काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फको सूची निर्वाचन आयोगलाई बुझाउने तयारी गरेको छ।
सानेपामा आइतबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकले यसअघि तोकिएबमोजिमका नाम बुझाउने निर्णय गरेको हो। सोहीअनुसार बुझाउने क्रममा रहेको प्रवक्ता एवं केन्द्रीय समिति सदस्य देवराज चालिसेले जानकारी दिए।
बैठकले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याका आधारमा प्रतिनिधिसभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाउने निर्णय गरेको उनले जानकारी दिए। तर नाम भने सार्वजनिक गरेनन्।
कांग्रेसले समानुपातिकमा २० सिट जितेको छ। आयोगले दिएको निर्देशनअनुसारै क्लस्टर छुट्याएर नाम सिफारिस गरिएको चालिसेको भनाइ छ। उनले कम्तीमा १५ महिला सिफारिस गर्न भनेबमोजिम सोहीअनुसार सिफारिस गरिएको बताए।
अहिले नाम भने सार्वजनिक नगरिएको पनि उनले उल्लेख गरे। कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट जितेको छ। जसमा एकजना मात्र महिला उम्मेदवार विजेता बनेकी छन्।