काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

३ चैत्र २०८२
केशव आचार्य।
अ+
अ-

काठमाडौँ। अर्थशास्त्री केशव आचार्य अस्वस्थ भएर अस्पताल भर्ना भएका छन्। काठमाडौँको माइतिघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उनको उपचार भइरहेको छ।

३ चैत (आज) बिहान उनको स्वास्थ्यमा समस्या आएपछि चाबहिलस्थित मेडिकेयर अस्पतालमा पुर्‍याइएको थियो। मेडिकेयरले आचार्यलाई अन्नपूर्ण न्युरो अस्पतालमा रिफर गरेको उनका भाइ मदन आचार्यले नेपालन्युजलाई जानकारी दिए।

अन्नपूर्ण अस्पतालमा आज दिउँसो आचार्यको मस्तिष्कको शल्यक्रिया भएको छ। “दिउँसो भएको अप्रेसन सफल भएको छ। उहाँ अहिले उपचारकै क्रममा हुनुहुन्छ। अप्रेसनपछि उहाँलाई अब्जरभेसनमा राखिएको छ,” आचार्यले भने।

मंगलबार बिहान पुजा गर्न फूल टिपेर फर्कंदा स्वास्थ्यमा असहजता महसुस गरेपछि आराम गर्न भनेर बसेका आचार्य घरमै बेहोस भएका थिए। त्यसपछि उनलाई परिवारका सदस्यले अस्पताल पुर्‍याएका थिए।

नेपाल राष्ट्र बैंकमा तीन दशकभन्दा लामो समय सेवा गरेका आचार्य दुईपटक अर्थ मन्त्रायको वरिष्ठ आर्थिक सल्लाहकार भएका थिए। आर्थिक नीति अनुसन्धान र विश्लेषणमा दख्खल राख्ने आचार्य मौद्रिक तथा आर्थिक नीति, वित्तीय क्षेत्रका ज्ञाताका रूपमा चिनिन्छन्।