ओडिशा। ओडिशाको कटकमा रहेको एससीबी मेडिकल कलेज एवं अस्पतालमा आगलागी भएको छ। आगलागीमा परेर १० जनाको मृत्यु भएको छ।
ओडिशा राज्यका मुख्यमन्त्री मोहनचरण माझीले आगलागीबारे जानकारी दिएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
“एससीबी मेडिकल कलेजको ट्रमा केयर सेन्टरमा विद्युत् चुहावटका कारण आगलागी भएको हुन सक्छ। ट्रमा सेन्टरसँग जोडिएको आईसीयूमा २३ बिरामी भर्ना भएका थिए‚” मुख्यमन्त्री माझीले भनेका छन्।
उनले मृतकबारे पनि बेलिबिस्तार लगाए। उनले थपे, “घटनामा सातजनाको मृत्यु भएको छ। आईसीयूका बिरामीहरूलाई अर्को स्थानमा सारिएको थियो। त्यसपछि थप तीनजनाको मृत्यु भयो।”
मुख्यमन्त्री माझीले घटनाको न्यायिक अनुसन्धानको आदेश दिइएको पनि बताएका छन्। उनले जिम्मेवार व्यक्तिहरूविरुद्ध कडा कारबाही गरिने बताएको भारतीय सञ्चारमाध्यमहरूमा समाचार छ।