अर्घाखाँची। अर्घाखाँचीमा वन क्षेत्रमा बढ्दो डढेलो जोखिमलाई ध्यानमा राख्दै ‘वन डढेलो सचेतना तथा व्यवस्थापन सप्ताह’ शुभारम्भ गरिएको छ। वन डढेलो नियन्त्रण तथा डढेलोबाट हुन सक्ने क्षति कम गर्न योजनाबद्ध रूपमा विभिन्न कार्यक्रम सञ्चालन गर्न थालिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी केशर खड्काले जानकारी दिए।
सप्ताहको अवसरमा वन डढेलो नियन्त्रण र जोखिम व्यवस्थापनलाई प्रभावकारी बनाउन विशेष वन डढेलो नियन्त्रण दस्ताको नियुक्ति गरिएको छ। डिभिजन वन कार्यालयको नेतृत्वमा गठन गरिएको उक्त दस्तामा १२ सदस्यीय टोली रहने व्यवस्था मिलाइएको छ।
टोलीलाई आवश्यक उपकरण तथा मिनी दमकलसहित तयारी अवस्थामा राखिएको छ। सूचना अधिकारी खड्काका अनुसार उक्त टोलीलाई जेठ मसान्तसम्म जिल्लाभर परिचालन गर्ने गरी व्यवस्थापन मिलाइएको छ।
डढेलोको जोखिम बढी हुने समयलाई लक्षित गरी टोलीलाई विभिन्न वन क्षेत्रमा निगरानी तथा तत्काल नियन्त्रणका लागि खटाइने उनले जानकारी दिए। सप्ताहको सुरुआतसँगै सरोकारवाला निकायबीच अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको थियो। कार्यक्रममा वरिष्ठ वन अधिकृत सन्तबहादुर थिंग, रामबहादुर घलान, भू-तथा जलाधार कार्यालयका प्रमुख राकेश कुँवर, अधिकृत अरुण आचार्यलगायत स्थानीय तहका प्रतिनिधि, सुरक्षाकर्मी, सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।
यसै अवसरमा वन डढेलोसम्बन्धी तथ्यांक संकलन र सूचना व्यवस्थापनलाई व्यवस्थित बनाउन नयाँ ‘डिजिटल’ प्रणाली पनि सञ्चालनमा ल्याइएको छ। जिल्लाभित्र रहेका ६ वटै सबडिभिजन वन कार्यालयले वन डढेलोसम्बन्धी घटना भएको २४ घण्टाभित्र अनलाइन प्रणालीमा प्रबिष्टि गर्ने व्यवस्था मिलाइएको छ।
‘वन डढेलो रिपोर्टिङ २०८२/८३’ अनलाइन सिट सञ्चालनमा ल्याइएपछि डढेलोसम्बन्धी तथ्यांक समयमै संकलन हुने र आवश्यक निर्णय लिन सहज हुने अपेक्षा गरिएको छ। वन संरक्षण, जैविक विविधता र वातावरणीय सन्तुलन कायम राख्न वन डढेलो नियन्त्रण महत्वपूर्ण हुने भएकाले सम्बन्धित निकायले सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ। साथै वन क्षेत्रमा डढेलो देखिएमा तत्काल जानकारी गराएर नियन्त्रणमा सहयोग गर्न स्थानीयवासीसँग अनुरोध गरिएको छ।