काठमाडौँ। एसियाली खेलकुदको पौडी खेलाडी छनोटमा असहमति जनाउँदै खेलाडीहरू सर्वोच्च अदालत पुगेका छन्।
पौडी खेलाडी इर्भिन श्रेष्ठ, मेधावी केसी र निर्णय थापाले आफूहरूलाई मौका नदिई नेपाल पौडी संघले आफूखुसी खेलाडी छनोट गरेको भन्दै सर्वोच्चमा रिट दायर गरेको जनाए। नेपाल पौडी संघ, नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुदलाई विपक्षी बनाएर रिट दायर गरिएको रिटमा अदालतले ३ असारका लागि छलफलमा बोलाएको पौडी खेलाडी मेधावी केसीले जानकारी दिइन्।
काठमाडौँमा मंगलबार पत्रकार सम्मेलन गर्दै पौडी खेलाडीहरूले संघद्वारा सञ्चालन गरिएको आयची नागोया एसियाली खेलकुद २०२६ को प्रारम्भिक छनोट प्रक्रिया सम्बन्धमा गम्भीर असन्तुष्टि रहेकाले अदालत जानुपरेको जनाएका छन्।
हाल सम्पन्न प्रारम्भिक छनोट प्रक्रियामा अपनाइएका केही निर्णय, मूल्यांकनका आधार तथा छनोटको समग्र प्रक्रियाले धेरै खेलाडीमा प्रश्न उठाएको अवस्था रहेको खेलाडी केसीको भनाइ छ। नेपालको पौडी खेलको विकास, खेलाडीको हकहितको संरक्षण तथा भविष्यमा अझ निष्पक्ष र विश्वसनीय छनोट प्रणाली सुनिश्चित गर्नुपर्ने आफूहरूको माग रहेको उनको भनाइ छ।
त्यस्तै पौडी खेलाडी इर्भिन श्रेष्ठले एसियाली खेलकुदको पौडी खेलाडी छनोट व्यहारिक नभएको गुनासो गरे।
एसियाली खेलकुदको पौडी खेलाडी छनोट जारी रहँदा प्रतिस्पर्धाको बीचमा छनोटको मापदण्ड र नियम परिवर्तनप्रति उनीहरूले असहमति जनाएका छन्।