काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

२ असार २०८३
अ+
अ-

काठमाडौँ। स्वास्थ्य बिमा बोर्डले देशका विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई बिमा भुक्तानीका लागि थप ९१ करोड १८ लाख ९४ हजार रुपैयाँ भुक्तानी प्रक्रिया अगाडि बढाएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बिमा तथा विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत बाँकी दायित्व भुक्तानीलाई प्राथमिकतामा राख्दै रकम निकासा सहजीकरण गरिरहेको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार यसअघि गत जेठको दोस्रो साता स्वास्थ्य बिमा दाबीबापत एक अर्ब तीन करोड २४ लाख ७७ हजार रुपैयाँ भुक्तानी गरिएको थियो। उनका अनुसार गत २१ जेठमा विपन्न नागरिकको औषधि उपचार खर्चबापत ३२ करोड १३ लाख ६ हजार रुपैयाँ निकासा गरिएकामा २७ जेठमा थप २७ करोड ३७ लाख ७८ हजार रुपैयाँ भुक्तानी गरियो।

गत मंसिरसम्मको बिमा दाबीमध्ये भुक्तानी दिन बाँकी सात अर्ब र पुसदेखि असारसम्मको साढे १४ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान छ।

सहप्रवक्ता अधिकारीका अनुसार सरकारले विगतका वर्षदेखि बाँकी रहेको बिमा दाबी तथा विपन्न नागरिकको औषधि उपचारसम्बन्धी रकम भुक्तानीलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक स्रोत व्यवस्थापन र भुक्तानी प्रक्रियालाई तीव्रता दिएको छ।