बुटवल। कपिलवस्तुमा बोक्सीको आरोपमा दुर्व्यवहार गरेको अभियोगमा दुई जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
वाणगंगा नगरपालिका-१ उप्टाहाकी ५७ वर्षीया लीलाकुमारी श्रेष्ठलाई बोक्सीको आरोप लगाएर दुर्व्यवहार गर्ने स्थानीय ५१ वर्षीया हुमकुमारी झेडीमगर र उनकी २१ वर्षीया छोरी खगिसरा झेडीमगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार उनीहरूले श्रेष्ठलाई बोक्सीको आरोप लगाउँदै आगोको अगुल्टोले शरीरका विभिन्न भागमा हिर्काएका थिए।
पक्राउ परेका आमाछोरीविरुद्ध बोक्सी आरोपसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिए। अनुसन्धानका लागि सात दिनको म्याद थप गरिएको उनले बताए।
