वित्तीय अनुशासन र लगानी वातावरणबारे अर्थमन्त्री र नियामक प्रमुखबीच छलफल
काठमाडौँ। अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र बैंक तथा वित्तीय क्षेत्रका नियामक निकायका प्रमुखबीच भेटघाट तथा छलफल भएको छ।
अर्थ मन्त्रालयमा सोमबार भएको भेटमा अर्थमन्त्री खनाल, राजस्व सचिव भूपाल बराल तथा नियामक निकायका प्रमुखहरूको सहभागिता थियो। छलफलमा गभर्नर विश्वनाथ पौडेल, नेपाल बिमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेल र नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ सहभागी थिए।
भेटका क्रममा अर्थमन्त्री खनालले समष्टिगत आर्थिक स्थायित्व कायम गर्न, लगानीका लागि उपयुक्त वातावरण निर्माण गर्न, पुँजी बजारलाई पारदर्शी तथा लगानीमैत्री बनाउन र आर्थिक सुशासन सुदृढ गर्न नियामक निकायहरूले खेलेको भूमिकाको प्रशंसा गरे। उनले सहकार्यप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि समन्वय र सहकार्यलाई अझ सुदृढ बनाउन आवश्यक रहेको बताए।
भेटमा नियामक निकायका प्रमुखहरूले अर्थ मन्त्रालयसँगको सहकार्य फलदायी रहेको स्मरण गराउँदै बैंक तथा वित्तीय क्षेत्रको विकास र वित्तीय अनुशासन कायम गर्न मन्त्रालयले अवलम्बन गरेका नीति तथा मार्गनिर्देशनका लागि अर्थमन्त्रीप्रति आभार व्यक्त गरेका थिए।
भेटमा नेपालको वित्तीय क्षेत्रलाई अझ व्यवस्थित, पारदर्शी र लगानीमैत्री बनाउने विषयमा पनि छलफल भएको अर्थ मन्त्रालयका प्रवक्ता एवं सहसचिव टंकप्रसाद पाण्डेयले जानकारी दिए।