङ र रोल्पामा टिपी लिंक नेटवर्क प्रालिमार्फत इन्टरनेट सेवाको व्यवसाय गरिरहेका छन् भने पोखरामा टिपी लिंक ट्रेडर्समार्फत सीसीटीभी, राउटर, कम्प्युटर, प्रिन्टरलगायत सामग्रीको व्यापार गर्छन्।
सर्लाही १ बाट चुनाव जितेकी नीतिमा भण्डारी कार्की चर्चित रेस्टुरेन्ट ‘बाजेको सेकुवा’ की महानिर्देशक हुन्।

घरदैलो अभियानका क्रममा नीतिमा भण्डारी कार्की।
धनुषा ३ बाट निर्वाचित रास्वपाका प्रवक्ता मनीष झा डेटा इन नेपाल नामक अनुसन्धानमूलक संस्था चलाउँछन्।
त्यसैगरी, बारा ३ बाट निर्वाचित अरबिन्द साहले केही साथीसँग मिलेर ‘जानकी टेक्नोलोजी’ नामक कम्पनी स्थापना गरेका थिए। विगत १५ वर्षदेखि सूचना-प्रविधि क्षेत्रमा काम गर्दै आएको उक्त कम्पनीले ‘स्प्यारो एसएमएस’ सेवा प्रदान गर्दै आएको छ। उनीहरूले खल्ती एपमार्फत डिजिटल सेवाप्रदायकको काम सुरु गरेका थिए। गत साउनमा खल्ती एप आईएमई-पेसँग गाभिएको छ। बारा ४ बाट जितेका रहबर अन्सारीले वीरगन्जमा बुवाले खोलेको गण्डक अस्पतालमा प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका थिए।
सर्लाही ३ बाट विजयी नरेन्द्र साह कलवार निर्माण व्यवसायी हुन्। २०७९ सालको प्रतिनिधिसभा चुनावमा सोही क्षेत्रमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार भएका उनी पराजित भएका थिए। यस पटक उम्मेदवार मनोनयनको अघिल्लो दिन माओवादीबाट रास्वपा प्रवेश गरेर उनले टिकट लिएका हुन्।
पर्सा १ बाट जितेका बुद्धिप्रसाद पन्त होटल तथा पर्यटन व्यवसायी हुन्। उनले वीरगन्जमा क्लासिक र कन्ट्री इन होटल सञ्चालन गर्दै आएका छन्। यसअघि होटल तथा पर्यटन व्यवसायी संघ, पर्साका अध्यक्ष भइसकेका पन्त उद्योग वाणिज्य संघको कार्यसमितिका सदस्य तथा होटल-पर्यटन समितिका उपसंयोजक छन्।
महोत्तरी १ बाट निर्वाचित प्रमोदकुमार महतो व्यापार, कृषि र राजनीतिमा एकसाथ सक्रिय छन्। सप्तरी २ बाट जितेका रामजी यादव इजिवर्ल्ड इन्जिनियरिङ प्रालिका प्रबन्ध निर्देशकका रूपमा सात वर्षयता काम गरिरहेका छन्।
पाल्पा २ मा विजयी भएका माधवबहादुर थापाको बुटवलमा होमियोप्याथी सेवा सञ्चालनमा छ।
सिन्धुपाल्चोक १ बाट जितेका भरतप्रसाद पराजुली जलविद्युत् व्यवसायी हुन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का केन्द्रीय कार्यसमिति सदस्य रहेका पराजुली सिन्धुपाल्चोकमा निर्माणाधीन ४५ मेगावाटको ब्रह्मायणी जलविद्युत् आयोजनाका अध्यक्ष हुन्। उनीसँग जलविद्युत् कम्पनीहरूमा विस्फोटक पदार्थ आपूर्ति गराइने इजाजत पनि छ। उनी एकीकृत व्यापार कम्पनीमार्फत निर्माणाधीन जलविद्युत् कम्पनीहरूलाई आवश्यक विस्फोटक पदार्थ उपलब्ध गराउँछन्। उनी विगतमा सिन्धुपाल्चोक र डोल्पामा खानेपानी र सरसफाइ परियोजना चलाउने गैरसरकारी संस्थाका सञ्चालक थिए।
कैलाली १ बाट सांसद बनेकी कोमल ज्ञवाली पाँच वर्षदेखि काठमाडौँ र कैलालीमा कृषि उपकरण तथा बीउबिजन बिक्रीको काम गरिरहेकी छन्।
सिन्धुली १ बाट जितेका धनेन्द्र कार्की यातायात व्यवसायी हुन्।
बर्दिया २ बाट निर्वाचित श्रीधर पोखरेल पर्यटन व्यवसायी हुन्। उनी बर्दियाको ठाकुरद्वारामा रहेको रेसिसेड रिसोर्ट नेपाल र काठमाडौँमा रहेको सेक्रेट नेपाल टुर्स एन्ड ट्राभल्सका संस्थापक सञ्चालक हुन्।
मोरङ २ मा विजयी कृष्णकुमार कार्की करिब १२ वर्ष जापान बसेर नेपाल फर्किएका हुन्। विदेश बसाइँ बिट मारेर फर्किएपछि उनले काठमाडौँमा होटल व्यवसाय सुरु गरेका थिए।
बाग्लुङ १ बाट सांसद बनेका सुशील खड्का १२ वर्षयता व्यवसाय, हरित उद्यम र सामाजिक सेवामा सक्रिय छन्। उनले रेस्टुरेन्ट, व्यावसायिक खेती, फोहोरमैला व्यवस्थापन तथा हरित लगानीसम्बन्धी उद्यम सञ्चालन गर्दै आएका छन्। उनले श्रीमती सिलसिला आचार्यसँग मिलेर ‘अभ्नी भेन्चर्स’ मार्फत देशकै ठूलो प्लास्टिक रिसाइक्लिङ सञ्जाल सञ्चालन गरिरहेका छन्।
यसअघि व्यावसायिक पृष्ठभूमिका व्यक्तिहरू सांसद हुँदा संसदीय समितिमार्फत आफ्नो स्वार्थप्रेरित नीति निर्माणमा ‘लबिइङ’ गरेको भनेर आलोचना हुने गरेको थियो। नीति निर्माणमा निजी हित र सार्वजनिक हितका बीच स्वार्थको द्वन्द्व उत्पन्न हुने सम्भावना पनि उत्तिकै हुन्छ।
बागलुङ २ बाट निर्वाचित सोम शर्मा केही समयअघिसम्म कम्प्युटर मर्मत गर्ने संस्था इ–सपमा प्रमुख कम्प्युटर टेक्निसियन थिए भने कोरोना एकेडेमीमा कम्प्युटर शिक्षकका रूपमा पनि काम गरेका थिए। चुनावअघिसम्म उनी मेगा कम्प्युटर होमका सञ्चालक र शुभ विजया कृषि कम्पनीमा व्यावसायिक सम्बन्ध प्रबन्धकको जिम्मेवारीमा थिए।
कैलाली २ बाट जितेका २६ वर्षीय केपी खनालले काठमाडौँमा चियादानी नामको व्यवसाय चलाउँदै आएका छन्।
कांग्रेसमा पनि
कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार भएका धेरैजसो व्यवसायीले यस पटक चुनाव जित्न सकेनन्। कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट मात्रै जितेको छ। त्यसमध्ये चार जना व्यवसायी सांसद बनेका छन्।
सुर्खेत १ बाट जितेका विष्णुबहादुर खड्का यातायात व्यवसायी हुन्। उनी सुर्खेतमा मध्यपश्चिम यातायात व्यवसायी संघका संस्थापक हुन्। मध्यपश्चिम यातायात प्रालिका अध्यक्ष रहेका खड्काले विगत २३ वर्षदेखि यातायातसम्बन्धी संस्थाको नेतृत्वमा रहेर काम गर्दै आएका छन्। यातायात व्यवसायी राष्ट्रिय महासंघको केन्द्रीय उपाध्यक्षसमेत भएका उनले यातायात, अस्पताल, पेट्रोल पम्प, औषधी डिलरलगायत क्षेत्रमा लगानी गरेका छन्। उनी कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काका भाइ हुन्।

सुर्खेतमा १ मा विष्णुबहादुर खड्काको चुनावी अभियान।
सोलुखुम्बुबाट सांसद निर्वाचित प्रकाशसिंह कार्की पर्यटन व्यवसायमा आबद्ध छन्। उनी नेपाल फ्रेट फर्वार्ड एसोसिएसनका अध्यक्ष र नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य भएका थिए। त्यसैगरी, रसुवाबाट चुनाव जितेका मोहन आचार्य निर्माण व्यवसायी हुन्।
व्यावसायिक पृष्ठभूमिबाट आएका व्यक्तिबाट हुन सक्ने स्वार्थको द्वन्द्व रोक्न सरकारले सुरुमै आचारसंहिता बनाउनुपर्ने अर्थशास्त्री केशव आचार्य बताउँछन्।
मनाङ १ बाट निर्वाचित टेकबहादुर गुरुङ विवादास्पद व्यवसायी हुन्। समाज कल्याण परिषद्को स्वामित्वमा रहेको काठमाडौँको भृकुटीमण्डपस्थित जग्गा भाडा प्रकरणमा उनी मुछिएका थिए। विशेष अदालतले १६ फागुन २०७९ मा उनलाई दोषी ठहर गर्दै जरिवाना हुने फैसला सुनाएको थियो। अभियोगअनुसार उनलाई सजाय कम भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असार २०८१ मा सर्वोच्च अदालतमा पुनरवलोकनको निवेदन दायर गरेको छ।
नेकपाबाट डोल्पामा निर्वाचित धनबहादुर बुढा पर्यटन उद्यमी र निर्माण व्यवसायी हुन्। उनले २०७० सालको संविधानसभा चुनावयता लगातार चुनाव जित्दै आएका छन्।
स्वार्थको द्वन्द्व
संसद्मा व्यावसायिक पृष्ठभूमिका व्यक्तिको उपस्थिति हुँदा नीति तथा कानुन निर्माणमा निजी क्षेत्रको अनुभव र उद्यमशीलताको दृष्टिकोणलाई समेट्ने अवसर हुन्छ। आर्थिक नीति, लगानी वातावरण, डिजिटल अर्थतन्त्र र उद्यम प्रवर्द्धनजस्ता विषयमा संसद्मा व्यावहारिक दृष्टिकोण आउन सक्छ। तर, यसअघि व्यावसायिक पृष्ठभूमिका व्यक्तिहरू सांसद हुँदा संसदीय समितिमार्फत आफ्नो स्वार्थप्रेरित नीति निर्माणमा ‘लबिइङ’ गरेको भनेर आलोचना हुने गरेको थियो। नीति निर्माणमा निजी हित र सार्वजनिक हितका बीच स्वार्थको द्वन्द्व उत्पन्न हुने सम्भावना पनि उत्तिकै हुन्छ। जसले पारदर्शिता र उत्तरदायित्वका विषयमा गम्भीर प्रश्न उठ्न सक्छ।
२०७० सालको संविधानसभा चुनावमा एमालेले समानुपातिकतर्फबाट सांसद बनाएका इच्छाराज तामाङ प्रतिनिधिसभाको अर्थ समितिका सदस्य भएका थिए। त्यसबेला उनी तत्कालीन सिभिल बैंकका सञ्चालक थिए। अर्थ समितिले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन संशोधनका लागि छलफल गरेको थियो। बैंकको सञ्चालक नै बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन बनाउने समितिको सदस्य हुँदा स्वार्थको द्वन्द्व हुने भनेर आलोचना भएको थियो।
समानुपातिक सांसद रहेका व्यवसायी उमेश श्रेष्ठ प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा १० साउन २०७८ मा स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका थिए। उनको शैक्षिक र स्वास्थ्य संस्था, बैंक, जलविद्युत्, कृषि र पर्यटन क्षेत्रमा लगानी थियो। उनलाई सांसद र मन्त्री बनाउँदा स्वार्थको द्वन्द्व हुने भन्दै सार्वजनिक वृत्तमा आलोचना भएको थियो।
व्यावसायिक पृष्ठभूमिबाट आएका व्यक्तिबाट हुन सक्ने स्वार्थको द्वन्द्व रोक्न सरकारले सुरुमै आचारसंहिता बनाउनुपर्ने अर्थशास्त्री केशव आचार्य बताउँछन्। अर्थ मन्त्रालयको आर्थिक सल्लाहकार भएर काम गरिसकेका उनी भन्छन्, “आफ्नो व्यवसायसँग जोडिएको जिम्मेवारीमा सांसद रहन नपाउने व्यवस्था गरिनुपर्छ।”
पूर्वमहान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ पनि जिम्मेवार पदमा जाने व्यक्तिले आफ्नो पृष्ठभूमि र संलग्नता विचार गरेर मात्रै जिम्मेवारी लिनुपर्ने बताउँछन्।
आचार्यका अनुसार शैक्षिक क्षेत्रमा लगानी गरेको व्यक्ति शिक्षा समितिमा, म्यानपावर कम्पनी चलाएर आएकाले श्रम समितिमा र अस्पतालमा लगानी हुनेले स्वास्थ्य समितिमा रहन नपाउने गरी आचारसंहिता बनाउनुपर्छ। सांसदलाई पनि आफू संलग्न रहेको व्यावसायिक क्षेत्रको पहिचान खुलाउन लगाउँदा स्वार्थको द्वन्द्व हुने जोखिम रोक्न सकिन्छ।
पूर्वमहान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ पनि जिम्मेवार पदमा जाने व्यक्तिले आफ्नो पृष्ठभूमि र संलग्नता विचार गरेर मात्रै जिम्मेवारी लिनुपर्ने बताउँछन्। “एउटै व्यक्ति सबै विषयको जानकार हुने विगतको अभ्यास थियो, त्यसलाई नयाँले चिर्न सक्नुपर्छ। स्वार्थको द्वन्द्व हुने जिम्मेवारीबाट आफैँ पन्छिनुपर्छ,” उनी भन्छन्।
विविध आयाम
यस पटकको चुनावबाट व्यावसायिक पृष्ठभूमिका साथै विविध क्षेत्रका व्यक्तिहरू संसद् प्रवेश गर्दै छन्। तनहुँ १ बाट निर्वाचित रास्वपाका उपसभापति स्वर्णिम वाग्ले ‘ग्लोबल एक्स्पोजर’ को छवि बनाएका सांसद हुन्। लन्डन स्कुल अफ इकोनोमिक्स, हार्भर्ड र अस्ट्रेलियन नेसनल युनिभर्सिटीमा पढेका उनले यूएनडीपी र विश्व बैंकमा काम गरेका छन्। यसका साथै राष्ट्रिय योजना आयोगको सदस्य हुँदै उपाध्यक्षसम्म भएर काम गरेको अनुभव उनीसँग छ। अर्थ-राजनीतिज्ञ वाग्ले २०८० सालको उपनिर्वाचनमा तनहुँ १ बाटै सांसद भएर छोटो समय काम गरेका थिए।
प्युठान १ बाट चुनाव जितेका रास्वपाका सुशान्त वैदिक प्रतिस्पर्धात्मक नीति, आर्थिक मोडलिङ, विकास अर्थशास्त्र र लगानी विश्लेषणमा दक्ष मानिन्छन्।
रास्वपाबाट चुनाव जितेकामध्ये कतिपय कानुन पृष्ठभूमिका छन्। चितवन ३ बाट जितेकी सोविता गौतम कानुन पृष्ठभूमिबाट आएकी सांसद हुन्। रुपन्देही २ का सुलभ खरेल पनि कानुन व्यवसायी हुन्। नेपालमै कानुन अध्ययन गरेका उनले अमेरिकाबाट संवैधानिक कानुनमा एकवर्षे स्नातकोत्तर गरेका छन्। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ बाट जितेका मनीष खनाल पनि कानुन पृष्ठभूमिका हुन्। उनले नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गरेका छन्। मोरङ १ बाट जितेका यज्ञमणि न्यौपाने पनि कानुन पृष्ठभूमिका हुन्।
रास्वपाबाट सांसद बन्नेहरूमा पत्रकारिता र सञ्चार क्षेत्रबाट आएका व्यक्तिहरूको पनि उपस्थिति छ। रवि लामिछाने, जगदीश खरेल, निशा डाँगी, राजीव खत्री, प्रकाश पाठक, उत्तम पौडेललगायत व्यक्तिहरू पत्रकारिता वा सञ्चार कर्मको पृष्ठभूमिबाट राजनीतिमा आएका हुन्। सञ्चार क्षेत्रबाट आएका व्यक्तिहरूले सार्वजनिक बहस, पारदर्शिता र सूचना प्रवाहमा संसद्लाई थप सक्रिय बनाउन सक्छन्।
रास्वपाबाट जितेका सांसदमध्ये शिक्षण तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरू पनि छन्। शिक्षा क्षेत्रमा काम गरेका शिशिर खनाल, देवचुली क्याम्पसका पूर्वप्रमुख राजन गौतम, सामाजिक संस्थाहरूमा सक्रिय बिना गुरुङ, गैरसरकारी क्षेत्रमा लामो समय काम गरेका बोधनारायण श्रेष्ठलगायत संसद् पुगेका छन्।
पूर्वमहान्यायाधिवक्ता श्रेष्ठ चुनिएर आएका सांसद विविध पृष्ठभूमिका र कानुन निर्माणमा अनुभव नभएका व्यक्तिहरू भएकाले उनीहरूलाई सम्बन्धित दलले कानुन निर्माणको प्रक्रियाबारे प्रशिक्षित गर्नुपर्ने बताउँछन्। भन्छन्, “जिम्मेवार पदमा पुगेका व्यक्ति आफैँले पनि आफ्नो भूमिकाबारे थाहा पाउनुपर्छ र त्यसैअनुसार तयारी गर्नुपर्छ।”