काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

२७ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार आजै समानुपातिकतर्फको मतगणना सम्पन्न हुने अपेक्षा गरिएको छ।

बिहान ७ बजेसम्मको अद्यावधिक विवरणअनुसार हालसम्म १ करोड ७ लाख ३० हजार ५५१ मत गणना भइसकेको छ। गणना भएका मतमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा अगाडि देखिएको छ। रास्वपाले ५१ लाख ३५ हजार ६२१ मत प्राप्त गर्दै कुल गणना भएको मतको ४७.९ प्रतिशत हिस्सा सुरक्षित गरेको छ।

दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ। कांग्रेसले १७ लाख ४७ हजार ७३७ मत अर्थात् १६.३ प्रतिशत मत प्राप्त गरेको छ। तेस्रो स्थानमा नेकपा (एमाले) रहेको छ, जसले १४ लाख ४८ हजार ३७८ मत अर्थात् १३.५ प्रतिशत मत प्राप्त गरेको छ।

यसैगरी नेपाल कम्युनिष्ट पार्टीले ८ लाख ३ हजार ६२७ मत अर्थात् ७.५ प्रतिशत मत पाएको छ। श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ५८७ मत (३.५ प्रतिशत) प्राप्त गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ लाख २९ हजार ४८७ मत अर्थात् ३.१ प्रतिशत मत हासिल गरेको छ।

निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ कुल १ करोड ९ लाख ७७ हजार ७११ मत खसेको छ। अन्तिम मतपरिणाम सार्वजनिक हुन अब केही समय मात्रै बाँकी रहेको आयोगले जनाएको छ।