काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न निर्वाचनमा आफ्नो पार्टीले आशा गरेजस्तो नतिजा नपाएको स्वीकार गरेका छन्। उनले जनताको निर्णयलाई पूर्ण सम्मान गर्दै, पार्टीको दृष्टिकोण स्पष्ट पारेका छन्।
ओलीले फेसबुक पोस्टमार्फत लेखेका छन्, “हाम्रो पार्टीले अपेक्षित परिणाम हासिल गर्न सकेन। लोकतन्त्रमा अन्तिम निर्णय जनताको हुन्छ, र त्यस निर्णयको सम्मान गर्नु मेरो र हाम्रो पार्टीको कर्तव्य हो।”
उनको यस अभिव्यक्तिले आगामी दिनमा एमालेको रणनीति र आन्तरिक समीक्षा प्रक्रियामा ध्यान केन्द्रित हुने संकेत दिएको छ।
फेसबुकमा ओलीले लेखेको यस्तो छ :
दिदीबहिनी तथा दाजुभाइहरू,
यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ। हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन। लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु।
यस कठिन घडीमा पनि सूर्य चिन्हमा मतदान गरेर हाम्रो पक्षमा उभिनुहुने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति म हार्दिक धन्यवाद व्यक्त गर्दछु। तपाईँहरूको विश्वास नै हाम्रो शक्ति हो। तपाईँहरूको साथ नै हाम्रो ताकत हो।
निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन। तर जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवा भाव कत्ति पनि कमजोर भएको छैन।
हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ, र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ।
मत दिनुहुने, साथ दिनुहुने, विश्वास राख्नुहुने सबैमा हृदयदेखि धन्यवाद।