काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

राजनीति

चुनावमा मिलेर जान नसकेको संघीय लोकतान्त्रिक मोर्चा विघटनको माग

१ चैत्र २०८२
२९ फागुनमा काठमाडौँमा बसेको संयुक्त लोकतान्त्रिक मोर्चाको बैठक। तस्बिर : राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाको फेसबुकबाट
अ+
अ-

जनकपुरधाम। साढे तीन दशकको संसदीय इतिहासमा यसपालिको प्रतिनिधिसभा निर्वाचनमा मधेसकेन्द्रित दलहरू आफ्नो उदयस्थल र आधारभूमि मधेसमै पहिलो पटक पराजित भए। मधेसकेन्द्रित कुनै पनि दलले प्रत्यक्षतर्फ एक सिट जित्न सकेनन् र समानुपातिकतर्फ पनि तीन प्रतिशत ‘थ्रेसहोल्ड’ कटाउन नसक्दा प्रतिनिधिसभामा उपस्थिति शून्य बन्यो।

निर्वाचनमा ऐतिहासिक पराजय भोगेपछि ती दलहरूबाट अपेक्षा थियो– उनीहरूले चुनावको समीक्षा गरेर हारको कारण खोज्लान् र पार्टी नेतृत्वले नैतिक जिम्मेवारी लिँदै पार्टी पुनर्गठनका लागि बाटो छोड्लान्। तर, त्यसको संकेत देखिएको छैन। बरु मधेसकेन्द्रित दलहरूले एक वर्षअघि गठन गरेर निष्क्रिय अवस्थामा रहेको संघीय लोकतान्त्रिक मोर्चा ब्युँताएका छन्। चुनावको बेला पार्टी एकता गरेर वा गठबन्धन गरेर जान नसकेका दलहरू निर्वाचनमा नमीठो पराजय बेहोरेपछि गोलबद्ध देखिएका छन्।

२१ चैत २०८१ मा मधेसकेन्द्रित सात दलले मधेसका मुद्दालाई प्रभावकारी ढंगले उठाउन भन्दै मोर्चाको घोषणा गरेका थिए। प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण परिणाम आइसकेपछि गत २९ फागुनमा जसपा नेपालका संरक्षक महन्थ ठाकुरको अग्रसरतामा मोर्चालाई सक्रिय पारिँदै यसको बैठक बस्यो।

तर, बैठकले मधेसका परम्परागत शक्तिहरू चुनावमा के कारण कमजोर भए भनेर विमर्श र मन्थन नै गरेन। बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री बन्न लागेकामा खुसी व्यक्त गर्‍यो। बालेनलाई प्रधानमन्त्रीका रूपमा देख्न पाउनु लामो समयदेखि संघर्षरत मधेसी, थारू, आदिवासी जनजातिलगायत उत्पीडित समुदायका निम्ति हर्षको विषय भएको बैठकले निष्कर्ष निकाल्यो। बैठकले प्रधानमन्त्रीमा नियुक्त हुन लागेका बालेनलाई अग्रिम शुभकामना र बधाई पनि दियो।

मोर्चामा आबद्ध दलहरूले यस पटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ताको अघिल्लो दिनसम्म पनि मिलेरै जाने सहमति गरेका थिए। तर, त्यसविपरीत सबै दलले छुट्टाछुट्टै उम्मेदवारी दिए। मोर्चामा आबद्ध रहेका दलहरूका अध्यक्षविरुद्ध दिइएको उम्मेदवारी फिर्ता लिने र मोर्चाभित्र एक खालको गठबन्धनको वातावरण बनाउनेसम्मको छलफल चले पनि सम्भव भएन। यसले मोर्चाको औचित्यमा त प्रश्न खडा गर्‍यो नै, निर्वाचनको नतिजाले मधेसकेन्द्रित दललाई मधेसमै अस्तित्व रक्षाको अवस्थामा पुर्‍याइदियो।

निर्वाचनमा मोर्चामा आबद्ध दलका अध्यक्षहरू पराजित भए भने कतिपयले जमानतसमेत जोगाउन सकेनन्। नेपाल राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो सर्लाही २ मा पराजित भए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रविन महतो विजयी भएका उक्त क्षेत्रमा उनी चौथो स्थानमा रहेका थिए।

२०७९ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मधेसमा नयाँ शक्तिका रूपमा उदाएको जनमत पार्टीले समेत यसपटक निराशाजनक परिणाम ल्यायो। जनमत पार्टीका अध्यक्ष सीके राउत सप्तरी २ मा पराजित भए। रास्वपाका रामजी यादव विजयी हुँदा राउत भने तेस्रो बने।

चुनावी नतिजापछि बसेको संयुक्त लोकतान्त्रिक मोर्चाको बैठक निर्वाचनमा असफलताको कारण केलाउनुको साटो ‘प्राइममिनिस्टर-इन-वेटिङ’ बालेनलाई समर्थन गर्न र शुभकामना दिन केन्द्रित भयो। यस विषयले मोर्चाका घटक दलहरूमै असन्तुष्टि बढाएको छ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी ३ मा पराजित भए। त्यहाँ रास्वपाका अमरकान्त चौधरीले उनलाई पराजित गरे। जसपा नेपालका संरक्षक महन्थ ठाकुरकी छोरी मिनाक्षी ठाकुर महोत्तरी ३ मा पराजित मात्रै भइनन्, उनी पाँचौँ स्थानमा रहिन्।

समानुपातिक मतमा समेत मधेसकेन्द्रित दल पछाडि परे। मधेस प्रदेशमा मधेसकेन्द्रित दल जसपा नेपाल चौथो स्थानमा पुग्यो। पहिलो स्थानमा रास्वपा, दोस्रोमा नेपाली कांग्रेस र तेस्रोमा नेकपा (एमाले) छन्। जसपा नेपालले मधेसमा एक लाख ३७ हजार ८७८ मत पाएको छ भने जनमत पार्टीले ५० हजार ७२० मत प्राप्त गरेको छ। नेपाल नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय मुक्ति पार्टीले एउटै चुनावचिह्नमा लड्दासमेत १० हजार ६५४ मत मात्र पाए।

यस्तो चुनावी नतिजापछि बसेको संयुक्त लोकतान्त्रिक मोर्चाको बैठक निर्वाचनमा असफलताको कारण केलाउनुको साटो ‘प्राइममिनिस्टर-इन-वेटिङ’ बालेनलाई समर्थन गर्न र शुभकामना दिन केन्द्रित भयो। यस विषयले मोर्चाका घटक दलहरूमै असन्तुष्टि बढाएको छ।

मोर्चाप्रति नेता-कार्यकर्ताको असन्तुष्टि

मोर्चामा आबद्ध दलका दोस्रो पुस्ताका नेताहरूले मोर्चाको औचित्यप्रति प्रश्न उठाएका छन्। खासगरी जसपा नेपालका महन्थ ठाकुर र उपेन्द्र यादव पक्षधर नेताहरूले मधेसकेन्द्रित दलहरूको हारको कारण खोज्नुपर्नेमा भावी प्रधानमन्त्री बन्ने कुरामा हर्ष प्रकट गरेर बसेकामा असन्तुष्टि प्रकट गरेका छन्।

जसपा नेपालका नेता सुरेन्द्र झा चुनावमा पराजय बेहोर्नुमा आआफ्नो भागको गल्तीको जिम्मेवारी लिएर मार्गप्रशस्त गर्नुको साटो बालेनलाई प्रधानमन्त्री बनाउने कुरामा समर्थन जनाएर बस्नु आफूले गरेको अपराधबाट भाग्न खोज्नु भएको बताउँछन्। “हिजो बालेन मधेसी नै होइनन्, उनले मधेसका लागि के नै गरेका छन् र भन्दै चिच्याउनेहरूले आज कुन मुखले उनी प्रधानमन्त्री बन्ने कुरामा हर्षबढाइँ गर्न सकेका होलान् भनेर सोचिरहेको छु,” उनी भन्छन्।

चुनावअघि पार्टीहरूबीच एकीकरण किन हुन सकेन, चुनावमा गठबन्धन किन भएन, अपवादबाहेक पार्टीहरूले अधिवेशन गराउन किन सकेनन्, विभाजन किन भयो, परिवारवाद र नातावाद किन हावी भयो, समानुपातिक सिटको बेचबिखन कसले र किन गरे, यी गम्भीर प्रश्नको उत्तर खोज्नुपर्छ।

गएको चुनावमा मोर्चाका घटक दलहरूले छुट्टाछुट्टै उम्मेदवारी दिएको र अधिकांश अध्यक्षहरूको जमानत नजोगिएको अवस्थामा केही गम्भीर प्रश्नको उत्तर खोजिनुपर्ने उनी बताउँछन्। भन्छन्, “चुनावअघि पार्टीहरूबीच एकीकरण किन हुन सकेन, चुनावमा गठबन्धन किन भएन, अपवादबाहेक पार्टीहरूले अधिवेशन गराउन किन सकेनन्, विभाजन किन भयो, परिवारवाद र नातावाद किन हावी भयो, समानुपातिक सिटको बेचबिखन कसले र किन गरे, यी गम्भीर प्रश्नको उत्तर खोज्नुपर्छ।”

जसपा नेपालका नेता एवं मधेस प्रदेशका पूर्वराज्यमन्त्री सुरेश मण्डल पनि चुनावमा मिलेर जान नसक्ने संघीय लोकतान्त्रिक मोर्चाको कुनै औचित्य नरहेको बताउँछन्। “मोर्चा भनेको दाजुभाउजू, छोराछोरी र श्रीमतीलाई सांसद बनाउने स्वार्थीहरूको क्लब हो। यस्तो औचित्यहीन मोर्चालाई अविलम्ब विघटन गरिनुपर्छ,” उनी भन्छन्, “चुनावअगाडि यिनीहरू सबैले १००/१०० सिट जित्ने दाबी गरेका थिए, अहिले क्वाँ क्वाँ रोइरहेका छन्। मधेस अब अगाडि बढिसक्यो, मधेसी राजनीति अब यिनीहरूको ल्याकतले भ्याउन सक्दैन।”

जसपा नेपालका अर्का नेता एवं मधेसका पूर्वमन्त्री शैलेन्द्र साह मोर्चा चुनावका बेला एक ठाउँमा उभिन नसक्ने स्वार्थी शक्तिहरूको जमात मात्र बनेको बताउँछन्। भन्छन्, “सिद्धान्त, विचार र जनताको मुद्दाभन्दा व्यक्तिगत स्वार्थ हाबी भएपछि यस्ता संयन्त्रले जनताको विश्वास जित्न सक्दैनन्।”