काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

आवरण

विस्मृतिमा ७५ जनाभन्दा बढी फुटबलप्रेमी दर्शकहरूको निधन भएको ३८ वर्षअघि (आजकै दिन)को एसियाकै कहालीलाग्दो दुर्घटना

२९ फाल्गुन २०८२
घटनास्थल दशरथ रंगशाला। तस्बिर : मीनरत्न बज्राचार्य
अ+
अ-

फागुन महिना, धुम्मिएको, पानी पर्ला पर्ला जस्तो मौसम।

काठमाडौँ, त्रिपुरेश्वरका केही स्थानीयवासीलाई फागुनको यस्तो मौसमले जहिल्यै तर्साउँछ। बिर्सन नसकिएको कहालीलाग्दो घटनाले ऐंठन पार्छ, त्रासको आँधीहुरी चल्न थाल्छ।

आकाशमा कालो बादल लागेको दिन त्रिपुरेश्वरकी ६६ वर्षीया भगवती लुइँटेल अझै पनि छोरा विनोदलाई भन्ने गर्छिन्, “रंगशालातिर नजानू।”

भगवतीलाई आज पनि लाग्छ, त्यो दिन उनले श्रीमान्‌‌लाई पनि रंगशाला नजानू भनेको भए…! त्यो दिन अर्थात् २९ फागुन २०४४, शनिबार।

त्यतिबेला २८ वर्षकी मात्र रहेकी भगवतीले यत्ति चाहिँ भनेकी थिइन्, “चिया खाएर जानू।”

बिदुला मिश्र (बायाँ) र विनोद लुइँटेल। तस्बिर : बिक्रम राई

जवाफमा श्रीमान् कपिल शर्मा (बोलाउने नाम कालुप्रसाद लुइँटेल)ले भनेका थिए, “चिया खान थाल्यो भने फुटबल छुट्छ।”

त्यस दिन रंगशालामा त्रिभुवन च्यालेन्ज सिल्ड कपको फाइनल थियो। उपाधि प्रतिस्पर्धामा थिए, जनकपुर चुरोट कारखाना (जचुका) र बाङ्लादेशको मुक्तिजोद्धा क्लब।

खेल चल्दाचल्दै असिनापानीसहितको हुरीबतास चल्यो। त्यसपछि मैदानमा भागदौड मच्चियो। ७५ भन्दा बढी दर्शकको ज्यान गयो। भगवतीका श्रीमान् तिनैमध्ये एक थिए, जसको खुट्टाको प्लास्टर खोलेको तीन दिन मात्रै बितेको थियो। श्रीमान्‌को खुट्टा बलियो भएको भए बाँची पो हाल्थे कि भनेर अहिले पनि उनलाई थकथकी हुन्छ।

“आमा अझै मलाई रंगशालातिर नजानू भन्नुहुन्छ। फागुनमा त झन् बढी चिन्ता गर्नुहुन्छ,” त्रिपुरेश्वरमै घडी पसल सञ्चालन गर्ने विनोद भन्छन्।

विनोदका अनुसार त्यस दिन खेल हेर्न गएकै कारण ज्यान गुमाउनेमा त्रिपुरेश्वरमै घर भएका वा डेरा बस्नेहरू ११ जना थिए। हाल उनको घडी पसल भएको घरकै दुई उनका साथीहरूसमेत परेका थिए।

पीडितका आफन्त। तस्बिर सौजन्य : परिवर्तित नेपाल/गोरखापत्र संस्थान

त्यस दिन रंगशालामा करिब २७ हजार मानिस सहभागी भएको अनुमान छ। सेमिफाइनलमा ब्वाइज युनियनलाई हराएको मुक्तिजोद्धा र आरएनएसीलाई पराजित गरेको जचुकाबीच प्रतिस्पर्धामा नेपाललाई समर्थन गर्न धेरै दर्शक ओइरिए।

खेल दिउँसो १ बजे सुरु हुने तय थियो। तर, रेफ्रीले खेल सुरु भएको जनाउ दिँदै सिठी फुक्दा ३ः२५ भइसकेको थियो। रंगशालाबाहिर टिकट बोकेर उभिने दर्शकहरूको लाम पनि उत्तिकै लामो थियो।

नेपाली खेलाडी र दर्शकलाई स्तब्ध पार्दै मुक्तिजोद्धाले खेल सुरु भएको करिब १७ मिनेटमै गोल हान्यो। पश्चिम प्यारापिटको मुनि मैदान छेवैबाट खेल नियालिरहेका जचुकाका प्रशिक्षक धनबहादुर बस्नेत भन्छन्, “नेपालले गोल खाएको पाँचसात मिनेटमै एक्कासि ठूलो आँधीहुरी चल्यो। खेल रोकियो, भागाभाग मच्चियो। त्यसपछि असाध्यै दुःखद घटना भयो।”

मौसम पहिल्यै धुम्म थियो, अहिलेको मौसमजस्तै। हावाहुरी चल्नुअघि अचानक आकाश एकदमै कालो भयो। गड्याङगुडुङ आवाज आउन थाल्यो। 

रंगशालाको दक्षिण-पूर्व घर भएकी बिदुला मिश्र त्यतिबेला टेकुमा थिइन्। उनलाई आफ्नो छोरा रोशनको चिन्ता लाग्यो। छोराको अवस्था ठीकै भए पनि उनको घरमा त्यो दिन रुवाबासी चल्यो। उनको परिवार सकुशल रहे पनि डेरामा बस्ने हरिशरण वाग्लेकी नाबालिग छोरी र आफन्त गरी चार जना दुर्घटनाको सिकार बने।

मृदुला भन्छिन्, “६ जनामध्ये चार जना हुलमुलमा परेछन्। त्यही शोकमा उनीहरू ‘लौ न हाम्रो बर्बाद भयो’ भन्दै ठूलो स्वरले डाँको हालेर रोइरहेका थिए।”

रंगशाला र त्रिपुरेश्वरको मूल सडक जोड्ने गल्लीको बीचमा भएको उनको घरको भुइँतलामा तनहुँका हरिशरण वाग्लेको परिवार बस्थ्यो। वाग्लेले केही दिनअघि मात्रै छोरी कृष्णकुमारीलाई स्कुल भर्ना गर्न तनहुँबाट काठमाडौँ ल्याएका थिए। चारपाँच दिनअघि जुम्लाबाट वाग्लेकी सानीमाका छोरासमेत आएका थिए। शनिबारकै दिन कलंकीबाट बहिनी-ज्वाइँ पनि थपिए। यी सबै जना रंगशालामा फुटबल हेर्न गएका थिए।

सेमिफाइनलमा जचुकाले रोकेको आरएनएसीका खेलाडी श्रीराम रञ्जितकार त्यस दिनका साक्षी हुन्। “मौसम पहिल्यै धुम्म थियो, अहिलेको मौसमजस्तै। हावाहुरी चल्नुअघि अचानक आकाश एकदमै कालो भयो। गड्याङगुडुङ आवाज आउन थाल्यो। सामान्यभन्दा बेग्लै मौसम थियो त्यो,” उनी सम्झन्छन्, “अहिले पनि हरेक वर्षको फागुनमा त्यो दर्दनाक घटनाको झझल्को आउँछ। घरीघरी डर नै लाग्छ।”

खेल पत्रकारितामा ३५ वर्ष बिताएका राजु सिलवाल आज पनि भिडमा जानुपर्‍यो भने झस्किन्छन्। भिड अनियन्त्रित भई रंगशालामा घटेजस्तै घटना हुने डरले सकेसम्म भिडमै नजाने प्रयास गर्छन्।

खेल पत्रकार राजु सिलवाल (बायाँ), पूर्वराष्ट्रिय खेलाडी श्रीराम रञ्जितकार।

सिलवाल तत्कालीन समयमा नेपाल टेलिभिजनका संवाददाता थिए। क्यामेरापर्सन सिद्धार्थ शाक्य र ध्वनि नियन्त्रक रोशनजंग थापाका साथमा उनी पैदलै रंगशाला पुगेका थिए। त्यतिबेला उनीहरू २० किलोभन्दा भारी क्यामेरा र डेक बोकेर समाचार संकलनका लागि रंगशाला पुगेका थिए।

सिलवालका अनुसार त्यसबेला पत्रकारहरूको उपस्थिति खासै धेरै थिएन। गोरखापत्र, राष्ट्रिय समाचार समिति र केही साप्ताहिक पत्रिकाका प्रतिनिधिहरू मात्रै आएका थिए। उनीहरू रंगशालाको पश्चिमतिर भीआईपीका लागि छुट्याइएको प्यारापिटमा बसेर काम गरिरहेका थिए।

“त्यतिबेला फुटबल सबैभन्दा लोकप्रिय खेल थियो। फाइनल खेल हेर्न आएका दर्शकहरूको संख्या रंगशालाको क्षमताभन्दा बढी देखिन्थ्यो,” उनी भन्छन्, “खेल चलिरहेको बेला कालो भुमरी देखियो। हुरीबतास चल्यो, असिना पानी पर्‍यो। त्यसपछि भागाभाग सुरु भयो।”

प्यारापिटको भर्‍याङका बीचमा खाली ठाउँ राखिएको थियो। बाहिर निस्कन आत्तिएका मानिसहरूको खुट्टा त्यही खाली ठाउँमा फस्यो। त्यही क्रममा मान्छेमाथि मान्छे खप्टिए। भिड झन् आतंकित र अनियन्त्रित भयो।

त्यसबेला रंगशालामा पश्चिमतिरको प्यारापिटमा मात्र छत थियो। ओत खोज्दै भागेका कति मानिसहरू काँडेतार नाघेर मैदान हुँदै पश्चिमतिर दौडिए। काँडेतार नाघ्न नसक्नेहरू एउटै मात्र निकास दक्षिण गेटतर्फ लागे। त्यो गेट पनि आधा मात्र खुल्थ्यो। हाल बी-जिरो ४ लेखिएको त्यही दक्षिण गेट नै मान्छेहरू मर्ने र घाइते हुने मुख्य थलो बन्यो।

त्यस गेटको ठीक दक्षिणतिरको घरमा बस्ने हेलेना बस्नेत त्यतिखेर ९ वर्षकी थिइन्।  उनलाई पनि खेल हेर्न जान मन थियो, तर आमाले अनुमति दिइनन्। “एक्कासि हुरी अनि असिना-पानी पर्‍यो। बत्ती गयो। धुलो उडाएर ल्याएकाले झ्याल बन्द गरेर बस्यौँ,” बस्नेत स्मरण गर्छिन्, “एकछिनपछि ठूलो होहल्ला भयो। झ्यालबाट चियाउँदा एकदम डरलाग्दो दृश्य देखेँ।”

एकले अर्काको बुई चढेर, टेकेर लछारपछार गरिरहेका मान्छेहरू। मान्छेको शरीरमाथि खप्टिएका मानव शरीरहरू। ठेलमठेल, भागमभागका बीचमा भिडले सहयोगका लागि गुहार मागेको, गाडी तोडफोड गरेको दृश्यसमेत उनले देखिन्।

त्यतिबेला प्यारापिटको भर्‍याङका बीचमा खाली ठाउँ राखिएको थियो। बाहिर निस्कन आत्तिएका मानिसहरूको खुट्टा त्यही खाली ठाउँमा फस्यो। त्यही क्रममा मान्छेमाथि मान्छे खप्टिए। भिड झन् आतंकित र अनियन्त्रित भयो।

“जताततै मान्छेमाथि मान्छे किचिएको, लासहरू हेर्नै नसक्ने अवस्था। समाचार खिच्न गएका हामीले मानव संहारको डरलाग्दो र दुःखदायी स्थिति देख्नुपर्‍यो,” सिलवाल भन्छन्।

घटनास्थलको दृश्य। तस्बिर सौजन्य : परिवर्तित नेपाल/गोरखापत्र संस्थान

करिब १० मिनेटभित्रको घटना थियो त्यो। मौसम अलि शान्त भएपछि बल्ल मान्छेहरू हताहत भएको खबर फैलियो। प्रहरी, खेलकुद संघसंस्थाका प्रतिनिधि, खेलाडी, स्थानीयदेखि सर्वसाधारणसम्म घाइतेको उद्धारमा खटिए। गाडी, ट्याक्सी, मोटरसाइकल, साइकल वा दौडाउँदै जसरी हुन्छ अस्पताल पुर्‍याइयो।

“वीर अस्पतालमा एउटा किशोरको लासको छेउमा उनकी आमा रोएको देखेर मैले आँसु थाम्न सकिनँ। छोराले भर्खरै एसएलसी दिएका रहेछन्। नजा भनेको मानेन भन्दै रोइरहेकी थिइन्,” सिलवाल सुनाउँछन्।

अस्पतालको अवस्था पनि अत्यासलाग्दो बनेको थियो। भुइँभरि लहरै सुताइएका मृतक र घाइतेहरू। उनीहरूका काला-नीला मुखाकृति। आफन्त खोज्दै आएका मानिसहरूको दर्दनाक चित्कार।

वीर अस्पतालमा ३७ वर्ष काम गरेर हाल अवकाश पाइसकेका नवराज थापा तत्कालीन समयमा ईसीजी टेक्निसियन थिए। उनी त्यसबेलाको माहोल सुनाउँछन्, “भटाभट मान्छेहरू ल्याउँदै फाल्दै जान्थे। को मरेको, को जिउँदो छुट्याउनै मुस्किल परेको थियो।”

वीर अस्पतालका पूर्वकर्मचारी नवराज थापा। तस्बिर : प्रभाकर गौतम

त्यसबेला ६ बेडको इमर्जेन्सी वार्डमा स्वास्थ्यकर्मीको अभाव हुनु स्वाभाविक मान्छन् उनी। मृतक तथा घाइतेलाई वीर अस्पतालबाहेक शिक्षण अस्पताल महाराजगन्ज, टेकु अस्पताल, पाटन अस्पताल पुर्‍याइएको थियो। ती अस्पतालमा स्वास्थ्य सचिव, स्वास्थ्यमन्त्री, प्रधानमन्त्रीदेखि राजारानीसम्मले निरीक्षण गरे। उनीहरू रंगशालासमेत गए।

सरकारले राहतस्वरूप मृतकको परिवारलाई १० हजार र घाइतेको उपचारका लागि दुई हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गर्‍यो। सरकारले न्यायाधीश भैरवप्रसाद लम्सालको संयोजकत्वमा एकसदस्यीय छानबिन आयोग पनि गठन गर्‍यो।

सर्वप्रथम राखेप विभाग प्रमुख डोनस ग्य्रान्डन र वरिष्ठ सुरक्षा अधिकृत महेन्द्रजंग राणालाई हटाउने निर्णय भयो। वीर अस्पतालका निर्देशक डा. बद्रीराज पाण्डे पनि पदमुक्त भए।

खेल पत्रकार नवीन अर्यालको पुस्तक नेपाली खेलकुदको वृत्तान्तमा उल्लेख भएअनुसार ४ जेठ २०४५ मा सार्वजनिक आयोगको प्रतिवेदनले प्राकृतिक प्रकोपबाट मानवीय तथा भौतिक क्षतिमा कसैको पनि कर्तव्यपूर्ण हात नरहेको निष्कर्ष निकालेको थियो। रंगशालाको पूर्व तथा दक्षिण प्यारापिटतर्फको भर्‍याङ र ढोकाको मर्मत सुधारको उपयुक्त प्रबन्ध हुन नसकेको, आयोजकका तर्फबाट हुनुपर्ने सुरक्षा प्रबन्ध तथा तत्कालीन उद्धारकार्य सन्तोषजनक नभएको तथा वीर अस्पतालमा तत्कालीन उपचार व्यवस्था सन्तोषजनक नरहेकोजस्ता समस्याहरू औँल्याएको थियो।

यही प्रतिवेदनका आधारमा प्रधानमन्त्री मरिचमान श्रेष्ठले सम्बन्धित मन्त्रालयका मन्त्री, राष्ट्रिय खेलकुद परिषद् (राखेप) तथा एन्फा पदाधिकारीलाई पदमुक्त गर्न राजा वीरेन्द्रसमक्ष प्रस्ताव पेस गरे, जुन स्वीकृत पनि भयो।

सर्वप्रथम राखेप विभाग प्रमुख डोनस ग्य्रान्डन र वरिष्ठ सुरक्षा अधिकृत महेन्द्रजंग राणालाई हटाउने निर्णय भयो। वीर अस्पतालका निर्देशक डा. बद्रीराज पाण्डे पनि पदमुक्त भए। त्यसपछि नैतिकताका आधारमा राजीनामा पेस गरेका शिक्षा तथा संस्कृतिमन्त्री केशरबहादुर विष्टको राजीनामा स्वीकृत गरियो। एन्फा अध्यक्ष कमल थापादेखि सदस्यसचिव शरच्चन्द्र शाहसम्मले राजीनामा बुझाउनुपरेको रंगशाला दुर्घटना खेलकुद मात्रै नभई राष्ट्रिय राजनीतिमै ठूलो तरंग ल्याउने ‘काण्ड’ बन्न पुग्यो।

तस्बिर सौजन्य : परिवर्तित नेपाल/ गोरखापत्र संस्थान

दशरथ रंगशालामा जे भयो, त्यो नेपाल मात्र नभई एसियाकै ठूलो घटना थियो। विश्व खेल इतिहासमा यसलाई छेटौँ ठूलो दुर्घटना मानिने खेल पत्रकार अर्यालले लेखेका छन्। त्यसैले यस घटनाको चर्चा पनि व्यापक थियो।

यस घटनामा अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन, चिनियाँ राष्ट्रपति ली सियान, भारतीय प्रधानमन्त्री राजीव गान्धीलगायत विश्वका विभिन्न राष्ट्रप्रमुखहरूले समवेदना प्रकट गरेका थिए। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) लगायत धेरै खेल संस्थाले पनि दुःख व्यक्त गरे।

८ जेठ २०४५ मा भारतीय पत्रिका नवभारत टाइम्सले लम्साल आयोगको प्रशंसा गर्दै समाचार पनि प्रकाशन गरेको थियो।

नेपालभित्रै पनि यसबारे पर्याप्त लेखियो। गोरखापत्रले ‘दशरथ रंगशालामा मानिसको भिडले किचेर उनान्सत्तरी जना दर्शकको मृत्यु’ शीर्षकमा मुख्य समाचार छाप्यो।

तर, अहिलेको जस्तो फ्ल्यास न्युज, स्क्रोल न्युज हाल्न सक्ने अवस्था थिएन। नेपाल टेलिभिजनका लागि संकलित दृश्य प्रसारण गर्न साँझसम्मै कुर्नुपरेको सिलवाल सम्झन्छन्। ढिला प्रसारण भएकाले रंगशालामै रहेका धेरै खेलाडीले घटनाबारे विस्तृतमा पछि नेपाल टेलिभिजन हेरेर मात्र थाहा पाए।

उक्त घटनापछि प्राकृतिक विपत् वा आकस्मिक दुर्घटनाबाट बच्न सुरक्षा प्रबन्धबारे पूर्वतयारी गर्ने सुधारहरू देखिए। सरकारी विद्यालय, सार्वजनिक भवन तथा स्थलहरूमा ठूला झ्याल ढोका बनाउने नियम बन्यो। रंगशालाको प्यारापिटको प्वाल टालियो। अनिवार्य रूपमा ढोकाहरू खुला राख्नुपर्ने भयो। खेल स्थलनजिकै एम्बुलेन्स राख्न थालियो।

सरकारले भोलिपल्ट रेडियो नेपालनेपाल टेलिभिजनमा मनोरञ्जनात्मक कार्यक्रम प्रसारणमा रोक लगाई शोकधुन बजाएको उनी सम्झन्छन्।

रंगशाला दुर्घटनाको पहिलो दिन ६९ जनाको निधन भएको एकमत भए पनि त्यसपछि कति संख्या थपियो भन्नेबारे यकिन तथ्यांक छैन। अमेरिकी पत्रिका लस एन्जलस टाइम्सले ‘नाइन्टी थ्री डाई इन स्टेडियम स्टाम्पेड : सकर फ्यान्स रस टु लक्ड एक्जिट्स इन सड्डेन हेलस्टर्म’ शीर्षकमा समाचार छापेको थियो।

लेखक अर्यालले भने नेपाली खेलकुदको वृत्तान्त पुस्तकमा ७६ जना मृतकको नामसहितको सूची संकलन गरेका छन्। घटनामा घाइतेको संख्या पनि २०० भन्दा बढी थियो।

आज यस घटनाको ठीक ३८ वर्ष पूरा हुँदै गर्दा संख्या र प्रभाव दुवै पाटोबाट यति ठूलो क्षतिलाई सार्वजनिक इतिहासमा बचाइराख्न के गरियो? त्यसबाट के पाठ सिकियो त भन्ने प्रश्नहरू स्वाभाविक रूपमा उब्जिन्छन्।

“त्यस दिनको दुर्घटनापछि फेरि फाइनल खेल हुन सकेन। सुरुसुरुमा रंगशालामा फुटबल खेल्न आँट आउँदैनथ्यो। पछिसम्म फागुनमा टुर्नामेन्ट हुँदा फेरि त्यस्तै हुरी चल्छ कि भनेर त्रस्त हुन्थ्यौँ,” रञ्जितकार भन्छन्, “लामो समय त्यो दक्षिण गेटको बाटो हिँड्नै पनि सकेनौँ। त्यहाँ बस्दै बसेनौँ। पछि अरू बाटो खुल्न थाल्यो नि। हिँड्नै नपरोस् भन्ने भइरह्यो।”

दर्शकहरू हताहत भएको दक्षिण गेट पहिले (दायाँ-तस्बिर : मीनरत्न बज्राचार्य) र अहिले तस्बिर : बिक्रम राई।

तीनचार महिनापछि फुटबल पुरानै लयमा फर्कियो। तर, मृतक र घाइते परिवारको घाउमा मलम लगाउने कुनै काम भएन।

सो घटनापछि प्राकृतिक विपत् वा आकस्मिक दुर्घटनाबाट बच्न सुरक्षा प्रबन्धबारे पूर्वतयारी गर्ने सुधारहरू देखिए। सरकारी विद्यालय, सार्वजनिक भवन तथा स्थलहरूमा ठूला झ्याल ढोका बनाउने नियम बन्यो। रंगशालाको प्यारापिटको प्वाल टालियो। अनिवार्य रूपमा ढोकाहरू खुला राख्नुपर्ने भयो। खेल स्थलनजिकै एम्बुलेन्स राख्न थालियो।

पूर्वतयारी तथा भौतिक सुधारका प्रयासहरू देखिए पनि मानवीय संवेदनाका हिसाबले सरकार वा खेलकुद क्षेत्रले रंगशाला दुर्घटनालाई सार्वजनिक स्मृतिमा बचाउने काम भने गर्न नसकेको घटनाका पीडित तथा प्रत्यक्षदर्शीहरूको भनाइ छ।

भुइँचालोदेखि जेन-जी आन्दोलनमा ज्यान गुमाउनेलाई राज्यले सम्झेकै छ। तर, विभिन्न राजादेखि नेताका नाममा प्रतियोगिता र पुरस्कार भएको देशमा रंगशालामा ‘सहिद’ भएकाहरूको साझा स्मृतिमा कुनै खेल आयोजना नहुनु विडम्बना हो।

प्राध्यापकसमेत रहेका खेल पत्रकार सिलवाल खेल हेर्न जाँदा अनाहकमा ज्यान गुमाएका ती मृतक तथा घाइतेलाई राज्य तथा खेलकुदसँग जोडिएका संघसंस्थाले कुनै तरिकाले पनि नसम्झेकामा खेद प्रकट गर्छन्।

“नेपाली समाजमा विभिन्न घटना/दुर्घटनामा मारिएकालाई फरक तरिकाले सम्झिने परम्परा छ। तर, रंगशालामा भएको त्यति ठूलो दुर्घटनामा मर्नेहरूको नाम एउटा ढुंगामा समेत खोपिएन,” उनी भन्छन्।

त्यस दिन रंगशालामा ब्याडमिन्टनका राष्ट्रिय खेलाडी चन्द्र चक्रधरका बुवासमेत परेका थिए। फुटबल भनेपछि मरिहत्ते गर्ने उनी त्यस दिन आफ्नो चिया पसल अर्कै मान्छेलाई कुर्न लगाई पिसाब फेरेर आइहाल्छु भन्दै रंगशाला पुगेका थिए।

पशुपति आर्यघाटमा मृतकको अन्तिम संस्कार गरिँदै। तस्बिर सौजन्य : परिवर्तित नेपाल/ गोरखापत्र संस्थान

“उहाँलाई म नजिकबाट चिन्थेँ। उहाँको निधनले मलाई धेरै दिनसम्म झस्काएको थियो। उहाँलाई सम्झँदा अझै मन भारी हुन्छ,” सिलवाल भन्छन्, “अरूलाई बचाउने क्रममा उहाँको ज्यान गएको रहेछ। उहाँजस्ता धेरै फुटबलप्रेमीको सम्झनाका लागि रंगशालामै सानो ठाउँ छुट्याउन सकिन्थ्यो होला।”

भुइँचालोदेखि जेन-जी आन्दोलनमा ज्यान गुमाउनेलाई राज्यले सम्झेकै छ। तर, विभिन्न राजादेखि नेताका नाममा प्रतियोगिता र पुरस्कार भएको देशमा रंगशालामा ‘सहिद’ भएकाहरूको साझा स्मृतिमा कुनै खेल आयोजना नहुनु विडम्बना हो।

रंगशाला घटनामा आफ्ना बुवा गुमाएका विनोदलाई पनि यस्तै लाग्छ, “कुनै पुरस्कार नै भए पनि राख्न सकिन्थ्यो होला। मृतकहरूको नाम ढुंगामा मात्रै कुदेर रंगशालामा राख्ने हो भने पनि दर्शकहरू भविष्यमा हुन सक्ने दुर्घटनाबारे सचेत हुने थिए।”