काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

प्रधानमन्त्री कार्की तथा गृहमन्त्री अर्यालले गरे निरीक्षण

२ चैत्र २०८२
तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुशासन प्रवर्द्धन तथा सेवा प्रवाहलाई सहज बनाउन नवीनतम मोडेलको सार्वजनिक घोषणा प्रणाली (पब्लिक एनाउन्समेन्ट सिस्टम) सञ्चालनमा ल्याएको छ।

सोमबार सञ्चालनमा ल्याएसँगै प्रधानमन्त्री सुशीला कार्की‚ गृहमन्त्री ओमप्रकाश अर्यालसहित विभिन्न व्यक्तित्वले पीएएस व्यवस्थापन प्रणालीको निरीक्षण गरेका छन्।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सेवालाई छिटोछरितो र झन्झटरहित ढंगले प्रवाह गर्न सूचना प्रविधिमा आधारित प्रणाली लागु गरिरहेको जानकारी गराए। सेवाग्राहीले टोकन लिएर निश्चित समयावधिभित्र सेवा लिन सक्ने यो प्रणाली लागु गरिएपछि गुनासो शून्य भएको र बिचौलियाको भूमिका पनि समाप्त भएको उनको भनाइ थियो।

उनका अनुसार दैनिक सरदर एक हजार सेवाग्राही आउने यस कार्यालयका प्रत्येक काउन्टर र शाखाको सीसीटीभीबाट अनुगमन गर्न सकिन्छ। गुनासा वा कार्यगत जटिलताहरु ठाउँको ठाउँ सम्बोधन गरिन्छ। सेवाग्राहीलाई वाईफाई, तातो पानी र चिसो पानीको व्यवस्था छ।

प्रजिअ पौडेलले जेन-जी आन्दोलनका क्रममा युवाले उठाएको सुशासनको आवाज सम्बोधन गर्ने क्रममा सेवा प्रवाहको यो ढाँचा अपनाइएको र यसलाई जेनजी योद्धाहरूमै समर्पित गरिएको बताए। यो प्रणाली कार्यान्वयन गर्न काठमाडौँ जिल्लाका स्थानीय तहहरूसँग पनि समन्वय र सहकार्य गरिएको उनले जानकारी दिए।

उनले भने, “सबै सेवाग्राहीलाई सम्बोधन गर्न र उहाँहरूको अनुहारमा खुसी ल्याउन सक्छौँ भन्ने कुरा यस प्रणालीको सफल कार्यान्वयनबाट पुष्टि भएको छ। त्यसैले यसलाई हामीले जेन-जी सुशासन योद्धाप्रति समर्पित गरेका छौँ।”

जनतालाई सेवा प्रवाह गर्न अपनाइएको प्रणालीको प्रशंसा गर्दै प्रधानमन्त्री कार्कीले यस्तो ढाँचा देशैभरका सेवाग्राहीको चाप भएका कार्यालयमा लागु गर्न आवश्यक रहेको बताइन्। “जेन-जी युवाले सडकमा उठाएको सुशासनको आवाज सम्बोधन गर्न काठमाडौँ प्रशासनले थालेको नमुना कार्य प्रशंसनीय छ,” उनले भने, “हामीले छोटो कार्यकालमा देशैभरका कार्यालयमा त गर्न सकेनौँ। तर यहाँबाट सुरु गरेका छौँ। अब देशैभरका सेवाग्राहीको बढी चाप हुने कार्यालयमा विस्तार गर्नुपर्छ।”

पूर्वप्रधानन्यायाधीशसमेत रहेकी प्रधानमन्त्री कार्कीले न्यायालयमा पनि यस्तै प्रणाली स्थापित गर्ने जमर्को गरेको स्मरण गरिन्। त्यही परिकल्पना अनुसारको काम आज प्रशासन कार्यालयमा देख्न पाएकोमा उनले खुसी व्यक्त गरिन्।

उनले भनिन्, “यसका निम्ति प्रमुख जिल्ला अधिकारी र कार्यालयका सम्पूर्ण कर्मचारीलाई म बधाई र धन्यवाद दिन्छु। हामीले खोजेको यस्तै हो। जेन-जीले पनि खोजेको यही हो। आँटे र गरे हुन्छ भन्ने कुराको उदाहरण हो यो।”