काठमाडौँ। स्पेनिस ला लिगा अन्तर्गत आइतबार भएको खेलमा रियल मड्रिडले एल्चेमाथि ४–१ को फराकिलो जित दर्ता गरेको छ।
खेलको ३९ औँ मिनेटमा एन्टोनिओ रुडिगरले गोल गर्दै रियललाई पहिलो अग्रता दिलाए। पहिलो हाफको अन्तिम समयमा फेडेरिको भाल्भर्डेले गोल गरेपछि रियल २–० को बलियो स्थितिमा पुग्यो।
दोस्रो हाफको ६६ औँ मिनेटमा डिन ह्युसेनले गोल थप्दै टोलीको जित लगभग सुनिश्चित गरे। खेलको ८५ औँ मिनेटमा म्यानुएल एन्जेलबाट आत्मघाती गोल हुन पुग्दा एल्चेले एक गोल उपहार स्वरूप पायो।
खेल सकिनु एक मिनेट अगाडि ८९ औँ मिनेटमा युवा स्टार अर्दा गुलेरले उत्कृष्ट गोल गर्दै टोलीलाई ४–१ को फराकिलो जित दिलाए।
यस जितसँगै रियल मड्रिडले लिग तालिकामा महत्त्वपूर्ण ३ अङ्क जोडेको छ। घरेलु मैदानमा सानदार प्रदर्शन गरेर रियलले उपाधि होडमा आफ्नो बलियो उपस्थिति कायम राखेको छ।