काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

प्रतियोगितालाई जापान बी एन्ड टी ट्रेडिङको साथ

३ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। ‘नेकोस आठौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता’लाई बी एन्ड टी ट्रेडिङ कम्पनी लिमिटेड (होकाइडो, जापान) ले मुख्य प्रायोजन गर्ने भएको छ।

नेपाल खेलकुद महासंघ (नेकोस) अन्तर्गतको राष्ट्रिय जुडो संघ नेपालको आयोजनामा प्रतियोगिता हुने भएको हो। आयोजकका अध्यक्ष धर्मकुमार श्रेष्ठ र बी एन्ड टीका प्रमुख कार्यकारी अधिकृत विष्णु गिरीले बुधबार प्रतियोगिताबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे। सम्झौताअनुसार बी एन्ड टीले आयोजकलाई २० लाख रुपैयाँ जापानी येन उपलब्ध गराउनेछ।

प्रतियोगितामा क्याडेट र जुनियर गरी ३५ स्पर्धा समावेश छन्। १८ वर्षमुनि क्याडेटको पुरुषमा ११ र महिलामा १० गरी २१ स्पर्धामा खेल हुनेछ। १८ देखि २१ वर्ष जुनियरको पुरुष/महिलामा समान ७-७ गरी १४ स्पर्धामा प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा नेपालबाट प्रदेश, जिल्ला, क्लब‚ स्कुल र डोजोका खेलाडी सहभागी हुनेछन्। विदेशी राष्ट्रमा भुटान र बंगलादेशका खेलाडीले भाग लिनेछन्। तीन राष्ट्रबाट तीन सय खेलाडीको सहभागिता रहने अध्यक्ष श्रेष्ठले जानकारी गराए।

शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। विगतका सातै संस्करणमा नेपालको बन्दी सहायता नियोग (पाम) टिम च्याम्पियन बनेको थियो। उत्कृष्ट दुई पुरुष र दुई महिला खेलाडीलाई जनही पाँच हजार नगदबाट पुरस्कृत गरिनेछ।

अध्यक्ष श्रेष्ठका अनुसार सहभागी खेलाडी र अफिसियलको पाँच लाख रुपैयाँबराबरको बिमा गरिएको छ। उनीहरूको खाना, बसोबास र यातायातको व्यवस्था पनि आयोजकले गर्नेछ। प्रतियोगिता सञ्चालन गर्न करिब ३१ लाख रुपैयाँ खर्च हुने आयोजकको भनाइ छ। तीन दिन चल्ने प्रतियोगिताका खेलहरू खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) मा खेलाइनेछन्। पहिलो दिन नौ तथा दोस्रो र तेस्रो दिन समान १३-१३ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ।