कञ्चनपुर। नेपाल-भारत सीमा नदी महाकालीमा साहसिक जलयात्रा व्यावसायिक रूपमा सञ्चालनमा आएको छ।
पानी सप्ताहको अवसर पारेर विभिन्न सरोकारवाला निकायको पहलमा र्याफ्टिङको व्यावसायिक सुरुआत गरिएको हो। सन् २०२१ मा सफल परीक्षण गरिएको महाकाली नदीमा आजदेखि औपचारिक रूपमा र्याफ्टिङ सञ्चालन सुरु गरिएको हो।
कञ्चनपुरको भीमदत्त ९‚ मसेट्टीस्थित साइलेट रिभर क्षेत्रबाट र्याफ्टिङ सञ्चालनमा ल्याइएको हो। गैरसरकारी संस्था निड्स नेपालको अगुवाइमा जिल्लास्थित विभिन्न संस्था तथा निजी क्षेत्रसँगको सहकार्यमा प्याकेजमार्फत र्याफ्टिङ सेवा उपलब्ध गराइने जनाइएको छ। निड्स नेपाल, होटेल व्यवसायी संघ, उद्योग वाणिज्य संघ, यातायात समिति, नाटालगायत पर्यटन व्यवसायीको सहकार्यमा र्याफ्टिङ सञ्चालन भएको हो। अहिले अड्रिफ्ट एडभेन्चर प्रालिअन्तर्गत दुईवटा र्याफ्टिङ बोट सञ्चालनमा ल्याइएका छन्।
निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले लामो अध्ययनपछि महाकाली नदीमा व्यावसायिक र्याफ्टिङ सुरु गरिएको बताए। उनका अनुसार सन् २०१७ मा महाकालीको बहुउपयोग परियोजनाअन्तर्गत र्याफ्टिङको सम्भाव्यता अध्ययन सुरु गरिएको थियो। जसमा अक्सफामलगायत विभिन्न साझेदार संस्थाको पनि सहभागिता थियो।
अध्ययनअनुसार नेपालतर्फ डडेल्धुराको परशुराम नगरपालिका क्षेत्रबाट करिब १४ किलोमिटर र मसेट्टीदेखि खल्लासम्म आठ किलोमिटर दूरीमा साहसिक जलयात्रा सञ्चालन गर्न सकिने देखिएको थियो। भारततर्फ भने दुईवटा कम्पनीले सन् २०१५ देखि नै नियमित रूपमा र्याफ्टिङ सञ्चालन गर्दै आएका छन्।
र्याफ्टिङ सञ्चालनका लागि स्थानीय र्याफ्टिङ चालक किशन भट्टलाई जिम्मेवारी दिइएको छ। पाँचदेखि १० जनासम्मको समूहले प्याकेज खरिद गरी र्याफ्टिङ गर्न सक्ने व्यवस्था मिलाइएको छ। कञ्चनपुर होटेल व्यवसायी संघका अध्यक्ष रामचन्द्र रेग्मीले निजी क्षेत्र र्याफ्टिङ सञ्चालन र पर्यटन प्रवर्द्धनका लागि तयार रहेको बताए।
नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सीजका निवर्तमान अध्यक्ष शिव अधिकारीले महाकाली नदीमा र्याफ्टिङको राम्रो सम्भावना रहेको बताए। करिब २५ वर्षदेखि नेपालका ठुला नदीमा र्याफ्टिङ व्यवसाय सञ्चालन गरिरहेका उनले कम जोखिम र सहज जलयात्रा रुचाउने पर्यटकका लागि महाकाली उपयुक्त नदी रहेको बताए।
नेपाल पर्यटन बोर्डले पनि र्याफ्टिङ पर्यटनको प्रवर्द्धनमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। भीमदत्त नगरपालिका प्रमुख पदम बोगटीले र्याफ्टिङ प्रवर्द्धन तथा आवश्यक पूर्वाधार निर्माणमा पालिकाले प्राथमिकता दिने बताएर। दोधराचाँदनी नगरपालिकाका प्रमुख किशोरकुमार लिम्बूले पनि र्याफ्टिङको विकास तथा प्रचारका लागि पालिका सहकार्य गर्न तयार रहेको बताए।