काठमाडौँ। राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बिमा सेवा उपलब्ध हुने भएको छ।
स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेल र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरेबीच आज (सोमबार) राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बिमा सेवा प्रवाह गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको हो।
बोर्डका सूचना अधिकारी विकेश मल्लले समझादारीअनुसार राष्ट्रिय परिचयपत्र नम्बरमार्फत नागरिकको पहिचान डिजिटल रूपमा प्रमाणीकरण गरी स्वास्थ्य बिमा प्रणालीलाई अझ सुरक्षित, छिटो, विश्वसनीय बनाइने बताए।
“अहिलेको सम्झौताअनुसार बोर्ड र विभागको तथ्यांकलाई एकीकृत गर्नेछौँ‚” उनले भने, “त्यसपछि हामीले राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बिमा सेवा प्रवाह गर्नेछौँ।” उनले आगामी २५ चैतदेखि राष्ट्रिय परिचयपत्रका आधारका दर्ता र नवीकरण हुने बताए।
स्वास्थ्य बिमा बोर्डमा अहिले एक करोड दुई लाख बिमित आबद्ध छन्। अहिले नागरिकता र चालक अनुमतिपत्रका आधारमा स्वास्थ्य बिमा गर्ने गरिएको छ। सूचना अधिकारी मल्लले राष्ट्रिय परिचयपत्रले बिमा दर्ता, नवीकरण तथा सेवा प्राप्त प्रक्रियालाई सरल बनाउँदै तथ्यांक एकीकरण, दोहोरो दर्ता नियन्त्रण र सेवा प्रवाहलाई प्रभावकारी बनाइने बताए।