काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

२ असार २०८३
फाइल तस्बिर।
अ+
अ-

काठमाडौँ । नेपालमा यस वर्ष मनसुन केही दिन ढिलो भित्रिने भएको छ। जल तथा मौसम विज्ञान विभागले भूउपग्रहबाट प्राप्त तथ्यांक तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणपछि मनसुन प्रणाली अझै नेपाल प्रवेश नगरेको जनाएको हो।

सामान्यतया नेपालमा जुन १३ तारिख आसपास मनसुन भित्रिने औसत मिति मानिए पनि यस वर्ष हालसम्म मनसुन नआएको विभागले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ। विभागका अनुसार मनसुन नेपाल प्रवेश गर्न अझै केही दिन लाग्ने सम्भावना छ।

विभागले प्रशान्त महासागर क्षेत्रमा विकसित भएको ‘एल निनो’ क्रमशः बलियो बन्दै गएको जनाएको छ। एल निनोको प्रभाव दक्षिण एसियाली मनसुनी प्रणालीमा प्रत्यक्ष पर्ने भएकाले नेपालमा मनसुन आगमन ढिलो हुनुका साथै यस वर्ष मनसुन कमजोर रहने अनुमान गरिएको छ।

विगतका तथ्यांकअनुसार पनि एल निनो सक्रिय भएका वर्षहरूमा मनसुन ढिलो भित्रिने गरेको देखिएको विभागले जनाएको छ। केही वर्षमा त मनसुन जुन महिनाको अन्त्यतिर मात्र नेपाल प्रवेश गरेको रेकर्डसमेत रहेको छ।

हाल मनसुन प्रणाली सक्रिय नभए पनि पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।

महाशाखाका अनुसार गएराति चितवनमा सबैभन्दा धेरै ५२ मिलिमिटर र सुनसरीमा ४७ मिलिमिटर वर्षा मापन गरिएको छ। यता आगामी केही दिन तराई क्षेत्रमा गर्मी बढ्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा भोलिसम्म तातो दिन रहने अनुमान गरिएको छ।

एल निनो सक्रिय भएका वर्षहरूमा मनसुन भित्रिएको मिति पनि विभागले सार्वजनिक गरेको छ। जसअनुसार १९७२ मा जुन १८, १९८२ मा जुन २७, १९८३ मा जुन २४, १९९२ मा जुन २१, २००९ मा जुन २३ तथा २०१९ मा जुन २० मा मनसुन नेपाल प्रवेश गरेको थियो।