काठमाडौँ। राष्ट्रिय महिला आयोग र राष्ट्रिय दलित आयोगले इनिसा विकको हत्यामा संलग्न दोषीलाई कडा कारबाही गर्न, पीडितलाई न्याय प्रदान गर्न र कानुन कार्यान्वयन गर्ने निकायलाई जवाफदेही बनाउन सम्बन्धित सबै पक्षसमक्ष आग्रह गरेका छन्।
दुवै आयोगले आज संयुक्त विज्ञप्ति जारी गरी घटनाका दोषीलाई कडा कारबाही गरी पीडितलाई न्याय दिन र पीडित परिवारलाई सुरक्षा व्यवस्था गरी उचित क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरेका हुन्।
त्यसका साथै आयोगले रौतहट र पर्सासहित देशका विभिन्न भागमा महिला, दलित र किशोरीमाथि भइरहेका हिंसा र विभेदका घटनाको समेत गम्भीर छानबिन गर्नुपर्नेमा जोड दिएको छ। सुर्खेतस्थित गुर्भाकोट नगरपालिका-६, बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर-१ मा बस्दै आएकी १६ वर्षीया इनिसा आइतबार बिहान वीरेन्द्रनगर-४, सहिद पार्क नजिकको जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन्।
उनलाई प्रहरीले प्रदेश अस्पताल कालागाउँमा पुर्याएकामा चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकका आफन्तहरूले सामूहिक बलात्कार भएको भन्दै फागुन २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएको थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानले इनिसाको बलात्कारपछि मृत्यु भएको देखाएको छ।
सो घटनामा सुर्खेत प्रहरीले चार जनालाई पक्राउसमेत गरेको छ। आयोगले मानव सभ्यतालाई नै चुनौती दिने गरी भएको यो विभत्स घटनाप्रति दुःख व्यक्त पनि व्यक्त गरेका छन्।